शनिबार काठमाडौंको बागमती नदी किनारस्थित गौरीघाटमा छठका लागि सरसफाइ तथा सजावट थालिएको हो ।
काठमाडौँ — छठका लागि बागमती किनारमा रहेका घाट तथा पोखरीहरुको सरसफाइ व्यापक बनाइएको छ । शनिबार काठमाडौंको बागमती नदी किनारस्थित गौरीघाटमा छठका लागि सरसफाइ तथा सजावट थालिएको छ ।
विशेषगरी तराई-मधेशको पर्व छठको धार्मिक विधि शनिबारबाट सुरु भएको छ । व्रतालुहरुले शनिबार ‘नहाखाय’ विधिबाट यो पर्वको धार्मिक तथा पारम्परिक विधि सुरु गरेका छन् । उनीहरुले नुहाइधुवाइ चोखोनितो गरी शरीर र मनलाई चोखो पारेपछि लौकाको तरकारी र भात खाएका छन् । व्रतालुले लौकाको तरकारीलाई सबैभन्दा चोखो तरकारीका रुपमा खाने गरेकाले यस दिन लौकाको माग अत्यधिक हुने गरेको छ । व्रतालु तथा तिनका परिवारका सदस्यलेसमेत छठ पर्व नसकुन्जेल मासुमाछा लगायतका तामसिक भोजन गर्दैनन् ।
शनिबार ‘नहाखाय’ विधि गर्ने व्रतालुहरुले आइतबार साँझ ‘रस्याउ रोटी’ खाने छन् । ‘खरना’ समेत भनिने यो धार्मिक विधिमा व्रतालुहरुले आआफ्नो घरमा छठी माताको पूजा गरेर दूध र गुँड हालेर पकाइएको खीर (रस्याउ) र पुरी खानेछन् । रस्याउ रोटीलाई प्रसादका रुपमा परिवारका अन्य सदस्य तथा इष्टमित्र छरछिमेकलाई समेत निम्तो दिइन्छ । कतैबाट पनि निम्तो नपाएका तथा रस्याउ रोटी खाने अवसर नजुरेकाहरुले व्रतालुसँग मागेर यो प्रसादको रुपमा रस्याउ रोटी खाने चलन पनि छ ।
आइतबार साँझ रस्याउ रोटी खाएका व्रतालुहरुले यसैको भरमा सोमबार दिनभरि निर्जल/निराहार व्रत बस्छन् । नयाँनयाँ वस्त्र परिधान लगाएका व्रतालुका परिवारका सदस्यले पूजा सामग्री राखिएको बाँसको छैंटी टाउकामा बोकेर घाटसम्म लग्ने चलन छ । विशेषगरी परिवारका पुरुष सदस्यले यो जिम्मेवारी पूरा गर्छन् । सोमबार साँझ छठ घाटमा व्रतालुहरुले अस्ताउँदै गरेको सूर्यलाई बाँसको सुपुलीमा नरिवललगायत विभिन्न पूजा सामग्रीको अर्घ दिनेछन् । त्यसपछि उनीहरु घण्टौं घाटमा बसेर पूजा अर्चनामा लीन हुन्छन् । केही व्रतालु राति घर फर्केर आँगनमा कोशी भर्ने विधि गर्छन् ।
![The banks of the Bagmati River are being illuminated for Chhath [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/preperationforupcommingchatthfestivalatghaireghatphoto073-25102025100229-1000x0.jpg&w=1001&h=0)
![The banks of the Bagmati River are being illuminated for Chhath [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/preperationforupcommingchatthfestivalatghaireghatphoto078-25102025100348-1000x0.jpg&w=1001&h=0)
![The banks of the Bagmati River are being illuminated for Chhath [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/preperationforupcommingchatthfestivalatghaireghatphoto077-25102025100333-1000x0.jpg&w=1001&h=0)
![The banks of the Bagmati River are being illuminated for Chhath [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/preperationforupcommingchatthfestivalatghaireghatphoto076-25102025100320-1000x0.jpg&w=1001&h=0)