पशुपति क्षेत्र विकास कोषले पशुपति मन्दिर परिसरमा सरसफाइ र रङरोगनसमेत गरिरहेको छ ।
काठमाडौँ — पशुपतिनाथको विशेष पर्व महाशिवरात्रिलाई लक्षित गर्दै पशुपति क्षेत्रको सरसफाइ, व्यवस्थापन र पूर्वतयारीका काम तीव्र पारिएको छ । यसैक्रममा सामाजिक संस्था क्रियसन नेपालले बुधबार पशुपतिनाथ मन्दिर परिसर तथा आसपासका क्षेत्रमा बृहत् सरसफाइ अभियान सञ्चालन गरेको छ ।
क्रियसन नेपालको आयोजनामा सम्पन्न उक्त अभियानमा संस्थाका स्वयंसेवक, स्थानीयवासी, सफाइकर्मी तथा पशुपति क्षेत्र विकास कोषका प्रतिनिधिको सहभागिता रहेको थियो । अभियानअन्तर्गत मन्दिर परिसर, आर्यघाट, कैलाश डाँडा क्षेत्र आसपास तथा साधु–सन्त बस्ने स्थानमा विशेष सफाइ गरिएको थियो । साथै फोहर संकलनलाई व्यवस्थित बनाउन विभिन्न स्थानमा डस्टबिन वितरण गरिएको छ भने सरसफाइमा खटिने सफाइकर्मीलाई पहिचानयुक्त ज्याकेटसमेत प्रदान गरिएको छ । पशुपति क्षेत्र विकास कोषले पशुपति मन्दिर परिसरमा सरसफाइ र रङरोगनसमेत गरिरहेको छ । क्रियसन नेपाल विगत केही वर्षदेखि कोषसँग सहकार्य गर्दै सरसफाइ अभियानमा सक्रिय रूपमा संलग्न हुँदै आएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक एवं प्रवक्ता सुभाषचन्द्र जोशीले जानकारी दिए ।
यस वर्षको महाशिवरात्रि पर्वलाई व्यवस्थित, मर्यादित र भव्य रूपमा सम्पन्न गर्न मूल समारोह समितिअन्तर्गत नौवटा विषयगत उपसमिति गठन गरी तयारी अघि बढाइएको कोषले जनाएको छ । व्यवस्थापन, सुरक्षा, स्वास्थ्य सेवा, सरसफाइ, यातायात, स्वयंसेवक परिचालन, आवास व्यवस्था, प्रचार–प्रसार तथा समन्वय जस्ता क्षेत्रमा उपसमिति सक्रिय रूपमा खटिएका प्रवक्ता जोशीले बताए ।महाशिवरात्रिका दिन लाखौँ भक्तजन पशुपतिनाथ दर्शनका लागि आउने अनुमान कोषले गरेको छ । स्वदेशका विभिन्न जिल्लाका साथै छिमेकी मुलुक भारतबाट समेत श्रद्धालु आउने भएकाले भीड व्यवस्थापनलाई विशेष प्राथमिकता दिइएको जनाइएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्वयंसेवकको परिचालनमार्फत सुरक्षा व्यवस्थालाई कडाइका साथ लागू गरिने कोषले जनाएको छ । आपतकालीन उद्धार, प्राथमिक उपचार तथा स्वास्थ्य सेवा उपलब्ध गराउन अस्थायी स्वास्थ्य शिविर सञ्चालन गर्ने तयारी पनि भइरहेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का अध्यक्ष अनिलकुमार सिन्हाको अध्यक्षतामा महाशिवरात्रि २०८२ को तयारीका लागि १७१ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ । समितिले पर्वको धार्मिक, सांस्कृतिक तथा व्यवस्थापकीय पक्षलाई समन्वय गर्दै सफलतापूर्वक सम्पन्न गर्ने लक्ष्य लिएको छ । महाशिवरात्रि पर्व नजिकिँदै जाँदा पशुपतिनाथ क्षेत्रमा साधु–सन्तहरूको आगमन उल्लेख्य रूपमा बढेको छ । भारतका विभिन्न अखडा तथा सम्प्रदायका साधु–सन्तसमेत पशुपति क्षेत्रमा आइपुगी आ–आफ्ना धुनी स्थापना गर्न थालेका छन् ।
पशुपति क्षेत्रका वनकाली, मृगस्थली, राममन्दिर क्षेत्रलगायत स्थानमा साधु–सन्तहरू ध्यान, तपस्या तथा साधनामा तल्लीन देखिन्छन् । यसले पशुपति क्षेत्रलाई थप आध्यात्मिक र धार्मिक वातावरणले ओतप्रोत बनाएको छ । कोषका अनुसार यस वर्षको महाशिवरात्रि फागुन ३ गते परेको छ । हिन्दू धर्मावलम्बीहरूको महत्त्वपूर्ण पर्वका रूपमा मनाइने यस दिन भगवान् शिवको पूजा–आराधना, रुद्राभिषेक, दीपप्रज्वलन तथा रातभर जाग्राम बस्ने परम्परा रहेको छ । पशुपतिनाथमा विशेष पूजाअर्चना, भजन–कीर्तन तथा धार्मिक कार्यक्रम सञ्चालन गरिने तयारी गरिएको छ ।महाशिवरात्रिलाई स्वच्छ, सुरक्षित र अनुशासित रूपमा सम्पन्न गर्न कोष, नेपाल सरकार तथा सम्बन्धित निकायबीच समन्वयलाई तीव्र बनाइएको छ । सरसफाइ अभियानलाई निरन्तरता दिँदै वातावरणीय स्वच्छता कायम राख्न सर्वसाधारणलाई पनि सचेत र जिम्मेवार बन्न आग्रह गरिएको छ । पर्वलाई भव्य र सफल बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको जनाउँदै कोषले श्रद्धालुलाई निर्धारित मार्ग, समय र सुरक्षा निर्देशिकाको पालना गर्न अनुरोध गरेको छ । महाशिवरात्रिको तयारीसँगै पशुपति क्षेत्र यतिबेला धार्मिक उत्साह, आध्यात्मिक ऊर्जा र चहलपहलले भरिएको देखिन्छ ।




