स्ववियुले २३ र २४ भदौका घटनामाथिको अनुसन्धान गर्न गठित आयोगले प्रधानमन्त्रीलाई बुझाएको प्रतिवेदन सार्वजनिकका लागि दबाब दिँदै मंगलबार कलेजमा हस्ताक्षर संकलन गरी सडकमा प्रदर्शन गरेको हो ।
काठमाडौँ — त्रिचन्द्र कलेजमा विद्यार्थीहरुले २३ र २४ भदौका घटनासम्बन्धी जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाएको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन गर्नुका साथै हस्ताक्षर संकलन गरेका छन् । स्ववियुले जेन-जी आन्दोलनका घटनामाथिको अनुसन्धान प्रतिवेदन सार्वजनिकका लागि दबाब दिँदै मंगलबार बिहान कलेजमा हस्तक्षार संकलन गरी सडकमा प्रदर्शन गरेको हो । संकलित हस्ताक्षर प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाइने उनीहरुले जनाएका छन् ।
उक्त प्रतिवेदन सार्वजनिक गर्न दबाब दिँदै निरन्तर जेन-जी समूहले प्रदर्शन गरिरहे पनि सरकारले त्यसलाई सार्वजनिक गर्न चासो देखाएको छैन । प्रतिवेदनमा २३ र २४ भदौका घटनासम्बन्धी जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखकसहित उच्चपदस्थमाथि अनुसन्धान गरी कारबाही गर्न सिफारिस गरिएको छ ।आयोगले नेपाल प्रहरीका तत्कालीन महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङ, काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजालमाथि फौजदारी कसुरमा अनुसन्धान गर्न सरकारलाई सिफारिस गरेको थियो । २३ भदौको जेन–जी आन्दोलनमा भएको सरकारी दमन र २४ भदौमा भएको उत्पातको घटनामा ७६ जनाको ज्यान गएको थियो ।कार्की नेतृत्वको आयोगमा नेपाल प्रहरीका पूर्वएआईजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी सदस्य थिए । प्रधानमन्त्री कार्कीले प्रतिवेदन हेरेर पूरै विवरण सार्वजनिक गर्ने कि निष्कर्ष मात्रै बाहिर ल्याउने निर्णय गर्ने बताएकी थिइन् । प्रतिवेदनमा भएका कतिपय विषय आफूहरुको मनोबल गिराउने किसिमको भएको भन्दै प्रहरीले चाहिँ आपत्ति जनाइरहेको छ ।
![Signature collection in Trichandra demanding the public release of the Karki Commission report [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/studentfromtrichandracollectsignatureforkarkiayogreport202603240141-2432026122445-1000x0.jpg&w=1001&h=0)
![Signature collection in Trichandra demanding the public release of the Karki Commission report [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/studentfromtrichandracollectsignatureforkarkiayogreport202603240144-2432026122506-1000x0.jpg&w=1001&h=0)