केञ्जोले बोलाउँदै छ तिम्बुङ [तस्बिरहरू]

केञ्जो फुल्ने मौसम सुरु भएसँगै तिम्बुङ क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको छ ।

श्रावण २, २०८३

लक्ष्मी गौतम

Kenjo is calling Timbung [Photos]

पाँचथर — पाँचथर र ताप्लेजुङको सीमामा अवस्थित तिम्बुङ पोखरी क्षेत्र यतिबेला दुर्लभ हिमाली वनस्पति केञ्जो (पदमचाल) ले सेताम्मे बनेको छ । समुद्री सतहबाट करिब ४ हजार ३ सय मिटरको उचाइमा पाइने यो वनस्पति फक्रिएसँगै तिम्बुङका हरिया चौर सेता फूलले ढाकिएका छन् । प्राकृतिक सौन्दर्यले भरिपूर्ण यो दृश्यले अहिले पूर्वी नेपालको हिमाली पर्यटनमा नयाँ आकर्षण थपेको छ ।

Kenjo is calling Timbung [Photos]

केञ्जो फुल्ने मौसम सुरु भएसँगै तिम्बुङ क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको छ । विशेषगरी पाँचथरको याङवरक–२ स्थित तिम्बुङ पोखरी आसपास फैलिएको केञ्जोको प्राकृतिक बगैंचा पर्यटकको रोजाइमा पर्न थालेको छ । स्थानीयले यसलाई ‘केञ्जो गार्डेन’ नाम दिएका छन् । फेदमा हरिया पात र माथितिर सेता पत्रले ढाकिएको केञ्जोको चुच्चो आकार टाढाबाट हेर्दा हिमालमा उभिएको सेतो टावरजस्तै देखिन्छ । यही विशेषताका कारण यसलाई ‘हिमाली टावर’ पनि भनिन्छ । हजारौं केञ्जो एकैसाथ फुल्दा ढुंगे भीर, घाँसे मैदान र हिमाली फाँट नै सेताम्मे देखिन्छन् ।

Kenjo is calling Timbung [Photos]

यो मौसममा तिम्बुङ पुग्नेहरू फूलसँग तस्बिर खिच्ने, भिडियो बनाउने र हिमाली सौन्दर्यको आनन्द लिनेमा व्यस्त देखिन्छन् । सामाजिक सञ्जालमा यहाँका दृश्य व्यापक रूपमा सार्वजनिक हुन थालेपछि पछिल्ला वर्ष तिम्बुङ आउने पर्यटकको संख्या उल्लेख्य रूपमा बढेको पर्यटन व्यवसायी अमिर राई बताउँछन् । ‘केञ्जो अहिले तिम्बुङ क्षेत्रको सबैभन्दा ठूलो आकर्षण बनेको छ,’ राई भन्छन् । उनका अनुसार फूल फुल्ने यही छोटो मौसममा नेपालका विभिन्न जिल्लासँगै भारतको सिक्किमबाट पनि पर्यटक आउने गरेका छन् ।

Kenjo is calling Timbung [Photos]

दुर्लभ तथा औषधीय गुण भएको वनस्पति भएकाले केञ्जोको संरक्षण आवश्यक रहेको स्थानीयको भनाइ छ । केही आगन्तुकले तस्बिर खिच्ने क्रममा बोट भाँच्ने वा उखेल्ने गरेकाले सचेत हुनुपर्ने स्थानीय गणेश राईको आग्रह छ । ‘प्राकृतिक सम्पदाको संरक्षण गर्न सके मात्रै यसको सौन्दर्य आगामी पुस्ताले पनि देख्न पाउनेछन्,’ उनी भन्छन् ।केञ्जो विशेषगरी साउन–भदौ महिनामा फुल्ने गर्छ । यही समयमा तिम्बुङ पुग्ने जो–कोही प्रकृतिको अनुपम सौन्दर्यमा हराउन पुग्छ ।

Kenjo is calling Timbung [Photos]

केञ्जोले ढाकिएको तिम्बुङ क्षेत्र अहिले पूर्वी नेपालको सबैभन्दा आकर्षक हिमाली गन्तव्यमध्ये एकका रूपमा स्थापित हुँदै गएको छ । तिम्बुङ पुग्न पाँचथरको फालेलुङ–तीनसिमाना, फालौट, चिवाभञ्ज्याङ तथा फलैंचा–कालिखोला मार्ग प्रयोग गर्न सकिन्छ । पदयात्रीका लागि बाटोमा होमस्टे, गोठस्टे र होटलको सुविधा पनि उपलब्ध छ । यद्यपि यस वर्ष मध्यपहाडी राजमार्गअन्तर्गत ओयाम–फलैंचा खण्डमा बाढीपहिरोले सडक क्षतिग्रस्त बनाएकाले यात्रा केही कठिन भएको छ । त्यसका बाबजुद नेपाल र सिक्किम दुवैतर्फबाट पर्यटकको आवागमन जारी रहेको स्थानीय बताउँछन् ।

Kenjo is calling Timbung [Photos]
Kenjo is calling Timbung [Photos]
Kenjo is calling Timbung [Photos]
Kenjo is calling Timbung [Photos]
तस्बिर सौजन्य : अमिर राई
तस्बिर सौजन्य : अमिर राई

लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully