गुरुङ समुदायमा भेडा पाल्ने र भेडी गोठमा बस्ने एउटा पुरानो संस्कार बसेको छ । जिजुबाजेले पाल्दै आएको यो परम्परागत शैलीको भेडापालन गाउँका कतिपयले अहिले पनि छोडेका छैनन् ।
लमजुङ — बर्खायाममा लमजुङ र अन्नपूर्ण हिमालका काखमा पुग्ने घुम्ती भेडीगोठहरु अहिले लमजुङका गाउँघर नजिकै झारिएका छन् । हिमालको काखमा अत्यधिक चिसो हुने भएपछि भेडालाई न्यानो ठाउँमा सारिएको हो ।
यद्यपि हिजोआज गाउँघरमा पनि जाडो बढेको छ । यो समय किसानले लगाएको धान र कोदो घर भित्र्याइसकिएको छ । ती खेतमा फागुन चैतबाट मकै खेती गरिन्छ । त्यसअघि मलको रूपमा पनि कतिपय ठाउँमा मलका लागि भेडी गोठ लाने गरिन्छ । गुरुङ समुदायमा भेडा पाल्ने र भेडी गोठमा बस्ने एउटा पुरानो संस्कार बसेको छ । जिजुबाजेले पाल्दै आएको यो परम्परागत शैलीको भेडापालन गाउँका कतिपयले छोडेका छैनन् । क्व्होलासोथार गाउँपालिका ३, घलेगाउँका गंगाबहादुर गुरुङ १९ वर्षको हुँदा आफ्नो बुवाको निधनपछि भेडी गोठमा बसे । ६१ वर्षका उनी अहिले पनि भेडा स्याहार्छन् । उमेरले आराम गर्ने र परिवारका सदस्यलाई खटनपटन गर्ने बेला भए पनि उनी एक छिन खाली बस्दैनन् । भेडा चराउने, पाठापाठीलाई भकारीको कोराभित्र राखेर थुन्दैमा उनको दिनमा जान्छ ।
भेडी गोठमा ६९ वर्षीय बबिध्वज गुरुङ र उनका छोरा ४२ वर्षीय मनप्रसाद गुरुङ पनि बस्छन् । बबिध्वज गंगाबहादुरका दाइ हुन् । गोठबाटमात्रै वर्षमा २५ देखि ३० वटा हाराहारी साँढ, बोका र खसी विक्री हुन्छ । भेडाको साँढ एउटाकै ३५ हजारदेखि ४० हजार रुपैयाँसम्म पर्छ । घलेगाउँमा मात्रै ३ वटा भेडी गोठ छन् । उनीहरूको गोठमा करिब ६ सयको हाराहारीमा भेडाबाख्रा थियो । गत वर्ष रोगाएर २ सय १६ वटा भेडाबाख्रा मरे । अहिले बचेको करिब ३ सय ५० को हाराहारीमा भेडाबाख्रा छन् ।भेडीगोठहरु भकारीले बारेर भकारीकै छानो राखेर अस्थायी रूपमा बनाइएका छन् । कतिपय भेडीगोठहरु एकारितमात्रै बारिएका छन् । गोठको बीच भागमा अगेना बनाइएको छ । वरपर उन्युका सोत्तर विछ्याइएका छन् । त्यही सोत्तरमाथि बख्खु बिछ्याएर अर्को बख्खु ओढ्दै भेडी गोठालाहरु रात काट्छन् ।
![Sheepfold in the Valley [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/bhedi-gothlamjung-3-13122025080051-1000x0.jpg&w=1001&h=0)
![Sheepfold in the Valley [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/bhedi-gothlamjung-14-13122025080119-1000x0.jpg&w=1001&h=0)
![Sheepfold in the Valley [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/bhedi-gothlamjung-11-13122025080115-1000x0.jpg&w=1001&h=0)