'सहिद स्मृति' कार्यक्रममा माओवादी नेतृत्वलाई आरोप : 'तपाईंहरू पदलोलुप हुनुभयो'

'७ जनै चाहिने हो सचिव ? ७ जनै चाहिने हो उपमहासचिव ? ७ जनै चाहिने हो उपाध्यक्ष ? हिजो महामन्त्री मात्रै हुँदा पनि भाको थ्यो त !'

श्रावण १८, २०८२

कान्तिपुर संवाददाता

Allegation on Maoist leadership at 'Sahid Smriti' program: 'You have gone astray'

What you should know

काठमाडौँ — दोलखाका माओवादी नेता शंकर लामाले सहिदहरूलाई पनि पार्टीमा विभेद गरिएको बताएका छन् । आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित‘बोत्ले स्मृति दिवस’ मा नेता लामाले सहिद पनि वर्गीय हुन लागेको बताएका हुन् । 

माओवादी आन्दोलनमै पत्नी तीर्थमाया वाइबालाई गुमाएका नेता लामा कार्यक्रममा भावुक भएका थिए । कार्य्रकममा अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष अग्निप्रसाद सापकोटालगायतका नेता उपस्थित थिए ।

नेता लामाले भने, 'सहिद पनि वर्गीय हुन लाग्यो । हुनेखाने, टाठोबाठो अलि नेताहरूको परिवार यताउता भयो भने मनाइरहने ।  तर साधारण सहिद भएको वास्तै छैन,' उनले भने ।  पार्टीभित्र गुट-उपगुटको अवस्था निम्तिँदा आम कार्यकर्ता मात्र नभई जनता पनि निरास भएको उनले बताए ।

'देशैभरका सहिदहरूलाई सम्झियौँ भने सहिद परिवारको मन पनि अलि शान्त हुन्छ कि । त्यो भयो भने पार्टी पनि अलि सुदृढ हुन्छ कि । पार्टीमा रहेको गुट र उपगुटले सहिद परिवारलाई पिरोलिरहेको छ । आम कार्यकर्तालाई पिरोलेको छ । आम जनतालाई निरासा बनाएको छ,' उनले भने । 

युद्धताका पार्टी केन्द्रिकृत प्रणालीमा चलेको उदाहरण दिँदै उनले भने, 'भाइटल पोस्टमा कति जना छ । ७ जनै चाहिने हो सचिव ? ७ जनै चाहिने हो उपमहासचिव ? ७ जनै चाहिने हो उपाध्यक्ष ? हिजो महामन्त्री मात्रै हुँदा पनि भाको थ्यो त !' नेताहरूलाई पदलोलुपको संज्ञा दिँदै उनले अगाडि भने, 'पदलोलुप हुनुहुँदैन । तर पदलोलुप हामी होइन तपाईंहरू हुनुभाको छ ।'  

२०५९ साल साउन १८ गते साविक काटाकुटी गाविस-१ मा पर्ने बोत्लेगाउँमा ७ महिलासहित १५ जना माओवादी कार्यकर्ता तत्कालीन शाही नेपाली सेनाबाट मारिएका थिए ।  नेता तथा कार्यकर्ताहरू सामूहिक बास बसेको स्थानलाई घेरा हाली हत्या गरिएको माओवादीको भनाइ छ । 

अध्यक्ष दाहालले कार्यक्रममा आफूहरूबाट सहिदको यथोचित सम्मान र सहिद परिवारका दु:ख पीरमर्का सम्बोधन हुन नसकेको स्वीकार गरे ।  'हामीले महान सहिदलाई जुन स्तरबाट सम्मान गर्नुपर्दथ्यो त्यसमा केही त्रुटि गर्‍यौँ, हाम्रा सहिद परिवारका दुःख पीर, मर्का जति नजिकबाट हुर्नपर्ने थियो, त्यसमा र हाम्रा वर्ग समुदाय जसको बलमा क्रान्तिमा अघि बढेर यहाँसम्म आइपुगेका हौँ, हाम्रा विचार र राजनीतिक मुद्दामा कहीँ न कहीँ कमजोरी गर्‍यौँ भन्ने समीक्षा गरिएको छ,' उनले भने ।

कान्तिपुर

Link copied successfully