एउटा गिद्धले तीन दिनमा एक किलो तथा वर्षमा १ सय २० किलो सिनो खाएर प्रकृति सफा राख्छ।
कपिलवस्तु —
दाङको कप्तानगञ्जमा विश्वकै दुर्लभ डंगर गिद्धका माउ र बचेराको मनमोहक चहलपहल देखिन्छ। माउ अघि–अघि, बचेरा पछि–पछि उड्दै पछ्याइरहेका छन्। कप्तानगञ्ज क्षेत्रमा पर्ने उचानिम्बु सामुदायिक वनका साजका अग्ला रूखमा ३८ जोडी माउ–बचेरा वात्सल्य प्रेममा रमाइरहेका छन्। यता कपिलवस्तुको राजापानी क्षेत्रमा ९६ वटा डंगर गिद्धका माउ–बचेराको उस्तै व्यस्तता छ। सँगसँगै उडिरहेका छन्। भर्खर गुँड छोडेर कावा खाँदै उड्न सिकाउँदै गरेको दृश्य निकै मनमोहक देखिन्छ। माउले बचेरालाई रेखदेख गर्दै स्याहारसुसार गरेको वात्सल्य प्रेमले सबैलाई मोहित बनाइरहेको छ।गिद्ध जोडीले चैतदेखि जेठसम्म तीन महिना परिश्रम गरेर गुँडमा बचेरा हुर्काउँछन्। अण्डाबाट निस्केका बचेरालाई पखेटा फिजाउन सिकाउँछन्। आङ तान्ने कला सिकाउँछन्। गुँडभित्रै गुम्सिनेलाई जबरजस्ती तानेर बाहिर निस्कन सिकाउँछन्। असार लागेसँगै अहिले बिस्तारै उड्न सिकाइरहेका छन्। टाढाटाढाबाट विचरण गरेर गिद्धले गोजेरो (घाँटी) मा राखेर ल्याएको मासु ओकलेर खान सिकाउँछन्।
सन् २०२५/२६ मा विश्व दुर्लभ डंगर गिद्धले नेपालका विभिन्न जिल्लामा ७ सय ९४ वटा गुँड लगाएको सर्वेक्षण गरिएकामा ६ सय ५६ वटा गिद्धले बच्चा उडाउन सफल भएको पन्छी संरक्षण संघ (बीसीएन) का गिद्ध संरक्षण अधिकृत अंकितविलास जोशीले बताए। अघिल्लो वर्ष २०२४/२५ मा ७ सय ४८ वटा गुँड लगाएको सर्वेक्षण गरिएकामा ५ सय ५१ वटा गिद्धले बच्चा उडाएका थिए। डंगर गिद्धको २०२४/२५ मा ७३ दशमलव ६६ प्रतिशत प्रजनन दर सफल भएकामा २०२५/२६ मा बढेर ८२ दशमलव ६२ प्रतिशत पुगेको गिद्ध संरक्षण अधिकृत जोशीले बताए।सन् १९९० को दशकमा नेपाल र भारतबाट लोप भइसकेको डंगर गिद्ध लगातारको संरक्षण प्रयासपछि अहिले संख्या निकै सुधारिनु सकारात्मक कुरा भएको बताइएको छ। बीसीएनले डंगर गिद्धको घना बस्ती भएको मुलुकका विभिन्न जिल्लामा गुँड लगाउने बेलादेखि प्रजनन र बचेरा उडाउने बेलासम्म नियमित अनुगमन गर्ने गरेको बीसीएनका परियोजना अधिकृत अमृत नेपालीले बताए।
यस वर्ष सन् २०२५/२६ मा डंगर गिद्धले सबैभन्दा बढी कपिलवस्तुमा १ सय ८७ वटा गुँड लगाएकामा १ सय ६६ वटाले बचेरा उडाएका छन्। त्यस्तै दाङमा १ सय ७० वटाले गुँड लगाएकामा १ सय ४७ वटाले बचेरा उडाएका छन्। पूर्वी नवलपरासीमा १ सय ३१ वटाले गुँड लगाएकामा ९६ वटाले बचेरा उडाएका छन्। कञ्चनपुरमा १ सय १६ मध्ये ९७ वटाले सफल रूपमा बचेरा उडाएका छन्। पश्चिम नवलपरासी, स्याङ्जा, तनहुँ, पाल्पा, कास्की, कैलाली, सुनसरी, अर्घाखाँची र डडेलधुरामा पनि डंगर गिद्धको अनुगमन गरिएको थियो।पश्चिम तराईको वन क्षेत्र दुर्लभ डंगर गिद्धका बचेरा हुर्काउने उत्कृष्ट स्थल बनेका छन्। नेपालका १३ जिल्लामा डंगर गिद्धको अभिलेख छ। सुरक्षाका लागि अग्ला वन क्षेत्रमा रहेका साल, असना, साज, कुसुम र सिमलका रूखमा गुँड बनाएर गिद्धले बचेरा कोरलेका हुन्। डंगरले ठूला रूखको १९ देखि २९ मिटर अग्लो ठाउँमा ओथारो बस्छ। डंगर गिद्धले एउटा मात्र अण्डा पार्छ। बीसीएनले बर्सेनि गिद्ध बढी पाइने १५ जिल्लामा गुँड अनुगमन गर्दै आएको छ। त्यसमध्ये १३ जिल्लामा डंगर गिद्धको प्रजनन अनुगमन गर्ने गरेको छ। यस वर्ष डंगरसँगै अन्य गिद्धको पनि अनुगमन गरिएको थियो। सानो खैरो गिद्धको ९ वटा गुँड अनुगमन गरिएकामा ८ वटा सफल भएका छन्। सुन गिद्धको ३ वटा गुँड अनुगमन गरिएकामा २ वटा सफल भएका छन्।
त्यस्तै अर्घाखाँचीमा यस वर्ष ३ प्रजातिका गिद्धले ३३ बचेरा उडाएको गिद्ध विशेषज्ञ कृष्णप्रसाद भुसालले बताए। डंगर गिद्धले २३ वटा गुँड लगाएकामा १५ वटा, हिमाली गिद्धले २२ वटा गुँड लगाएकामा १६ वटा र हाडफोर गिद्धले ३ वटा गुँड लगाएकामा २ वटा सफल भएको उनले बताए। प्रकृतिको कुचीकार भनेर चिनिने लोपोन्मुख पन्छी गिद्ध दिनानुदिन संकटमा पर्दै गएको बेला एकै ठाउँमा ठूलो संख्यामा बचेरा हुर्किँदै जानु संरक्षणका क्षेत्रमा राम्रो काम मानिएको संरक्षणकर्मी चिरञ्जीवी खनालले बताए। बीसीएनले गर्दै आएको डंगर गिद्धको अध्ययनले चार वर्षयता गुँड लगाउने जोडीको संख्या बढिरहेको देखाएको छ। 'हुर्काउने दर पनि बढेको छ,' उनले भने, 'दुई दशकभन्दा बढी समयदेखि भइरहेको संरक्षणको प्रयास, बढ्दो सचेतना र गिद्धको महत्त्व बुझ्दा अहिले यसको संख्या बढ्दै गएको हो।'सन् २०२३/२४ मा डंगरका ६ सय ५८ जोडीले अण्डा पारेर बच्चा जन्माए पनि ४ सय ८० वटा मात्र उडाउन सफल भएका थिए। त्यस्तै २०२२/२३ मा डंगर गिद्धका ५ सय ६९ जोडीले गुँड बनाएकामा ४ सय २ जोडी बचेरा उडाउन सफल भएका थिए।
नेपालमा पाइने ९ प्रजातिका गिद्धमध्ये ६ प्रजातिले मात्र गुँड बनाएर बच्चा कोरल्ने गर्छन्। डंगरजस्तै सुन र सानो खैरो गिद्धले रूखमा गुँड लगाउँछन्। पहाडमा सल्लो र सिमलका रूखमा गुँड लगाउँछन्। हिमाली, हाडफोर र सेतो गिद्धले पहाडका पहरा र खोँचमा गुँड लगाएका हुन्छन्। गिद्धको प्रजनन सफलता दर करिब ६० प्रतिशत मात्र छ। गिद्धको अण्डामै बच्चा नपर्ने, बचेरा उड्न सिक्दा लडेर घाइते भई मर्ने र विषादी भएको सिनोलाई आहाराका रूपमा माउले बचेरालाई खुवाउँदा मर्ने समस्याले प्रजनन सफल हुन नसकेको बीसीएनकी प्रमुख कार्यकारी अधिकृत ईशाना थापाले बताइन्।विज्ञ कृष्णप्रसाद भुसालका अनुसार प्रायः एक्लो बस्ने पोथी गिद्धले कात्तिक–मंसिरतिर प्रजननका लागि जोडी खोज्छ। जोडी मिलेर ओथारो बस्न गुँड बनाउँछन् र बच्चा हुर्काउँछन्। पुसको दोस्रो–तेस्रो सातातिर अण्डा पारेर गिद्ध ओथारो बस्छ। ५० देखि ६० दिनसम्म ओथारो बसेपछि माघ–फागुनमा बच्चा जन्मन्छ। 'बचेरा तीन महिनाको भएपछि माउले उड्न सिकाउँछ,' उनले भने।
सन् १९९० ताका भारत र नेपालमा डंगर गिद्धको संख्या निकै घटेको थियो। भारतमा ९९.९ प्रतिशत र नेपालमा ९१ प्रतिशतभन्दा बढी लोप भइसकेको थियो। डंगर गिद्ध लोप हुने प्रमुख कारण पशुमा लगाइने डाइक्लोफेनेक औषधि थियो। संरक्षणकर्मीको पहलमा सरकारले २०६३ जेठमा पशु उपचारमा प्रयोग गरिने डाइक्लोफेनेकको उत्पादन, बिक्री–वितरण र प्रयोगमा प्रतिबन्ध लगाएपछि गिद्धको संख्या बढ्दै गएको हो। त्यस्तै गिद्धका लागि हानिकारक मानिएका निमोस्लाइड, किटोप्रोफेन र एसिक्लोफेनेक औषधिमा पनि २०८३ सालको सुरुदेखि उत्पादन, बिक्री–वितरण, आयात र प्रयोगमा प्रतिबन्ध लगाइएको छ। नेपालमा वयस्क डंगर गिद्धको अनुमानित संख्या सन् २०१६ मा दुई हजारभन्दा कम गरिएको थियो। त्यसयता भने संख्या अध्ययन भएको छैन। 'पहिले गिद्धले छोए स्वस्ति शान्ति गर्नुपर्छ भन्ने परम्परा थियो,' तिलौराकोट साझेदारी वनका उपभोक्ता समूह अध्यक्ष जयप्रकाश पाण्डेले भने, 'गिद्धको महत्त्व बुझेपछि वन क्षेत्रका गुँड छेउछाउ कसैलाई जान दिँदैनौँ।'
गिद्ध सिकारी चरा समूहअन्तर्गत पर्ने ठूला मांसाहारी पन्छी हुन्। यिनले आफैँ सिकार नगरी मरेका जनावरको मासु अर्थात् सिनो मात्र खाने गर्छन्। मरेका जनावरको सिनो र फालिएको मासुजन्य फोहोर पदार्थ खाई वरपरको वातावरणलाई प्रदूषित, दुर्गन्धित र रोगमुक्त बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने हुँदा गिद्ध वातावरणीय दृष्टिले महत्त्वपूर्ण छन्। गिद्धले वातावरणलाई स्वच्छ राखेर हैजा, रेबिज, प्लेग र एन्थ्राक्सजस्ता महामारी फैलिन नदिन सहयोग गर्छ। वातावरणीय चक्र र खाद्य शृंखला सन्तुलित तथा गतिशील बनाउन भूमिका निर्वाह गर्ने हुँदा गिद्ध समाज उपयोगी पन्छी मानिन्छ।एउटा गिद्धले तीन दिनमा एक किलो तथा वर्षमा १ सय २० किलो सिनो खाएर प्रकृति सफा राख्छ। गिद्ध अप्ठेरो ठाउँमा पनि गएर सिनो र फोहोर खाएर वातावरण स्वच्छ राख्न सहयोग गर्ने उनले बताए। एक अध्ययनअनुसार सिनो व्यवस्थापनको मूल्य तोक्ने हो भने एउटा गिद्धले करिब ११ हजार अमेरिकी डलर बराबरको आर्थिक योगदान पुर्याउने गरेको देखाएको छ।







