आगामी साउन ११ देखि परीक्षणका रूपमा सञ्चालनमा आउन लागेको सुरुङमार्गमा बिहान दौडको कार्यक्रम आयोजना गरिएको हो ।
काठमाडौँ — नागढुंगा-सिस्नेखाला सुरुङमार्गमा आज 'नागढुंगा टनेल फन रन एन्ड वाक' आयोजना गरिएको छ । नेपाल–जापान मित्रताको ऐतिहासिक उत्सवका अवसरमा सडक विभाग र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को संयुक्त आयोजनामा कार्यक्रम गरिएको हो ।
सडक विभाग र जाइकाले सवारीसाधनका लागि आधिकारिक रूपमा खुला गर्नुअघि सुरुङभित्र ‘फन रन एण्ड वाक २०२६’ को आयोजना गरेको हो । सुरुङमार्ग पूर्ण रूपमा सञ्चालनमा आएपछि यसको सुरक्षित प्रयोगका लागि सहभागीलाई सुरुङका मुख्य सुरक्षा विशेषता, उचित प्रयोगका तरिका, आपतकालीन प्रणाली र आवश्यक सुरक्षा निर्देशनहरूका बारेमा जानकारी गराइएको थियो ।
‘फन रन एन्ड वाक’ मा राष्ट्रिय म्याराथन कीर्तिमानधारी वैकुण्ठ मानन्धरलगायतको उपस्थिति रहेको थियो । सरकारी अधिकारी, जापानी दूतावास र जाइकाका प्रतिनिधि, स्थानीय सरकारका प्रतिनिधि, व्यावसायी, विद्यार्थी, जापानी स्वयंसेवक, आयोजनाका विज्ञ, सञ्चारकर्मी र अन्य सरोकारवालासहित ४ सयभन्दा बढी उपस्थिति रहेको जाइकाले जनाएको छ ।
यो सुरुङमार्गले यातायात सम्पर्कमा सुधार गर्ने, सडक सुरक्षा बढाउने, यात्राको समय घटाउने र नेपालको सामाजिक–आर्थिक विकासमा योगदान पुर्याउने एक महत्वपूर्ण कडीको रूपमा काम गर्ने जाइकाको भनाइ छ । विभिन्न प्राविधिक तथा व्यवस्थापकीय कारणले सञ्चालनमा आउन ढिलाइ भएको सुरुङमार्ग अब चरणबद्ध रूपमा सञ्चालनमा ल्याइने तयारी छ ।
सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनका शुल्क निर्धारण भइसकेको छ । कार र भ्यानले काठमाडौं भित्रिँदा ६५ र बाहिरिँदा ६० रुपैयाँ शुल्क तिर्नुपर्नेछ । मिनीबस–ट्रक र टिपरलाई काठमाडौं भित्रिँदा १ सय १५ र बाहिरिँदा ८० रुपैयाँ शुल्क तोकिएको छ । बस, ट्रकले सुरुङमार्ग भएर काठमाडौं छिर्दा २ सय ६० र यही मार्ग भएर बाहिरिँदा २ सय रुपैयाँ शुल्क तिर्नुपर्नेछ । नागढुंगा–सिस्नेखोला सुरुङमार्ग यातायात सञ्चालनसम्बन्धी निर्देशिका, २०८१ अनुसार सुरुङ सञ्चालनमा आएपछि पैदलयात्री, दुईपांग्रे, तीनपांग्रे सवारी र नन–मोटोराइज्ड सवारीले भने सुरुङमार्ग प्रवेश पाउने छैनन् ।
![Run and Walk in Nagdhunga Tunnel [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/7493777021337035195271329139490785260966136n-1872026071206-1000x0.jpg&w=1001&h=0)
![Run and Walk in Nagdhunga Tunnel [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/74804358613464845036281206426728881016722083n-1-1872026070743-1000x0.jpg&w=1001&h=0)
![Run and Walk in Nagdhunga Tunnel [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/750396704872721772207761890686775302079431n-1872026070814-1000x0.jpg&w=1001&h=0)
![Run and Walk in Nagdhunga Tunnel [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/74719071910553111002906773212183531040869393n-1872026070805-1000x0.jpg&w=1001&h=0)
![Run and Walk in Nagdhunga Tunnel [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/74782673315879726596097917099304478342684171n-1872026070801-1000x0.jpg&w=1001&h=0)