जब सूर्यमतीका आँखाबाट हर्षका आँसु बगे [तस्बिरहरू]

पाँच वर्षदेखि मोतियाविन्दुले गर्दा दृष्टिविहीन भएकी सूर्यमती आँखा शिविर चलेको छ भन्ने सुनेर १३ किलोमिटर अटो रिक्सा चढेर सन्दहवा गाउँबाट लुम्बिनीको मायादेवी मन्दिर परिसर आइपुगेकी थिइन् । २० मिनेट लगाएर डा. सन्दुक र उनको टिमले सूर्यमतीको आँखाको शल्यक्रिया गर्‍यो । सुस्तरी आँखा खोलेपछि त्यहाँ खुसीको माहोल छायो ।

पुस २, २०८२

अंगद ढकाल

When tears of joy flowed from Suryamati's eyes [Photos]

काठमाडौँ — मायादेवी मन्दिर बिहानी कुहिरोले हल्का धुमिलिएको थियो । ५० वर्षीया सूर्यमती कोहार वरिष्ठ नेत्ररोग विशेषज्ञ सन्दुक रुइतको अघिल्तिर चुपचाप बसिरहेकी थिइन् । घामको झुल्को सूर्यमतीको टाउकोमाथि आइपुग्ने बेलामा रुइतले भने, ‘अब सुस्तरी आँखा खोल्नुस् त ?’ सूर्यमतीले त्यसपछि जे देखिन्, त्यसले उनको अनुहार खुसीले धपक्कै बलेको थियो । उनले डाक्टर रुइतलाई अँगालो हालिन् । रुइत पनि मुसुक्क मुस्काए ।

When tears of joy flowed from Suryamati's eyes [Photos]

पाँच वर्षदेखि मोतियाविन्दुले गर्दा दृष्टिविहीन भएकी सूर्यमती आँखा शिविर चलेको छ भन्ने सुनेर १३ किलोमिटर अटो रिक्सा चढेर सन्दहवा गाउँबाट लुम्बिनीको मायादेवी मन्दिर परिसर आइपुगेकी थिइन् । २० मिनेट लगाएर डा. सन्दुक र उनको टिमले सूर्यमतीको आँखाको शल्यक्रिया गर्‍यो । सुस्तरी आँखा खोलेपछि त्यहाँ खुसीको माहोल छायो ।यो सबै दृश्य हेरिरहेका सूर्यमतीकी छोरी शशिकला र भतिजी इन्दु दुवैका आँखा रसाए । त्यहाँ अनोठौ मौनता थियो । तर सबैको अनुहारमा अनोठौ खुसी छचल्किरहेको थियो । सूर्यमतीले खुसीले भरिएको स्वरमा अनुहार उज्यालो पार्दै भनिन्, ‘मैले अन्तिम पटक देख्दा तिमीहरू यति साना थियौ । कति ठूलो भइसकेछौ ।’ सूर्यमतीले त्यो भनिरहँदा छोरी इन्दु र भतिजी शशिकलाले खुसीका आँसु रोक्न सकेनन् । कुहिरोले ढाकेको मायादेवीको मन्दिर यो भावुक क्षणको साक्षी बन्यो ।

मोतियाविन्दुले ढाकेका सूर्यमतीका आँखा ।
मोतियाविन्दुले ढाकेका सूर्यमतीका आँखा ।

सूर्यमतीले पछिल्ला पाँच वर्ष पूरै अन्धकारमा बिताइन् । छामछाम छुमछुम गर्दै हिँड्नुपर्ने, घरबाहिर कतै जानुपरे अरूको सहारामा खोज्नुपर्ने अनि उज्यालो र खुसीका सबै खबरहरू थाहा पाएर पनि अनुभूतिशून्य भएर बाँच्नुपर्ने कहर उनका निम्ति कहिल्यै भुल्न नसक्ने दुःखहरू थिए । तर त्यो बिहानपछि उनको जीवनमा सबै खुसी फर्किएजस्तो भयो । उनले छोराको विवाहको खुसी, नातिनातिना हुँदाको खुसी र छोरी अनि भतिजा–भतिजीहरू हुर्कंदाका प्रत्येक क्षण देख्न नपाएकोमा थकथकी सुनाइन् ।पाँच वर्षअघि सूर्यमतीका आँखा बिस्तारै धमिलो हुँदै गएको थियो । तर उनले सञ्चो भइहाल्छ नि भनेर पर्खिंदै गइन् । मधुमेह रोगसँग जुधिरहेकी सूर्यमतीलाई लिएर उनका पति रक्षाराम बुटवल, भैरहवाका केही अस्पतालमा नगएका पनि होइनन् । तर मधुमेह भएकाले तत्काल शल्यक्रिया सम्भव भएन ।

अपरेसनका लागि तयार सूर्यमती।
अपरेसनका लागि तयार सूर्यमती।

उनले सुनाए, ‘यतिका वर्षसम्म श्रीमतीको आँखाको उपचार किन नगराएको भनेर सबैले सोध्छन् । तर मैले सम्भव भएसम्म गरेकै हो । २०/२५ हजार खर्च पनि भयो तर सम्भव भएन ।’गरिबीसँग जुधिरहेका रक्षाराम साइकल मर्मत पसल चलाएर गुजारा गरिरहेका छन् । दुई छोरी र दुई छोरा हुर्काउने दायित्व यही कमाइका भरमा उनले धान्दै आएका थिए । कमाउन दुई छोराहरू खाडी पसे पनि उनीहरूले रक्षारामलाई दुःखबाट बाहिर निकाल्ने गरी कमाइ गरिसकेका छैनन् ।सूर्यमतीको आँखाको ज्योति फर्केपछि हामी उनीसँगै उनको घर पुग्यौं । जस्ताले छाएको र टाटीले बेरेको घरमा हामी पुग्दा विद्युत् प्राधिकरणका कर्मचारीहरू बिजुलीको पैसा नतिरेको भन्दै बिजुलीको लाइन काटेर फर्कंदै थिए । संयोग पनि कस्तो, सूर्यमतीको आँखाको ज्योति फर्केकै दिन उनको घरको बिजुली निभ्यो । एक वर्षदेखि बिजुलीको बिल नतिरेपछि शुल्क जरिवानासहित १४ हजार भइसकेको रहेछ । अनि प्राधिकरणका कर्मचारीहरूले लाइन काटेका रहेछन् ।

सूर्यमतीका आँखाको मोतियाविन्दुको अपरेसन हुँदै।
सूर्यमतीका आँखाको मोतियाविन्दुको अपरेसन हुँदै।

श्रीमतीले आँखा देख्ने खबरले रक्षाराम पनि पुलकित थिए । भित्ता समातेर, अरूको सहारामा हिँड्ने श्रीमती अब आफैं हिँड्न सक्छे भन्ने कुराले उनी औधी खुसी देखिन्थे । उनले खुसी व्यक्त गर्दै डाक्टरको टोलीसहित सबैलाई धन्यवाद दिए ।सूर्यमतीकै हेरचाहका लागि छोरी शशिकला र भतिजी इन्दुले स्कुल नै छोड्नुपरेको रहेछ । सूर्यमतीले भावुक हुँदै भनिन्, ‘मेरै कारण छोरीहरूले पढाइ छोड्नुपर्‍यो । अब म ठीक भएँ । छोरीहरूलाई फेरि स्कुल पठाउँछु ।’

सूर्यमतीका आँखामा लेन्स लगाउँदै ।
सूर्यमतीका आँखामा लेन्स लगाउँदै ।

आँखा देख्न छाडेपछि समाजले हेर्ने दृष्टिकोण फरक भएको तीतो अनुभव पनि उनले सुनाइन् । भनिन्, ‘पहिले जस्तो व्यवहार गर्दैनथे । समाजले पनि हेप्थ्यो ।’ उनले बितेको ५ वर्ष सम्झिन पनि नचाहेको र त्यसलाई एउटा डरलाग्दो सपनाका रूपमा बिर्सन खोजेको बताइन् ।मंसिर १९ देखि २३ गतेसम्म तिलगंगा आँखा प्रतिष्ठानले लुम्बिनीस्थित रोयल थाई मोनास्ट्रीसँगको सहकार्यमा पाँचदिने निःशुल्क आँखा शिविर आयोजना गरेको थियो । डाक्टर सन्दुक र थाइल्यान्डबाट आएको टोलीले गरेको यो शिविरमा सूर्यमतीजस्ता १ हजार २ सय ५१ जनाको आँखाको शल्यक्रिया गरिएको थियो ।

आँखाको अपरेसनपछि पहिलोपटक आँखा खोल्दै सूर्यमती।
आँखाको अपरेसनपछि पहिलोपटक आँखा खोल्दै सूर्यमती।
आँखाको अपरेसनपछि पहिलोपटक आँखा खोल्दै सूर्यमती।
आँखाको अपरेसनपछि पहिलोपटक आँखा खोल्दै सूर्यमती।
आँखा देख्न थालेपछि डा.सन्दुक रुइतलाई अँगाल्दै सूर्यमती।
आँखा देख्न थालेपछि डा.सन्दुक रुइतलाई अँगाल्दै सूर्यमती।
आँखा देख्न थालेपछि भतिजी इन्दुलाई हेर्दै सूर्यमती।
आँखा देख्न थालेपछि भतिजी इन्दुलाई हेर्दै सूर्यमती।
आँखा देख्न थालेपछि छोरी र भतिजीसँग।
आँखा देख्न थालेपछि छोरी र भतिजीसँग।
अपरेसनपछि श्रीमान्‌सँग भावुक बनिन् सूर्यमती।
अपरेसनपछि श्रीमान्‌सँग भावुक बनिन् सूर्यमती।
अपरेसनपछि श्रीमान्‌सँग भावुक बनिन् सूर्यमती।
अपरेसनपछि श्रीमान्‌सँग भावुक बनिन् सूर्यमती।
When tears of joy flowed from Suryamati's eyes [Photos]
सूर्यमती र उनका श्रीमान् रक्षाराम
सूर्यमती र उनका श्रीमान् रक्षाराम
When tears of joy flowed from Suryamati's eyes [Photos]

अंगद ढकाल विगत एक दशकदेखि फोटोपत्रकारका रुपमा कार्यरत छन् । उनी हाल कान्तिपुर दैनिकसँग आवद्ध छन् ।

Link copied successfully