वर्षा र सहकालका देवताका रूपमा पूजा गरिने रातो मच्छिन्द्रनाथको देवतालाई गत शनिबार ३२ हात अग्लो रथमा बिराजमान गराइएको थियो ।
काठमाडौँ — ललितपुर । ललितपुरमा ऐतिहासिक रूपमा मनाइँदै आएको रातो मच्छिन्द्रनाथ जात्रा मंगलबारदेखि औपचारिक रूपमा सुरु भएको छ । आज पुल्चोकबाट तानेर रातो मच्छिन्द्रनाथको रथ गाबल पुर्याइएको छ ।वर्षा र सहकालका देवताका रूपमा पूजा गरिने रातो मच्छिन्द्रनाथको देवतालाई गत शनिबार ३२ हात अग्लो रथमा बिराजमान गराइएको थियो । तिथिअनुसार आज पुल्चोकबाट रथ तानेर गाबल पुर्याइएको हो ।गुठी संस्थानका अनुसार आज रातो मच्छिन्द्रनाथलाई मीननाथ देवताले स्वागत गर्दै गाबलसम्म ल्याइएको हो । बुधबारदेखि रातो मच्छिन्द्रनाथको रथ अगाडि लाग्नेछ भने मिननाथ देवताको सानो रथ पछि लाग्नेछ ।रथ गाबल, सुन्धारा, लगनखेल हुँदै ठटीटोल पुर्याइनेछ । ठटीटोलमा पुगेपछि जात्राको पहिलो चरण सम्पन्न हुने मच्छिन्द्रनाथ मृदङ्ग भजनमण्डलका सदस्य प्रद्युम्न श्रेष्ठले जानकारी दिए । उनका अनुसार लगनखेलबाट करिब सय मिटर अगाडि रथ तानेर पोडेटोलमा नरिवल फुटाउने र त्यसको भोलिपल्ट महिलाले रथ तान्ने परम्परा रहेको छ ।ठटीटोलमा रथ विश्राम गरेपछि बिहीबार पात्रो हेरिन्छ र तिथिअनुसार एकदेखि करिब दुई महिनासम्म रथ त्यहीँ रहन सक्छ । त्यसपछि तिथिअनुसार रातो मच्छिन्द्रननाथको रथलाई पश्चितर्फ तानिन्छ । कुमारीपाटी हुँदै जावलाखेलस्थित ललितमण्डप पुर्याएको चौथो दिन ‘भोटो देखाउने’ प्रचलन रहेको छ ।
![Rato Machhindranath's Rath Yatra in Lalitpur [Photo Feature]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/ratomachhindrarathpulchowk20260421220-2142026035506-1000x0.jpg&w=1001&h=0)