यो पटक जिल्लाभर हिउँ परेकोले किसानलाई बाली सप्रने आशा लागेको छ ।
जुम्ला — जुम्लामा तीन वर्षपछि हिमपात हुँदा किसान उत्साहित भएका छन्। पछिल्लो समय लेकाली क्षेत्रमा सामान्य हिमपात भए पनि तल्लो क्षेत्रमा सामान्य बर्षा भइरहेको हुन्थ्यो । तर यो पटक जिल्लाभर हिउँ परेकोले किसानलाई बाली सप्रने आशा लागेको छ ।
शनिबार बिहानदेखि परेको हिउँ दिउँसोसम्म पनि रोकिएकाे छैन। चिसोले भने जनजीवन प्रभावित बनेको छ। पशुबस्तुलाई किसानले गोठमै राखेर घास पानी दिइरहेका छन्। सदरमुकामतिर झण्डै आधा फिट र लेकाली क्षेत्रमा एक फिटसम्म हिउँ जमेको स्थानीयले बताएका छन् ।
कर्णाली राजमार्गलगायत अन्य सडकमा सवारी साधन गुड्न सकेका छैनन् । हिमपातले हवाईसेवा समेत प्रभावित बनेको छ । तर हिउँदेबालीको रुपमा रहेको जौं, गहुँ खेती सप्रने किसानहरुको भनाइ छ ।
सिंजा २ का गोपाल रोकायाले यो पटक हिउँदेबाली सप्रने भन्दै खुसी छन् । उनले भने, ‘कहिले खडेरी त कहिले असिनापानीले आजित जुम्लाबासी यो पटकको हिमपातले उत्साहित छन् । मंसिर/पुसमै हिउँ पर्नुपर्ने हो तर माघ महिनामा हिउँ परे पनि किसानलाई फाइदा नै छ । भर्खर व्यवस्थापन गरिएको बगैंचामा चिस्यान थपेको छ । सिँचाइ व्यवस्थापन भएको छ ।'
यही मौकामा किसानले मलखादको उचित व्यवस्थापन गर्नसकेमा यो पटक जुम्ली किसानहरुले चिन्ता मान्नुपर्ने देखिँदैन। जिल्लाको आठै वटा स्थानीय तहका ६० वडामै हिमपात भइरहेको छ। जिल्ला प्रशासन कार्यालयले भारी हिमपात भइरहेकोले उच्च सतकर्ता अपनाउनको लागि हार्दिक अपिल गरेको छ । स्याउमा कालो तुसारो नलाग्नेदेखि रोकिराको संक्रमण अत्यन्तै कम हुने कृषि विज्ञहरुले बताएका छन्।



