एमाले-कांग्रेस गठबन्धन सरकारका कारण प्रजातन्त्र धरापमा : कोइराला

‘प्रचण्डजीहरू प्रतिपक्षजस्तो देखिनु हुन्न । संसद्‍मा भूमिका फेर्नुस् भन्ने सुझाव दिएको छु ।’

श्रावण १८, २०८२

कान्तिपुर संवाददाता

Due to the UML-Congress coalition government, democracy is in jeopardy: Koirala

विराटनगर — नेपाली कांग्रेसका नेता शेखर कोइरालाले एमाले–कांग्रेस गठबन्धन सरकारका कारण प्रजातन्त्र धरापमा पर्न लागेको आरोप लगाएका छन् । 

विराटनगरको बरगाछीस्थित गुराँस पुस्तकालयको एक कार्यक्रममा नेता कोइरालालले जवाफदेही, पारदर्शी र उत्तरदायीबाट सरकार पन्छिएको आरोप लगाए । प्रेसमाथिक अंकुश लगाउने कानुन, भूमि विधेयकलगायतका धेरै नराम्रा विधेयक ल्याउन सरकार उद्यत भइरहेको र यसले प्रजातन्त्र र लोकतन्त्रलाई नै धरापमा पार्न सक्ने उनको आरोप थियो । 

‘भूमिसम्बन्धी विधेयक जतिसक्दो चाँडो पास गर्नुपर्छ भनेर एमाले–कांग्रेस किन हतारिएका हुन्?’ कोइरालाले प्रश्न गरे, ‘किन हतारिनुपर्‍यो, हतारमा निर्णय गरेर फुर्सदमा पछुताउनु भन्दा सोचविचार गरेर निर्णय लिन किन नहुने ?’

कोइरालाले एमालेले सरकारमा बसेर गरेका तमाम गल्ती कांग्रेसको टाउकामा रहेको भन्दै गलत कामलाई कांग्रेसले साथ दिन नहुने बताए । उनले आफूलाई सरकार तोड्न खोजेको आरोप लागेको भन्दै सरकारका विषयमा आफूलाई कुनै मतलब नभएको दाबी गरे । ‘राम्रो काम गर्नुस्, जनतालाई डेलिभरी दिनुस् । पारदर्शी बन्नु न,’ उनले भने । 

माओवादी अध्यक्ष पुष्पकमल दाहालसँगको हालैको भेटमा उनले दाहाललाई संसद्‍मा माओवादीको प्रतिपक्षी भूमिकाबारे आफूले टिप्पणी गरेको बताए । भने, ‘तपाईंहरु सत्ता पक्ष हो कि प्रतिपक्ष भनेर मैले प्रचण्डजीलाई सोधेको थिएँ,’ कोइरालाले भने, ‘प्रचण्डजीले प्रतिपक्ष हौं भन्नु भयो । तर, उहाँहरू प्रतिपक्षजस्तो देखिनु हुन्न । संसद्‍मा भूमिका फेर्नुस् भन्ने सुझाव दिएँ ।’

कान्तिपुर

Link copied successfully