पहिरोका कारण इलाम र पाँचथरका छिमेकी जिल्ला जोड्ने मुख्य राजमार्ग मात्रै नभएर ग्रामीण सडक पनि पहिरोले क्षत विक्षत भएका छन् । जसबाट सबैभन्दा धेरै सास्ती दसैँ मनाउन, आफन्तसँग भेटघाट गर्न र छुट्टी मनाउन गाउँ आएकालाई परेको छ ।
पाँचथर — इलामको पशुपतिनगरदेखि पाँचथरको सिदिन हिँडेका मानसिंह विश्वकर्मा माईखोलासम्म एउटा गाडी चढे । त्यहाँ ओर्लिएर एक घण्टा हिँडेर राजदुवाली पहिरो पार गरेपछि अर्को गाडी समातेर बिब्ल्याटे आए । त्यहाँबाट केहीबेर हिँड्दै केहीबेर गाडी चढ्दै दस घण्टा लगाएर पाँचथरको फिदिम आइपुगे ।
पेसाले सवारी चालक उनले आफैं गाडी चलाएर आउँदा चार घण्टामा लाग्ने बाटोमा ७ वटा गाडी फेर्दै आँउदा १० घण्टामा मात्रै आइपुगेको बताए । ‘आफ्ना सामान च्यापेर हिँड्न सक्ने लाठेलाई दश घण्टा लाग्यो, ज्येष्ठ नागरिक, नानीका आमा, अपाङ्गता भएका र सुत्केरीको दुःख चर्चा गरिसाध्य छैन ।,’ उनले भने ।
झापामा रहेका पाँचथर हिलिहाङ–७ का ओम सुवेदीकी आमा सुभद्राको मंगलबार साँझ निधन भयो । ओमको परिवार आमाको अन्त्येष्टि र काजकिरियाका लागि पाँचथर आइपुग्नु थियो । तर इलाम पहिरोका कारण बाटो बन्द भएकाले उनीहरुले बाटो मोड्नु पर्ने भयो । झापाबाट धरान गएर, भेडेटार–मूलघाट–बसन्तपुर–म्याङलुङ–संक्रान्ति, जोरसाल हुँदै १६ घण्टा लगाएर उनीहरु घर आइपुगे ।यसअघि बढीमा ६ घण्टा लाग्ने बाटो मोड्नु पर्दा १६ घण्टा लागेको सुवेदीले सुनाए ।
पहिरोका कारण इलाम र पाँचथरका छिमेकी जिल्ला जोड्ने मुख्य राजमार्ग मात्रै नभएर ग्रामीण सडक पनि पहिरोले क्षत विक्षत भएका छन् । जसबाट सबैभन्दा धेरै सास्ती दसैँ मनाउन, आफन्तसँग भेटघाट गर्न र दसैँको छुट्टी मनाउन गाउँ आएका नागरिकलाई परेको छ । आफ्नै साधन लिएर आएका केही गाउँमै छोडेर पैदल कार्यक्षेत्र फर्किँदै छन् भने केही बाटो खुल्ने आशमा बसिरहेका छन् । बाटो लागेका मध्ये ज्येष्ठ नागरिक, गर्भवती, बालबालिकालाई सबैभन्दा धेरै सास्ती छ ।
पहिरोले सबैभन्दा धेरै प्रभावित भएको मेची राजमार्ग अन्तर्गत राजदुवाली क्षेत्रमा बिहीबार रातभर काम गरिने भएको छ । सडक डिभिजन इलामले यो क्षेत्रको अवरोध हटाउन रातभर काम गर्ने भएको हो । ‘राजदुवाली माइखोला क्षेत्रमा विद्युत्को व्यवस्था गरेर बत्ती जोडी रातभर काम गर्ने योजना छ,सम्भव भए वा अन्य केही समस्या आई नलागे शुक्रबारसम्ममा बाटो खुलाँउछौं,’ डिभिजन प्रमुख भट्टराईले भने ।
![Suffering from road collapse [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/yatra-10102025031846-1000x0.jpg&w=1001&h=0)
![Suffering from road collapse [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/sadak-ko-sastee-26-10102025030451-1000x0.jpg&w=1001&h=0)
![Suffering from road collapse [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/sadak-ko-sastee-25-10102025030448-1000x0.jpg&w=1001&h=0)
![Suffering from road collapse [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/sadak-ko-sastee-24-10102025030444-1000x0.jpg&w=1001&h=0)
![Suffering from road collapse [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/sadak-ko-sastee-22-10102025030438-1000x0.jpg&w=1001&h=0)