नेपालभरको हिमालको ६१ वर्षे लामो आरोहण इतिहास भए पनि काठमाडौँबाट नजिक रहेका जिल्लाका अनेकौँ हिमशृङ्खलाहरू र दर्जनौँ पिक अहिले आएर धमाधम आरोहण गरिएका छन्।
सिन्धुपाल्चोक — सरकारले सिन्धुका मनमोहक हिमश्रृंखलाको आरोहण खुलाए यता यस क्षेत्रमा आरोही र पर्यटक आकर्षित भएका छन्। स्वच्छ मौसमको आनन्द लिने र आरोहणको लक्ष्य बोकेर आन्तरिक तथा बाह्य पर्यटक हिम क्षेत्र घुम्न आउने क्रम बढिरहेको छ।
गत शनिवार बिहान ११ बजे स्कटल्याण्डका विख्यात पर्वतारोही तथा लेखक लिओ हाउल्डिको नेतृत्वमा दुई पर्वतारोहीले जिल्लाको जुगल गाउँपालिका शिरस्थित जुगल हिमश्रृंखलाको ११ चुचुरामध्ये एक चुचुरो ग्याल्जेन पिक सफलतापूर्वक आरोहण गरे। यसअघि गत आइतबार बिहान यूकेका जेम्स पिटर विलियम्स पेरियरसहित पाँच सदस्यीय टोलीले ५,९२२ मिटर उचाइको जुगल–५ हिमाल सफलतापूर्वक चढे। सिन्धु सुकुटे पर्यटन व्यवसायी संघका अध्यक्ष महेन्द्रसिं थापाकाअनुसार लिओको टोलीले ६,१५१ मिटर उचाइको ग्ल्याजेन पिक (फुर्पा ज्यो ज्यो पिक) चढेका थिए।उता, युकेका ९ र बेल्जियमका २ सहित ११ विदेशी पर्यटक लिएर यही (कात्तिक ७ देखि २०) १३ दिन आधार शिविर पुगेर आएका टिम लिडर तथा आरोहणकर्ता सोनाम लामाले मनमोहक हिमालका कारण पर्यटक तानिने क्रम बढेको जानकारी दिए। ”मन भुलाउने पाँचपोखरी, हेलम्बु र जुगलका हिमालहरूले बाह्य र आन्तरिक पर्यटक लोभिइरहेका छन्,” उनले भने। जुगल हिमश्रृंखलामा ११ वटा प्रमुख चुचुरा छन्। तीमध्ये जुगल–४ र जुगल–५ आरोहण गर्ने उद्देश्यका साथ सात अन्तर्राष्ट्रिय पर्वतारोही हाल क्षेत्रमै पुगेका थिए।जुगल गाउँपालिका पर्यटन समितिका अध्यक्ष मिलन तामाङका अनुसार गाउँपालिकाले आरोहण टोलीलाई आवश्यक सहयोग उपलब्ध गराइरहेको छ। सफलताले जुगल क्षेत्रलाई साहसिक पर्यटनका लागि आकर्षक गन्तव्यका रूपमा स्थापित गर्दै लैजाने स्थानीयको विश्वास छ।सिन्धुपाल्चोकका जुगल क्षेत्रभर २६ वटाभन्दा बढी हिमशृङ्खलाहरू र दर्जनौँ हिमाली पिकहरू छन्। जसप्रति दुई दर्जन आरोहीहरूले उत्साहसँग आरोहण गरिसकेका छन्। स्थानीय तहको चासोपछि अहिले बाँकी हिमशृङ्खलाका ६,००० मिटरभन्दा कम उचाइका पिकहरूको खोज र हिमाली ट्रेकिङ रुट, अन्य मार्गको खोजी थालिएको छ।नेपाल पर्वतारोहण संघ (एनएमए) काअनुसार वाग्मती प्रदेशभर ६१ हिमाल, २५ वटा पिक जसमध्ये ७ वटा पिक आरोहण भइसकेका छन्। जसमा २५ वटा हिमशृङ्खलाहरू आरोहण भएका छन्, यसमध्ये जिल्लामा केही नयाँ हिमालको नयाँ रुट खोलेर चढिएका छन्। दुई वर्ष अघि हिमालयन सेपहर्ड नेपालका आरोहण युनिटसँग गायिका सज्जा चौलागाईंसहित निमाग्याल्जेन शेर्पा, जाइसी स्यालिन्साजस्ता ५ जना आरोहीहरूले जुगल हिमालको एघारमध्ये एक (५,९२२ मिटर) अग्लो जुगल ५ चुचुरो सफलतापूर्वक आरोहण गरे।०७७ मंसिरमा सगरमाथा आरोही माया गुरुको नेतृत्वमा ६ जनाको आरोही टोली र दुई जना माउन्टेन गाइडले दुई वटा हिमाल चढेका थिए। पाँच हजार ३ सय मिटरको पाँच पोखरी क्षेत्रको तिलमान पास पाँचपोखरी पिक र पाँच हजार ५ सय ५६ मिटरको युवा पिक गुरुको टिमले आरोहण गरेका थिए। त्यही वर्ष गुम्बैगुम्बाको सहर हेलम्बु क्षेत्रको पाँच हजार ६ सय ५ मिटर अग्लो नयाँ बेमेथाङ पिकमा नेरिका एडभेन्चरसका आरोही सतिस मान पतिको नेतृत्वमा तीन सदस्यीय आरोही टोलीले आरोहण गरेका थिए।नेपालभरको हिमालको ६१ वर्षे लामो आरोहण इतिहास भए पनि काठमाडौँबाट नजिक (करिब एक सय ४० किलोमिटर) रहेका जिल्लाका अनेकौँ हिमशृङ्खलाहरू र दर्जनौँ पिक अहिले आएर धमाधम आरोहण गरिएका छन्। विश्वभरका साहसिक पर्यटक हिमशृङ्खलाका पिकहरूमा सिन्धुको अलग्गै पहिचान भएकाले आरोही र पर्यटकको यहाँको हिमाल हेर्न र आरोहणको आकर्षण बढ्दै छ।
![The attraction of mountaineering in the Indus Mountains [Photo Feature]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/1000074622-28112025073425-1000x0.jpg&w=1001&h=0)
![The attraction of mountaineering in the Indus Mountains [Photo Feature]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/1000074663-28112025073432-1000x0.jpg&w=1001&h=0)