पार्टीमा अन्तरसंघर्ष बढिरहेकै बेला शुक्रबार सुरु भएको स्थायी समिति बैठकमा अध्यक्ष दाहालले आफ्नो विचार आन्तरिक बैठकमा राखेर समाधान गर्न सकिने भन्दै उपमहासचिव शर्मालाई सचेत गराएका हुन् ।
What you should know
काठमाडौँ — माओवादी अध्यक्ष पुष्पकमल दाहालले उपमहासचिव जनार्दन शर्मालाई सार्वजनिक मञ्चमा फरक मत राखेको विषयमा सचेत गराएका छन् । पार्टीमा अन्तरसंघर्ष बढिरहेकै बेला शुक्रबार सुरु भएको स्थायी समिति बैठकमा दाहालले आफ्नो विचार आन्तरिक बैठकमा राखेर समाधान गर्न सकिने भन्दै उनलाई सचेत गराएका हुन् ।
बैठकमा अध्यक्ष दाहालले ‘जे मत छ, पार्टीभित्र राख्न’ उपमहासचिव शर्मालगायत नेतालाई निर्देशन दिएका छन् । ‘जनार्दनजीले बाहिर बोल्नु राम्रो हुँदैन, पार्टीको विधि र पद्धतिभित्र रहनुपर्छ,’ उनको भनाइ थियो, ‘पार्टीभित्र नेतृत्वको विरोध गर्न पाइन्छ । महाधिवेशन गरौं, केन्द्रीय समिति बैठकमा आफ्नो कुरा राखौं । अन्य कमरेडले पनि आफ्नो कुरा पार्टीभित्रै राखौं ।’
अध्यक्ष दाहालले फरक मत राखेका आधारमा उपमहासचिव शर्मालाई कारबाही गर्न लागेको भनी प्रचार गर्नु गलत भएको बताए । ‘विगतमा पनि जनार्दनजीको मतलाई लिएर परामर्श बैठक भनी सातै प्रदेशमा गएका हौं,’ दाहालले बैठकमा भने, ‘बोलेकै आधारमा कारबाहीको प्रस्ताव गर्ने भन्नु गलत हो ।’ माओवादीमा फरक मत राख्न पाइने र फरक मतलाई पार्टीभित्रै छलफल गरेर समाधान गर्न सकिने उनको भनाइ थियो ।
पार्टीको नयाँ नेतृत्व, कार्यदिशालगायत विषयमा असोजको केन्द्रीय समिति बैठक र त्यसपछि महाधिवेशनबाट निष्कर्षमा पुगिने दाहालले बताए । उनले महाधिवेशनबाट पार्टीको नेतृत्व परिवर्तन गर्न चुनौती पनि दिए । ‘नेतृत्व परिवर्तन गर्ने नै हो भने महाधिवेशनबाट गरे हुन्छ,’ उनको भनाइ थियो, ‘जे कुरा गर्ने हो पार्टीभित्रै गरौं । स्वार्थ समूहको उक्साहटमा नलागौं ।’ सार्वजनिक रूपमा छरपस्ट धारणा राख्दा क्षति हुने भएकाले ‘जनवादी केन्द्रीयता (आन्तरिक लोकतन्त्र र अनुशासन) लाई ध्यान दिन स्थायी समिति सदस्यलाई दाहालले आग्रह गरे ।
उनले अन्तरसंघर्षको व्यवस्थापन गर्ने प्रस्तावसमेत स्थायी समिति बैठकमा राखेका छन् । बैठकमा आन्तरिक एकता र अन्तरसंघर्षको व्यवस्थापनबारे छलफल हुने नेताहरूले जनाएका छन् ।
स्थायी समिति बैठकमा उपमहासचिव शर्माले पार्टी नेतृत्व, विधि र पद्धतिबारे सार्वजनिक रूपमा आफूले उठाएका प्रश्नबारे धारणा राख्ने तयारी गरेका छन् । उनले लामो समयदेखि नै विशेष महाधिवेशन गरी पार्टी पुनर्निर्माण, नेतृत्व हस्तान्तरण, आन्तरिक लोकतन्त्रको विषय सार्वजनिक रूपमै उठाउँदै आएका छन् । ‘हेडक्वार्टर’ नजिकका नेताबाटै पार्टी फुटाउन खोजेको आरोप आफूमाथि लगाइएको उनको भनाइ छ । ‘दुई वर्षदेखि माथिल्लो तहबाटै लगातार पार्टी फुट्छ भन्ने गरिएको प्रचारलाई यति बेला थप मलजल गर्दै पार्टी कार्यकर्ता र जनतामा भ्रमको खेती गर्नेप्रति सचेत हुन आग्रह गर्छु,’ उनले मंगलबार सामाजिक सञ्जालमार्फत अपिल गरेका थिए ।
उपमहासचिव शर्माको नाम नलिई केही नेताले सिँगौरी खेलेको भन्दै अध्यक्ष दाहालले पनि यसअघि सार्वजनिक रूपमा आपत्ति जनाएका थिए । ‘अहिले पनि केही साथीहरूले अलिअलि सिँगौरी खेल्न पाएजस्तो गर्नुभएको छ । उहाँहरूलाई प्रशस्त सिँगौरी खेल्न दिएको छु,’ ७ साउनमा आयोजित पुष्पलाल स्मृतिसभामा उनले भनेका थिए ।
सशस्त्र द्वन्द्वकालदेखि दाहालनिकट रहँदै आएका शर्मा पछिल्लो समय असन्तुष्ट छन् । ‘हेडक्वार्टर’ ले गत आम निर्वाचनदेखि नै आफूविरुद्ध गलत प्रचार गरिरहेको उनको आरोप छ । साउन २०८१ मा भएको स्थायी समिति बैठकमा उपमहासचिव शर्माले १४ पृष्ठको लिखित मत राख्दै पार्टी प्रणाली लोकतान्त्रिक नभएको, नेतृत्व हस्तान्तरण हुनुपर्ने, वैचारिक नीति स्पष्ट हुनुपर्ने माग गरेका थिए । उनको मतमाथि सातै प्रदेशमा ‘परामर्श बैठक’ गरी छलफल गरिएको थियो । त्यसलाई माओवादीले आन्तरिक लोकतन्त्रको उच्चतम अभ्यास भनेको थियो । लामो छलफलपछि शर्मालाई गत माघमा स्थायी समितिले संगठन विभाग प्रमुखको जिम्मेवारी दिएको थियो । गत वैशाखमा रुकुम पश्चिमको चौरजहारी पुगेका बेला दाहालले ‘पार्टी छाडे पनि फरक नपर्ने’ आशयको अभिव्यक्ति दिएपछि शर्मा थप आक्रोशित भएका थिए । त्यसयता दाहाल र शर्माबीच सार्वजनिक रूपमा सवालजवाफ हुँदै आएको छ ।
उपमहासचिव शर्माले अध्यक्ष दाहालको कार्यशैलीप्रति प्रश्न उठाएपछि माओवादीमा केन्द्रदेखि जिल्ला तहसम्म ध्रुवीकरण देखिएको छ । सार्वजनिक रूपमा पार्टी पुनर्गठन, नेतृत्वको कार्यशैलीप्रति खरो आलोचना भएपछि संस्थापन पक्षका नेता तथा कार्यकर्ताले शर्माविरुद्ध सामाजिक सञ्जालमा अभियान नै चलाएका छन् । शर्मा पक्षका नेता–कार्यकर्ताले त्यसको प्रतिवाद गरिरहेका छन् ।
‘अवसरवादको कुनै विचार, राजनीति, निष्ठा र सिद्धान्तको सीमा हुन्न । यो सीमारहित मान्छे आकृतिको स्वादे जिब्रो हो । यो जिब्रोले पाएसम्म खान्छ र नपाएको दिन लापरबाह बमिट गर्छ,’ दाहालनिकट केन्द्रीय सदस्य रामप्रसाद सापकोटा (दीपशिखा) ले उपमहासचिव शर्मालाई संकेत गर्दै लेखेका छन्, ‘नेतृत्व भनेको क्रान्तिकारी विचार र सिद्धान्तमा आधारित रहेर आन्दोलनलाई अगाडि बढाउने क्षमता हो । आफ्नै नेतृत्व बदनाम गरेर न पार्टी बलियो बन्छ, न आन्दोलन नै । यसबाट फाइदा त अन्ततः प्रतिक्रयावादीले नै लिने हो ।’
उपमहासचिव शर्मानिकट नेता सुदन किरातीले प्रश्न गर्नेलाई पार्टी विभाजनको आरोप लगाइएकामा आपत्ति जनाएका छन् । ‘प्रश्न गर्नेहरूलाई पार्टी विभाजनको आरोप लगाउने प्रवृत्तिविरुद्ध सशक्त वैचारिक प्रतिवाद गरौं,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेतृत्वको विचार र योगदानलाई जुग–जुगसम्म बचाइराख्न चाकडी र चाप्लुसी गर्ने प्रवृत्तिलाई निषेध गरौं ।’
मुख्य नेतृत्वमाथि ‘आक्रमण’ भएको भन्दै संस्थापन पक्षले सामाजिक सञ्जालमा अध्यक्ष दाहालको भनाइ उद्धरण गर्ने अभियान चलाएका छन् । सशस्त्र द्वन्द्वका बेला बाबुराम भट्टराईले माओवादीमा केन्द्रीकृत नेतृत्व भएको भन्दै प्रश्न उठाएपछि हरेक नेता तथा कार्यकर्तालाई दाहालको भनाइबाट भाषण सुरु गर्न निर्देशन दिइएको थियो ।
