बाढीबाट बचेका पाँचथरको बेंसीतिरका खेतमा यतिखेर चैते धान रोप्ने चटारो छ । विगतमा चैत १० देखि मसान्तसम्म हुने चैते धान रोपाइँ यस वर्ष १५ दिनअघिनै मैझारो गर्न किसान जुटेका छन् ।
पाँचथर — तीन वर्षअघिसम्म पाँचथरमा २ हजार २ सय हेक्टरभन्दा बढी क्षेत्रफलमा चैते धान रोपिन्थ्यो । २०८० असार २ को बाढीले खेत र कुलो बगाएपछि २०८१ मा त्यो क्षेत्रफल घटेर १ हजार १ सय ८४ हेक्टरमा खुम्चियो । पुनः २०८१ असोज १२ को वर्षाले थप खेत र कुलोमा क्षति पुर्याउँदा गत वर्ष २ हजार १ सय ३६ हेक्टर क्षेत्रफलमा मात्रै चैते धान रोपिएको थियो।
यो वर्ष गत असोज १७ मा तेस्रो पटक आएको बाढीले चैते धान रोपाइँ हुने जमिनको क्षेत्रफल झनै घटाएको छ। यद्यपि यस वर्ष कति क्षेत्रफलमा यो धान रोपियो भन्ने तथ्यांक कृषि ज्ञान केन्द्रले अझै संकलन गरिसकेको छैन। बाढीबाट बचेका खेतबेंसीमा यतिखेर चैते धान रोप्ने चटारो छ । विगतमा चैत १० देखि मसान्तसम्म हुने चैते धान रोपाइँ यस वर्ष भने १५ दिनअघिनै मैझारो गर्न किसान जुटेका छन् ।
पहिले रोपाइँ हुने समयमै हरियाली देखिने खेतमध्ये धेरैजसो अहिले बगरमा परिणत भएका छन् । तैपनि आफूहरूले हिम्मत नहारेको फिदिम–१ का किसान बिर्खबहादुर बुढाथोकीले बताए । ‘बाढीबाट जोगिएका खेतमा धान रोप्दै फेरि उत्पादनको सपना सजाइरहेका छौं,’ उनले भने ।
रोपाइँ छिटो हुनुको कारण मौसमसँग जोडिएको छ । यो वर्ष हिउँदभर पानी परेन । हिउँदे वर्षा नहुँदा जमिन चाँडै तातेकाले बीउ बेलैमा हुर्किएको फिदिम–२ का उपेन्द्र ढुंगानाले बताए । हिउँदभर पानी नपरे पनि चैत लागेपछि भएको वर्षा चैते धानका लागि ‘अमृत’ जस्तै भएको फिदिम–४ की किसान रिता श्रेष्ठले सुनाइन् ।
पाँचथरको फिदिम, कुम्मायक, तुम्बेवा र हिलिहाङका बेंसी क्षेत्रमा मुख्यतः चैते धान खेती हुन्छ । गत वर्ष जिल्लाका विभिन्न स्थानमा २ हजार १ सय ३६ हेक्टर जमिनमा चैते धान लगाइएको थियो । त्यसबाट ९ हजार ६ सय १२ मेट्रिक टन उत्पादन भएको तथ्यांक छ । यस वर्ष भने बाढीपहिरोका कारण उत्पादन घट्ने निश्चितजस्तै देखिएको छ । धेरै खेत बगरमा परिणत भएकाले खेतीयोग्य जमिन घटेको छ ।
जिल्लामा उल्लेख्य परिमाणमा चैते धान उत्पादन भए पनि किसानले पर्याप्त सरकारी सहयोग पाएका छैनन् । उन्नत बीउ, मलको व्यवस्था र रोग–किरा लाग्दा उपचारका लागि प्राविधिक सहयोगको अभाव रहेको फिदिम–११ का किसान देवेन्द्र बुढाथोकीले बताए ।कृषि ज्ञान केन्द्रका सूचना अधिकारी केशरबहादुर मग्रातीले पर्याप्त बजेट र चैतै धान लक्षित कार्यक्रम नहुँदा किसानलाई आवश्यक सहयोग गर्न नसकिएको बताए ।





