४० वर्षकी पुनमकलीले उपाधि जितेको घोषणालगत्तै माहुते महबुब धुनियाले उसलाई दर्शकहरूको दर्शन गराउँदै क्याटवाकमा परिक्रमा गराएका थिए ।
सौराहा (चितवन) — शरीरमा आकर्षक फूल बुट्टा । पिठ्युँमा नेपालको झन्डासहितको रातो कपडा । खुट्टामा रातो रिबन । टाउकोमा नेपालको झन्डासहितको फूल र घाँटीमा पहेँलो फूल पहिरिएकी हात्ती हुन् पुनमकली । ल्यान्डमार्क होटेल पोखराको प्रतिनिधित्व गर्दै हात्ती सुन्दरी प्रतियोगितामा सहभागी भएकी पुनमकली शनिबार चितवन हात्ती तथा पर्यटन महोत्सवमा उपस्थित हजारौं दर्शकहरूको आकर्षणको केन्द्र बनिन् । उनै पुनमकली यस वर्षको हात्ती सुन्दरी प्रतियोगिताको उपाधि जित्न सफल भइन् ।
गत वर्ष प्रतियोगितामा भाग लिएर दोस्रो भएकी ४० वर्षकी पुनमकली यस वर्ष अन्य ४ हात्तीलाई पछि पार्दै उपाधि जित्न सफल भइन् । उपाधि जितेको घोषणा लगत्तै माहुते महबुब धुनियाले पुनमकलीलाई दर्शकहरूको दर्शन गराउँदै क्याटवाकमा परिक्रमा गराए ।
हात्ती सुन्दरी छान्न नगेन्द्र चापागाईँ, डा.अमिर सडौला र सरस्वती पौडेल निर्णायकको भूमिका निर्वाह गरे । उनीहरूले हात्ती माहुतेलाई गरेको प्रश्नको आधारमा हात्तीले गर्ने व्यवहारलाई हेरेर पुनमकलीलाई उपाधि दिलाए । ‘पुनमकलीमा हामीले राखेको मापदण्ड लगभग सबै पूरा गरेको थियो, उनको श्रृंगार पनि आकर्षक भएकाले प्रथम हुने हकदार भयो’–निर्णायक चापागाईँले भने । उनले प्रतियोगितामा हात्तीले देखाएको व्यवहार अरुबेलामा पनि लागू गर्ने भएकाले प्रतियोगिता महत्त्वपूर्ण रहेको बताए ।
प्रतियोगितामा गौतम होटल बर्दिबासको सेल्फिकली दोस्रो र हेरिटेज टुर्स एन्ड ट्राभलको चम्पाकली तेस्रो स्थान हासिल गरिन् । पूजाकली र सम्वृद्धिकली क्रमशः चौथो र पाँचौं स्थान हासिल गरे । विजेताहरूलाई समापन समारोहमा क्रमशः १५ हजार, १० हजार र ५ हजार रुपैयाँ प्रदान गरिने हात्ती प्रतियोगिता संयोजक विनोद तिमिल्सिनाले जानकारी दिए ।
महोत्सव अन्तरगत शनिबार नै हात्तीको स्वास्थ्य शिविरसमेत गरिएको छ । शिविरमा हात्तीलाई जुका र पाचन शक्ति बढाउने औषधि खुवाइएको थियो भने नङ सफा र मिलाउने काम गरिएको थियो ।
त्यस्तै, महोत्सव अन्तर्गत शनिबार नै डुंगा दौड प्रतियोगिता सम्पन्न भएको छ । डुंगा दौडमा आइत तामाङले चलाएको कुमरोज मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको डुंगा प्रथम भयो भने राहुल चौधरीले चलाएको रत्ननगर नगरपालिकाको डुंगा द्वितीय र सन्तोष बोटेले चलाएको बाघमारा मध्यवर्ती सामुदायिक वनको डुंगाले तृतीय स्थान हासिल गर्यो । डुंगा दौडमा ६ वटा डुंगाको सहभागिता थियो ।
त्यस्तै, फुटबलको पेनाल्टी सुट अन्तर्गत शनिबार पनि दुई चरणको खेल सम्पन्न भएका छन् । फाइनल प्रतिस्पर्धा गर्नुअघि सौराहा जिप तथा डुंगा सेन्टरको मारुतीकली पहिलो स्थानमा रहेको छ भने युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाको चम्पाकली दोस्रो र कसरा पर्यटन व्यवसायी समितिको लक्ष्मीकली तेस्रो स्थानमा रहेको छ । आइतबार हुने फाइनल चरणको प्रतिस्पर्धापछि विजेता टुंगो लाग्ने छ ।
क्षेत्रीय होटल संघ नेपाल चितवन सौराहाको आयोजना तथा युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाको सह–आयोजनामा बाघमारा मध्यवर्ती सामुदायिक वनको चौरमा जारी १९औं चितवन हात्ती तथा पर्यटन महोत्सवको आइतबार अन्तिम दिन हात्तीको वनभोजसँगै फुटबलको पेनाल्टी सुटआउटको फाइनल प्रतिस्पर्धा हुने क्षेत्रीय होटल संघ सौराहाका महासचिव महेश खनालले जानकारी दिए । महोत्सवमा ८० वटा हात्तीलाई सहभागी गराइएको छ ।
![Poonamkali wins the title of Elephant Beauty [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/img9237-27122025042350-1000x0.jpg&w=1001&h=0)
![Poonamkali wins the title of Elephant Beauty [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/img9286-27122025042413-1000x0.jpg&w=1001&h=0)
![Poonamkali wins the title of Elephant Beauty [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/img9263-27122025042357-1000x0.jpg&w=1001&h=0)
![Poonamkali wins the title of Elephant Beauty [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/img9245-27122025042353-1000x0.jpg&w=1001&h=0)
![Poonamkali wins the title of Elephant Beauty [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/img9226-27122025042346-1000x0.jpg&w=1001&h=0)
![Poonamkali wins the title of Elephant Beauty [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/img9359-27122025042450-1000x0.jpg&w=1001&h=0)
![Poonamkali wins the title of Elephant Beauty [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/img9357-27122025042446-1000x0.jpg&w=1001&h=0)
![Poonamkali wins the title of Elephant Beauty [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/img9279-27122025042409-1000x0.jpg&w=1001&h=0)