भोटो जात्रालाई करिब आठ सय वर्षअघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो । जा(भात) वला (छर्ने) भएकाले यसलाई जावलाखेल जात्रा भन्ने गरिएको जानकारहरु बताउँछन् ।
ललितपुर — वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो शनिबार देखाइएको छ । गुठी संस्थानका कर्मचारीले सो भोटो देखाएका थिए । मच्छिन्द्रनाथको रथ लगनखेलबाट जावलाखेल पुर्याइएको चौथो दिन भोटो देखाउने परम्परा छ ।राष्ट्रका उच्च पदस्थ व्यक्तिहरुको उपस्थितिमा भोटो देखाइएको हो । त्यस अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री वालेन्द्र शाह, प्रधानन्यायाधीश मनोज शर्मा, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाललगायतको उपस्थिति थियो । भोटो जात्रालाई करिब आठ सय वर्षअघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो । जा(भात) वला (छर्ने) भएकाले यसलाई जावलाखेल जात्रा भन्ने गरिएको जानकारहरु बताउँछन् ।
भूत, प्रेतलाई खाना दिन यो जात्रा गरिएको विश्वास छ। भोटो जात्रा सुरु भएको यकिन तिथिमिति अहिलेसम्म पत्ता लागेको छैन । मच्छिन्द्रनाथको यात्रा भने करिब एक हजार ३०० वर्ष अघि नै सुरु भएको हो । किंवदन्तीअनुसार यो यात्रा सुरु भइसकेपछि नागराज कर्कोटककी रानीको आँखा दुख्यो । कर्कोटक वैद्यको खोजीमा लागे । खेतमा काम गरिरहेका किसानलाई वैद्य ठानी नागलोक अर्थात् टौदह लगे ।डराएका किसानले मच्छेन्द्रनाथको प्रार्थना गरी हात माडेर मयललाई औषधिका रुपमा कर्कोटकलाई दिए । औषधिले रानीको आँखा दुख्ने रोग निको भयो । पुरस्कारस्वरुप मणि माणिक्यले युक्त भोटो किसानलाई दिएर मनुष्यलोकमा फर्काइयो । किसानले भोटो खेतको डिलमा राखेर काम गर्न थाले ।
मनुष्यरुपी भूत आएर भोटो लग्यो । किसानले खोजे, पाएनन् । मच्छिन्द्रनाथको जात्रा हेर्न जाँदा आफूले पुरस्कारस्वरुप पाएको भोटो मनुष्यका रूपमा आएको भूतले लगाएको देखेर किसानले दाबी गरे । भूतले दिन नमानेपछि विवाद भयो । कर्कोटक नागलाई समेत बोलाएर सोधखोज गरियो । अन्तिममा भोटोको अधिकारी दुवै हुन नसक्ने निष्कर्ष निकाली मच्छिन्द्रनाथको जिम्मा लगाइयो ।आधिकारिक प्रमाणसहित आउनेलाई भोटो दिन रातो मच्छिन्द्रनाथको रथ यात्रा सकेपछि भोटो जात्रा गर्ने परम्परा बस्यो । त्यो वर्षदेखि प्रत्येक साल साइत हेरेर भोटो देखाउने गरिएको जनविश्वास छ । अहिलेसम्म कसैले प्रमाण जुटाएर भोटो लैजान नसकेको किंवदन्ती छ ।
![This is how the vote was shown in Jawalakhel [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/bhoto-jatra-2062026033704-1000x0.jpg&w=1001&h=0)
![This is how the vote was shown in Jawalakhel [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/rato-5-2062026034202-1000x0.jpg&w=1001&h=0)
![This is how the vote was shown in Jawalakhel [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/bhoto-jatra-3-2062026033653-1000x0.jpg&w=1001&h=0)