जिल्लाका १० वटै स्थानीय तहमा ४ सय ९६ दुर्गा झाँकी निकालिएको छ ।
कपिलवस्तु — गाउँ–घर र सहर–बजारमा निकालिएको दुर्गा झाँकीले दसैंको रौनक बढाएको छ । सदरमुकाम तौलिहवालगायत कृष्णनगर, चन्द्रौटा, बहादुरगन्ज र पकडी लगायतका ठाउँमा दुर्गा झाँकीले अहिले गाउँघर, चोक, सहर–बजार झकीझकाउ बनेको छ । दुर्गा पूजा गर्नेको चहलपहलसँगै रौनकता थपेको छ । बिहान–साँझ र विशेष गरी रातिका बेला दुर्गा पूजा गर्नेको घुइँचो हुने गरेको छ । कहीँ नवरात्रको पहिलो दिन अर्थात् घटस्थापना र कहीँ सप्तमीका दिन मूर्तिको विशेष पूजापाठ गरी प्रदर्शनका लागि निकालिएको हो । मूर्ति प्रदर्शन गरिएपछि जिल्लाको गाउँदेखि सहरसम्म दसैंको चलहपहलसमेत बढेको छ । झाँकी स्थलमा पुरोहित राखेर पूजाआजा गर्ने गरिएको छ । त्यसबखत श्रद्धालुको भीड हुन्छ । माइक बजाएर भर्जन–कीर्तन बजाउँदा दसैंको माहोल बनेको छ । साँच्चै दसैंको माहोल बनेको छ । जिल्लाका १० वटै स्थानीय तहमा ४ सय ९६ दुर्गा झाँकी निकालिएको छ । पूजाआजा गर्न भीड बढेपछि दसैंको माहोलको रौनक बनेको देखिन्छ । जिल्लामा सबैभन्दा बढी कृष्णनगर नगरपालिकाका ७९ ठाउँमा मूर्ति प्रदर्शन गरिएको छ । त्यस्तै शुद्धोधन र मायादेवी गाउँपालिकाका ६८ ठाउँमा मूर्ति प्रदर्शन गरिएको छ । त्यस्तै बाणगंगा, बुद्धभूमि, शिवराज र महाराजगन्ज नगरपालिकाका एवं विजयनगर गाउँपालिकाका विभिन्न ठाउँमा मूर्ति प्रदर्शन गरिएको छ । कपिलवस्तु नगरपालिका र यशोधरा गाउँपालिकामा पनि मूर्ति प्रदर्शन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सबै मूर्तिलाई ठाउँअनुसार असोज १७ देखि २१ गतेसम्म नदी, तलाउ र पोखरीमा लगेर धार्मिक विधिपूर्वक विसर्जन गरिन्छ ।
![Joy of Durga Jhanki [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/durga-pujamanoj-photo15-01102025040404-1000x0.jpg&w=1001&h=0)