‘अध्यक्षले प्रचण्ड स्वस्थ हुँदै नेतृत्व हस्तान्तरण गरौं । विशिष्ट पद लिएर बस्नुपर्छ । अध्यक्षले कार्यकारी अधिकार हस्तान्तरण गरी आलोपालो नेतृत्व गर्ने विधि बनाउनुपर्छ ।’
काठमाडौँ — माओवादी केन्द्रका सचिव राम कार्कीले आफू स्वस्थ हुँदै नेतृत्व हस्तान्तरण गर्न अध्यक्ष पुष्पकमल दाहाल आग्रह गरेका छन् । काठमाडौंमा जारी स्थायी समिति बैठकमा उनले आलोपालो नेतृत्व गर्ने गरी दोस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गरी आफू विशिष्ट पदमा बस्न आग्रह गरे ।
‘नेताहरुले बाहिर बोल्ने, भित्र बोलेर आलोचनामा भन्दा अदिभूतवादी प्रशंसाले बढी नोक्सान पुर्याउँछ । हाल अध्यक्षको प्रशंसा पनि मार्क्सवाद संवत् होइन । अप्रिय भए पनि नेतृत्व परिवर्तन अपरिहार्य होइन । दुई लाइन संघर्ष अप्रिय भए पनि योबिना पार्टी बाँच्दैन भनेर माओले भनेका छन्,’ उनले बैठकमा भने, ‘अध्यक्षले प्रचण्ड स्वस्थ हुँदै नेतृत्व हस्तान्तरण गरौं । विशिष्ट पद लिएर बस्नुपर्छ । अध्यक्षले कार्यकारी अधिकार हस्तान्तरण गरी आलोपालो नेतृत्व गर्ने विधि बनाउनुपर्छ ।’
‘दाहालबिनाको माओवादी कल्पना गर्न नसकिने’ अन्य नेताहरुले बताएपछि कार्कीले एमाले अध्यक्ष केपी शर्मा ओलीको भनाइ स्मरण गराए । ‘ओलीले आफूबिनाको एमालेको कल्पना नगर्नुस् भन्नुभयो । के ओली जाँदा एमालेमा पनि सँगै जान्छ,’ उनले भने, ‘कोही पनि नेता अजम्बरी छैनन् । नेतृत्व अपरिहार्य छ, यही नेता विशेष सँधैं नेतृत्व भने अपरिहार्य छैन । यो परिवर्तन हुन्छ । हुनुपर्छ ।’
