बजार क्षेत्रका ९.५ किलोमिटरभित्र करिब ५३१ संरचना भत्काउनुपर्नेछ। यी संरचना रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुल तथा बुद्धचोकदेखि सामरी पुलसम्म पर्ने क्षेत्रका हुन्। यस मध्ये सडकको केन्द्रबिन्दुदेखि दायाँतर्फ २३४ र बायाँतर्फ २९७ संरचना रहेका छन्।
हेटौँडा — लामो विवाद र कानुनी उल्झनपछि हेटौँडा बजार क्षेत्रको मुख्य सडक अतिक्रमण गरी दायाँ–बायाँ बनाइएका स्थायी तथा अस्थायी संरचनाहरू शनिवार बिहानदेखि भत्काउन सुरु गरिएको छ। डिभिजन सडक कार्यालयले हेटौँडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँको पसल रहेको भवन भत्काउँदै सडक किनारका संरचना हटाउने कार्य सुरु गरेको हो।
बिहान साढे ५ बजेदेखि नै हेटौँडा बजारको बुद्धचोक क्षेत्रबाट डोजर परिचालन गरी सडक अतिक्रमण गरेर बनाइएका संरचनाहरू हटाउने काम सुरु भएको हो। व्यापक सुरक्षा व्यवस्था सहित करिब आधा दर्जन डोजर प्रयोग गरेर अतिक्रमित भवनहरू भत्काउने कार्य जारी रहेको छ। मुख्य बजार क्षेत्रको सडक अतिक्रमण गरी बनाइएका स्थायी/अस्थायी संरचनाहरू डिभिजन सडक कार्यालयले चरणबद्ध रूपमा हटाइरहेको प्रजिअ बसन्त अधिकारीले बताए। उनका अनुसार हेटौँडाको राप्ती रोड तथा बुद्धचोक क्षेत्रमा संरचना भत्काउने काम भइरहेका छन्।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) बसन्त अधिकारीले हेटौँडा बजार क्षेत्रको सडक विस्तार रोक्ने कुनै आदेश सर्वोच्च अदालतबाट नआएकोले काम रोकिने अवस्था नरहेको स्पष्ट पारे। सडक डिभिजन हेटौंडाले यसअघि मंसिर ५ गते सडक सीमा क्षेत्र खाली गर्न १५ दिने म्यादसहित सूचना जारी गरेको थियो। सो म्यादअनुसार मंसिर १९ गतेसम्म कार्यालयलाई कुनै पनि निकायबाट काम रोक्न निर्देशन नआएपछि शनिबारदेखि सडक विस्तार कार्य निरन्तर अघि बढाउने निर्णय गरिएको हो।
![Dozers run over houses and shacks built encroaching on roads in Hetauda [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/1000019427-06122025030943-1000x0.jpg&w=1001&h=0)
![Dozers run over houses and shacks built encroaching on roads in Hetauda [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/1000019420-06122025030956-1000x0.jpg&w=1001&h=0)
![Dozers run over houses and shacks built encroaching on roads in Hetauda [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/1000019417-06122025030952-1000x0.jpg&w=1001&h=0)