कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भएपनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
काठमाडौँ — तिहारको तेस्रो दिन आज घरघरमा कुकुरलाई पूजा गरी मीठा खानेकुरा दिइ कुकुर तिहार मनाइँदैछ । कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भएपनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
समितिका सदस्य एवं वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका अध्यक्ष प्रा डा देवमणि भट्टराई नरक चतुर्दशी र कुकुर तिहार सूर्योदय कालमा चतुर्दशी भएको दिन मनाउनुपर्ने बताउँछन् ।
आजकै दिन नेपाल प्रहरी केनाइन महाशाखा (कुकुर तालिम केन्द्र) ले कुकुरको पूजाआजा सम्पन्न गरेको छ । प्रहरी अनुसन्धानमा कुकुरको भूमिका निकै नै महत्त्वपूर्ण मानिने गरिएको छ ।
विभिन्न प्रकारका जटिल अनुसन्धानमा पनि कुकुरलाई समावेश गराउने गरिएको छ । महाशाखाले कुकुरको सम्मानमा आजको दिन विभिन्न प्रकारका खेल खेलाएर तथा खानपान गराई पूजा गरेको हो । कुनै ठाउँमा बमलगायतका शंकास्पद वस्तुहरू भेटिएमा पहिलो अनुसन्धानमै कुकुरको प्रयोग हुन्छ । आफूहरूलाई सघाउने कुकुरहरूको पूजा गर्न पाउँदा खुशी लागेको प्रहरी अधिकृतहरूले बताएका छन् ।



