बुद्ध जन्मस्थल लुम्बिनी, प्राचीन कपिलवस्तु (तिलौराकोट), निग्रोधाराम, महावन र रामग्राममा यस वर्ष भिक्षुहरू वर्षाबास बसेका थिए ।
लुम्बिनी — थाई भिक्षु धन्तोचित्तो खाली खुट्टा दैनिक बिहान लुम्बिनी आसपासका गाउँ घुमेर भिक्षा मागेर विहारमा ल्याउँथे । उनीसँगै थाइल्यान्डको युदोन्थानीबाट आएका चार जना भिक्षुको दैनिकी पनि यही थियो । उनीहरू पनि गाउँ पुगेर भिक्षा–पात्रमा संकलन गरेको खानेकुरा विहारमा ल्याएर खान्थे ।
थाइल्यान्डमा सुविधासम्पन्न विहार र मन्दिरमा बसे पनि सर्वसाधारणको घरघरै माग्न पुग्थे । गाउँलेसँग मागेर ल्याएकै खानेकुरा खाएर उनीहरूले तीन महिना वर्षाबास पूरा गरे । उनीहरू बौद्ध धर्मावलम्बीको महत्त्वपूर्ण पर्व तीन महिने वर्षावास बस्न थाइल्यान्डबाट यहाँ आएका हुन् । उनीहरूको तीन महिने वर्षाबास सोमबारबाट सकिएको छ ।
बौद्ध धर्मावलम्बी भिक्षुहरू कहीँकतै नगई एकै स्थान विहार र मोनास्ट्रीमा ध्यान साधना र देशना गरी वर्षावास बस्छन् । बुद्धकालीन समयदेखि नै चलिआएको यो परम्परामा भिक्षुहरू कसरी वर्षावास बस्छन् र उनीहरूको दैनिकी कसरी चल्छ भन्नेबारे धेरैको जिज्ञासा र चासो मेटाउन साता बढी लगाएर यस वर्ष वर्षाबास बसेका भिक्षुहरूको दैनिकी समेटिएको हो ।
वर्षाबास बसेका भिक्षुहरू बिहान ४ नबज्दै उठेर नित्यकर्म गरी ध्यान साधना गर्छन् । सामान्य चिया खाजा खाएर बिहान साढे ७ बजेतिर भिक्षापात्र बोकेर भिक्षाटन गर्न गाउातिर निस्कन्छन् । विहारबाट पैदल गाउँका घरघर पुगेर भिक्षा माग्छन् । गाउँलेले पनि आफूले पकाएको दाल, भात, तरकारी, रोटी, अचार र चटनी दिन्छन् । त्यसपछि कतिपय गाउँले भिक्षुको चरण स्पर्श गर्छन् । कतिपयले भिक्षुका खुट्टा धोएर आदर सम्मान गर्छन् । त्यसपछि भिक्षुले भिक्षाटन गरेका घरका अभिभावकलाई आशीर्वाद दिन्छन् ।
यसपछि भिक्षुहरू ११ नबज्दै विहार र मोनास्ट्रीमा फर्किन्छन् । त्यसपछि भिक्षाटनमा पाएका र विहारमा पाकेका परिकार मिसाएर १२ नबज्दै खाइसक्छन् । प्रार्थना गरेर भोजन गरेपछि आराम गर्छन् । त्यसपछि ३ बजेतिरबाट ध्यानसाधन र धम्म देशना गर्छन् । ६ बजेतिर एक/डेढ घण्टा आराम गरेर बेलुका साढे ७ बजेबाट ९ बजेसम्म प्रार्थना, विभिन्न सूत्र सज्झयाना र परित्राण पाठ गर्छन् । राति ठोस खाना खाँदैनन् । झोलिलो कुरा सेवन गरेर विश्राम लिन्छन् । यसरी बिताएको तीन महिना नै वर्षाबास हो ।
बुद्ध जन्मस्थल लुम्बिनी, प्राचीन कपिलवस्तु (तिलौराकोट), निग्रोधाराम, महावन र रामग्राममा यस वर्ष भिक्षुहरू वर्षाबास बसेका थिए । तीन जिल्लाका पाँच ठाउँमा बसेका भिक्षुको दैनिकी यसरी नै तीन महिना बित्यो । बौद्ध धर्मको मेरुदण्ड विनय कर्म पालन गर्दा नजानेर भए गरेका त्रुटि कमजोरीबाट पाप नलागोस्, क्षमादान पाउने हुँदा भिक्षु–भिक्षुणी वर्षावास बस्ने गर्छन् । वर्षाबासका बेला साँझ–बिहान ध्यान बस्ने र परित्रान पाठ गर्ने गरिन्छ । त्यस बेला बुद्ध, धर्म र संघ गुन तथा धर्म देशना गर्दै पूजाआजा गरिन्छ ।
यसरी वर्षाबास बस्नकै लागि थाइल्यान्डबाट २२ जना भिक्षु नेपाल आएका थिए । उनीहरू लुम्बिनीको रोयल थाई विहार र शाक्यमुनि विहारमा बसेका थिए । त्यस्तै लुम्बिनीको म्यान्मार गोल्डेन टेम्पल, श्रीलंका महाविहार र महाबोधी सोसाइटीमा पनि वर्षाबास बसेका थिए ।
कपिलवस्तुको तिलौराकोट, निग्राोधाराम र महावन तथा पश्चिम नवलपरासीको रामग्राममा नेपाली, थाई, म्यान्मार र श्रीलंकाका गरी ४० जना भिक्षु विभिन्न विहारमा वर्षावास बसेका थिए । बुद्ध स्थलमा आएर वर्षाबास बस्दा राम्रो पुण्य सञ्चय र लाभ हुने जनविश्वासले धेरै विदेशी भिक्षु–भिक्षुणी लुम्बिनी र कपिलवस्तु आउन मरिहत्ते गर्ने नेपाल भारत थाई धम्मदूत एसोसिएसनका उपाध्यक्ष फ्रा राजबोधी विदेश बजिराशुद्धिले बताए । ‘लुम्बिनीमा वर्षाबास बस्न आउनका लागि थाई भिक्षु मरिहत्ते गर्छन्,’ उनले भने, ‘किनकि, लुम्बिनीमा जीवनकै महत्त्वपूर्ण पुण्य सञ्चय गर्ने अवसर पाउँछन् । त्यही भएर यहाँ वर्षावास बस्न आउन उनीहरू जस्तोसुकै काम छोडेर आउन पनि लालायित देखिन्छन् ।’
असारदेखि असोज पूर्णिमासम्म तीन महिना वर्षावास हुन्छ । वर्षावास बस्ने भिक्षुले पुण्य संचय गर्ने जनविश्वास छ । वर्षावास सकिएको एक महिना कार्तिक पूर्णिमाभित्र कठिन चिवर दान गरिन्छ । त्यसलाई कठिन उत्सव पनि भनिन्छ । अनुशासन र नियममा बसेर वर्षावास बस्ने भिक्षुलाई कठिन चिबर पहेँलो वस्त्र (चिवर) प्रदान गरिन्छ । त्यसपछि वर्षावास पूरा हुन्छ । बुद्ध धर्ममा थेरवादी सम्प्रदायमा मात्र वर्षावास बस्ने चलन छ । कठिन चिबर उत्सव वर्षबास बसेका प्रत्येक विहारमा मनाइन्छ ।
वर्षाका बेला तीन महिना चराहरू पनि आफ्नै गुँडमा बस्छन् । वर्षामा हिँड्न पनि गाह्रो हुन्छ । वर्षामा कमिला, किरा–फट्याङ्ग्रा बढी निस्कने हुँदा हिँड्दा प्राणी हत्याको भागीदार भइने हुँदा नहिँड्दा नै राम्रो भन्ने सुझाव धेरैतिरबाट आएकाले गौतम बुद्ध वर्षावास बस्न थालेको लुम्बिनी बौद्ध विश्वविद्यालयका उपप्राध्यापक भिक्षु सिरी बजिरले बताए । वर्षावास बस्न कतिपय भिक्षु भिक्षुणीलाई आफ्ना उपासक उपासिकाले पनि निम्तो गर्ने चलन छ । उनीहरूको निम्तो स्विकार गर्दै कतिपय भिक्षु वर्षावास बस्छन् । ३ महिनासम्मको चर्तुप्रत्य उपासक उपासिकले नै भिक्षुलाई दिन्छन् । चर्तुप्रत्य भन्नाले वर्षावासका बेला चाहिने चिबर (पहेँलो वस्त्र), खाने कुरा, ओढ्ने ओछ्याउने बस्त्र, दारी–कपाल गर्ने उपकरण र औषधिमूलोको खर्च उपासक उपासिका आफैंले बेहोर्छन् ।
असार पूर्णिमा बौद्ध धर्ममा निकै महत्त्वपूर्ण दिनका रूपमा रहेको लुम्बिनीस्थित म्यान्मार गोल्डन टेम्पलका प्रमुख भिक्षु ऊ पण्डिताले बताए । उक्त दिन राजकुमार सिद्धार्थ गर्भ प्रवेश गरेको र सोही दिन २९ वर्षको उमेरमा दरबार त्याग गरी ज्ञान प्राप्तिका लागि निस्केका थिए । उक्त दिनबाट राजदरबार आसपास धान रोप्ने मंगलोत्सव गरिन्थ्यो । असार पूर्णिमामै पहिलो धर्मचक्र देशना सारनाथमा बुद्धले गरेका थिए भने राजकुमार सिद्धार्थका पुत्र राहुलको जन्म पनि त्यही दिन भएको थियो ।
![The monks' three-month stay in the rain is over [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/barsabasmanoj-photo9-07102025073254-1000x0.jpg&w=1001&h=0)
![The monks' three-month stay in the rain is over [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/barsabasmanoj-photo25-07102025073548-1000x0.jpg&w=1001&h=0)
![The monks' three-month stay in the rain is over [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/barsabasmanoj-photo19-07102025073437-1000x0.jpg&w=1001&h=0)
![The monks' three-month stay in the rain is over [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/barsabasmanoj-photo18-07102025073433-1000x0.jpg&w=1001&h=0)
![The monks' three-month stay in the rain is over [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/barsabasmanoj-photo17-07102025073417-1000x0.jpg&w=1001&h=0)
![The monks' three-month stay in the rain is over [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/barsabasmanoj-photo16-07102025073407-1000x0.jpg&w=1001&h=0)
![The monks' three-month stay in the rain is over [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/barsabasmanoj-photo15-07102025073356-1000x0.jpg&w=1001&h=0)
![The monks' three-month stay in the rain is over [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/barsabasmanoj-photo14-07102025073345-1000x0.jpg&w=1001&h=0)
![The monks' three-month stay in the rain is over [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/barsabasmanoj-photo13-07102025073327-1000x0.jpg&w=1001&h=0)
![The monks' three-month stay in the rain is over [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/barsabasmanoj-photo12-07102025073305-1000x0.jpg&w=1001&h=0)
![The monks' three-month stay in the rain is over [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/barsabasmanoj-photo11-07102025073301-1000x0.jpg&w=1001&h=0)