पाल्पाको सिद्धबाबामा श्रद्धालुको घुइँचो [तस्बिरहरु]

राजमार्गमा सवारी साधनलाई सहज बनाउन सिद्धबाबा सुरुङमार्गको सय मिटर क्षेत्रमा श्रद्धालुको लाइन व्यवस्था, ६० हजारले दर्शन गर्ने मन्दिर व्यवस्थापन समितिको अपेक्षा

फाल्गुन ३, २०८२

माधव अर्याल

पाल्पा — शिवरात्रीको अवसरमा सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३, दोभानस्थित सिद्धबाबा मन्दिरमा आइतबार बिहानैदेखि श्रद्धालु भक्तजनको घुइँचो लागेको छ । यहाँ बिहान ३ बजेदेखि नै मुल मन्दिर खुला गरिएको सिद्धबाबा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सन्तोष शेरचनले बताए ।

सिद्धपुरुष भर्तृहरिको तपोभूमि तथा आदिमानव रामपिथेकसको विचरणस्थलका रुपमा परिचित सिद्धबाबामा शिवरात्रीमा मन्दिर दर्शन गर्न सयौं श्रद्धालु पुग्ने गर्छन् । यो क्षेत्र पुरातात्विक, धार्मिक एवं पर्यटकीय दृष्टिलेसमेत महत्त्वपूर्ण भएकाले श्रद्धालुहरुको घुइँचो लागेको स्थानीय दोभानका विष्णुप्रसाद पाण्डेयले जानकारी दिए ।

भक्तजनले सहज रूपमा सिद्धबाबा मन्दिरमा पूजा तथा दर्शन गर्नसक्ने व्यवस्था मिलाइएको मन्दिर विकास समितिले जनाएको छ । यहाँ पाल्पाका साथै छिमेकी जिल्ला रुपन्देही, नवलपरासी, कपिलवस्तु र छिमेकी मुलुक भारतबाटसमेत श्रद्धालु भक्तजन दर्शनका लागि आउने गरेको मन्दिर विकास समितिका अध्यक्ष शेरचनले बताए । यस क्षेत्रमा शिवको महिमा अपार रहेको र सिद्धबाबाको मूल मन्दिरलाई जिर्णोद्वार गर्ने योजनासहित शिवरात्रीमा भक्तजनलाई आमन्त्रण गरिएकाले घुइँचो लागेको उनले बताए । ‘मन्दिरमा सहज तरिकाले दर्शन गर्ने व्यवस्था मिलाइएको छ,’ अध्यक्ष शेरचनले भने, ‘भीड बढी भएकाले केही असहजताका बीच सहजता मिलाइएको छ ।’

मन्दिरमा दर्शन गर्न आउने भक्तजनहरुको सहजताका लागि टोकन र निःशुल्क बसको व्यवस्थासमेत गरिएको छ । दर्शनका लागि ज्येष्ठ नागरिक, अशक्त, अःसहायहरुले सिधैं दर्शन र मूल मन्दिरमा गएर पूजा गर्न सक्नेगरी व्यवस्थापन गरिएको प्रचार प्रसार समितिका संयोजक तोया लम्सालले बताए । सिद्धबाबा मन्दिरमा दर्शनार्थीहरुको सुरक्षाका लागि २५ जना ट्राफिक व्यवस्थापनहितका सुरक्षाकर्मी, २ सय बढी स्वंयसेवकले सहज तरिकाले व्यवस्थापन मिलाएका छन् । यहाँ १८ वटा सिसी क्यामेराले निगरानी गर्ने व्यवस्था मिलाइएको उनले बताए ।

शिवरात्रीका लागि सिद्धबाबा क्षेत्रमा सरसफाइ, शौचालय, पार्किङ, भण्डारा, खानेपानी र जुत्ताचप्पल राख्ने स्थानको सहज पहुँचको प्रबन्ध मिलाइएको छ । गतवर्षको शिवरात्रीमा ५० हजार बढी भक्तजनले दर्शन गरेका थिए । यसवर्ष ६० हजार बढी भक्तजनको उपस्थिति हुने समितिले जनाएको छ ।

विगतमा भक्तजन २ देखि ३ घण्टासम्म लाइनमा बस्नुपर्ने बाध्यता रहेकोमा यसबर्ष थप व्यवस्था गरिएकाले १ घण्टा भित्रमै दर्शन गर्न सकेका छन् । सिद्धबाबा सुरुङमार्ग टनेलको सय मिटर क्षेत्रसमेत आयोजनासंगको समन्वयमा श्रद्धालु भक्तजनको सहजताका लागि प्रयोग गरिएको प्रचार प्रसार संयोजक लम्सालले बताए ।

मन्दिरमा दर्शन गर्ने भक्तजनका लागि बुटवलका विभिन्न ठाउँबाट दुई वटा निःशुल्क र १० वटा सःशुल्क बस व्यवस्थापन गरिएको छ । सिद्धबाबा आउनका लागि २५ रुपैयाँ भाडादरसमेत तोकिएको छ । सिद्धबाबालाई पश्चिम नेपालको पशुपतिका रुपमा विकास गर्ने गरी मुख्य मन्दिरको जिर्णोद्धार गर्न लागिएको छ ।

पाल्पाको तिनाउ, दोभान बजारबाट सिद्धार्थ राजमार्गको दक्षिणतिर बुटवल नपुग्दै करिब साढे २ किलोमिटरको दूरीमा सिद्धबाबा मन्दिर रहेको छ । सिद्धि प्राप्त गरेको वा साधना तपस्या प्राप्त गरेको साधु, साधक वा बाबाको वासस्थानको रुपमा सिद्धबाबाको नाम रहन गएको जानकार चक्रव्यूह थापाले बताए ।

सिद्धबाबाको मन्दिरलाई शिव वा महादेवको मन्दिरको रुपमा रहेको छ । सिद्धबाबाको हाल रहेको मन्दिरको स्थानमा सारिनुभन्दा पहिले झरना खस्ने स्थानभन्दा केही उत्तरतिर बाटोदेखि केही माथि रहेको उनले बताए ।

आठ दश खुड्किलो सिढी चढेपछि ढुंगाका कुनामा सिद्धबाबाको प्रस्तरको निराकार मूर्तिहरू (शिलाहरू) रहेको थियो भन्ने भनाइ छ । गोरखनाथका शिष्य भर्तृहरिले सोही स्थानमा आएर तपस्या गरेको जनश्रुति रहेको छ । सिद्धार्थ राजमार्ग खुले पश्चात हालको स्थानमा सिद्धबाबाको मन्दिर सारिएको हो । मूलतः सिद्धार्थ लोकमार्गबाट हिँड्ने यात्रीहरुको आस्था र विश्वासबाट सुरु भएको यो मन्दिर अहिले लुम्बिनी प्रदेशकै पवित्र धार्मिक स्थलको रुपमा स्थापित रहेको छ ।

महाशिवरात्री पर्वका अवसरमा नेपालकै सबै भन्दा अग्लो महामृत्युन्जय शिवमूर्ति बगनासकाली–८, बराङ्दीमा पुजाआजा र दर्शन गर्न पाल्पाका साथै छिमेकी जिल्ला स्याङ्जा, रुपन्देही, गुल्मी, नवलपरासी, कपिलवस्तुबाट समेत भक्तजनहरुको घुँइचो लागेको छ । पाल्पाकै तानसेनको ठुटेपिपल शिवालय, बतासेडाँडा, प्रभास, अमरनारायण मन्दिर, दमकडा, रामपुर लगायतका स्थानमा रहेका शिवालय मन्दिरहरुमा बिहानैदेखि पूजा आजा गर्नेको भिड लागेको छ ।

माधव अर्याल अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully