मेयर भट्टराईको माग पूरा गर्ने मन्त्री श्रेष्ठ र शाहीको प्रतिबद्धता

उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह र वनमन्त्री ऐनबहादुर शाहीले दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईको माग पूरा गर्ने प्रतिबद्धता जनाएका हुन् ।

श्रावण १७, २०८२

डम्बरसिं राई

Minister Shrestha and Shahi's commitment to fulfill Mayor Bhattarai's demand

खोटाङ — उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले माइतीघर मण्डलामा आमरण अनशनरत दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईको माग पूरा गर्ने प्रतिबद्धता जनाएका छन् । शनिबार दिउँसो उनलाई भेट्न पुगेको टोलीलाई माग पूरा गर्ने प्रतिबद्धता जनाएका हुन् ।

त्यस्तै, वनमन्त्री ऐनबहादुर शाहीले पनि अनशनस्थलमै आएर शनिबार बिहान भट्टराईले उठाएको माग पूरा गर्ने प्रतिबद्धता जनाएका छन् । उनले मेयर भट्टराईले उठाएका मागलाई विज्ञको परामर्शको आधारमा पूरा गर्ने प्रतिबद्धता जनाएका हुन् । खोटाङलाई बाँसको राजधानी बनाउने, बाँदर बन्ध्याकरण, बाँसलाई विल्डिङ कोडमा समावेश गरी सरकारी मूल्यांकन गर्न 'नम्स' बनाउने लगायतका विषयमा विज्ञको प्रतिवेदनका आधारमा पूरा गर्ने आश्वासन दिएका छन् । 

शनिबार दिउँसो दुई चरणमा सहरी विकास मन्त्रालय र वन मन्त्रालयसँग भट्टराईको छलफल भए पनि साँझसम्म सहमति हुन नसकेको वार्ता टोलीका सदस्य तथा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रवक्ता दिनेशकुमार घिमिरेले बताएका छन् ।

‘मन्त्रीज्यूहरूले माग पूरा गर्ने प्रतिबद्धता जनाउनु भएको छ,’ उनले भने, ‘दिउँसो दुई चरणमा सहरी विकास र वन मन्त्रालयसँग छलफल भयो, सरकार पक्ष पनि सकारात्मक देखिन्छ, तर टुंगो लागिसकेको छैन ।’

भट्टराई माइतीघरमा गत साउन ११ देखि १३ गतेसम्म सत्याग्रह र १४ गतेदेखि आमरण अनशनमा छन् । गत असार ९ गते भएको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको १३ औं नगरसभाको निर्णयले विभिन्न मागसहित सत्याग्रहपछि र आमरण अनशनसम्म आइपुगेका हुन् । 

डम्बरसिं राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully