परापूर्वकालदेखिको चलन तारा हान्ने खेलमा स्थानीय मगर समुदायका महिला तथा पुरुषहरु सहभागी हुने गर्दछन् ।
काठमाडौँ — माघी पर्वको अवसरमा रोल्पाको थबाङ गाउँपालिका-२ थबाङगाउँमा बिहीबार तारा हान्ने प्रतियोगिता भएको छ । विगतका वर्षजस्तै माघी मेला मनाउँदै स्थानीयहरुले तारा हान्ने खेल खेलेका हुन् । परापूर्वकालदेखिको चलन तारा हान्ने खेलमा स्थानीय मगर समुदायका महिला तथा पुरुषहरु सहभागी हुने गर्दछन् । यसमा विजेतालाई पुरस्कारको समेत व्यवस्था गरिएको हुन्छ । माघीलाई मगर समुदायले प्रमुख चाडका रुपमा मनाउने गर्छन् ।
तारो हान्ने खेल खासगरी मगर, छन्त्याल र थकालीलगायतका आदिवासी जनजाति समुदायका युवा बढी आकर्षित छन् । रबर टाँसिएको काठको मुढामा अघिल्लो भागमा सेतो, कालो, नीलो र रातो रङको रेखा हुन्छ, यसको बीच भागमा अत्यन्तै सानो स्टिल प्लेट राखिएको हुन्छ । त्यही मुढामा रहेको स्टिलको प्लेटलाई छेड्नका लागि आयोजकले निर्धारित गरेको दूरीदेखि बाणको सहायताले तारालाई बारम्बार हान्ने काम नै तारो हान्ने खेल हो । पाकाहरुका अनुसार यो खेल सिकार खेलसँग सम्बन्धित रहेको छ । पुर्खाहरूले जङ्गलमा वन्यजन्तुलाई निशाना बनाएर सिकार गरेर मासु खाने गरेको र पछि गएर त्यसबाटै तारा खेलको विकास भएको बताइएको छ ।
![Shooting Star Game in Thabangaun [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/ttt-1512026042645-1000x0.jpg&w=1001&h=0)
![Shooting Star Game in Thabangaun [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/rolpamaghitarohanne20260115j2a1871-1512026042637-1000x0.jpg&w=1001&h=0)