सराय नाचको रौनक [तस्बिरहरू]

यो नाचमा देवीका मन्दिरमा राखिएका खुँडा, भाला, तरबार, ढाललगायत घरेलु हतियारको प्रयोग गरिन्छ ।

आश्विन १५, २०८२

माधव अर्याल

Sarai Dance Raunak [Photos]

पाल्पा — पाल्पा, गुल्मी, अर्घाखाँची, प्युठानलगायत पहाडी जिल्लाका विभिन्न कोतघर र देवीका मन्दिरमा हतियार ठोक्काएर नाचिने सराय नाचको रौनक सुरु भएको छ । अष्टमीका दिनमा कालरात्रि पूजा गरेसँगै सराय सुरु हुन्छ ।

Sarai Dance Raunak [Photos]

दसैंको पूर्णिमासम्म कोतघर र देवीका मन्दिर प्राङ्गण साथै खुल्ला चौरमा मेला लगाउने र सराय नाच्ने प्रचलन रहेको इतिहासविद् पुष्करराज रेग्मीले बताए । पहाडी जिल्लाका ऐतिहासिक कोतघरका साथै शक्तिपीठमा दसैंमा सराय नाचको विशेष महत्व छ । पूर्णिमासम्म सराय नाचिने भए पनि पाल्पाको रैनादेवी छहरा–४, बोखरमा दमिनी सराय पञ्चमीका दिनमा नाच्ने परम्परा रहेको छ । यो नाचमा देवीका मन्दिरमा राखिएका खुँडा, भाला, तरबार, ढाललगायत घरेलु हतियारको प्रयोग गरिन्छ । युद्धको झल्को दिने गरी सराय नाच्ने भएकाले हेर्नका लागि मेला नै लाग्ने गरेको रैनादेवी छहरा, अमलावासका भुवन रायमाझीले बताए । ‘छहरामा अष्टमीका दिनमा नै सराय निकाल्ने गरिन्छ,’ उनले भने, ‘दसैंको रौनक पनि यसैबाट सुरु हुन्छ । सबै जना मिलेर नाच्ने भएकाले पनि खुबै रमाइलो हुन्छ ।’

Sarai Dance Raunak [Photos]

इतिहासविद्का अनुसार राक्षससंगको लडाइँमा सत्यको विजय भएको र सत्यका पुजारीले विजयोत्सव स्वरूप सराय नाच्ने प्रचलन चलाएका हुन् । दसैंको अवसरमा कोतघर र शक्तिपीठमा रहेका हतियार सरसफाइ गरी पूजा गर्ने प्रचलन छ । त्यही सफा गरिएका हतियारलाई निकालेर युद्ध अभ्यास वा त्यसको अभिनय गरेर सराय नाच्ने गरिन्छ । सराय नाच्दा खुँडा, खुकुरी, भाला, तरवार, ढालजस्ता घरेलु हतियार प्रयोग गर्ने प्रचलन छ । तरबार जुधाएर कला प्रदर्शनसमेत गरिने भएकाले यसलाई साहसिक खेल पनि भन्ने गरिन्छ । कतिपय स्थानमा सराय नाचलाई मेला तथा उत्सवका रुपमा लिने प्रचलन रहेको संस्कृतिविद् राजेन्द्रगोपाल सिंहले बताए । फरक, फरक स्थानमा अष्टमीदेखि कोजाग्रत पुर्णिमापछि पञ्चमीसम्म सराय निकाल्ने प्रचलन रहेको सिंहको भनाइ छ ।

Sarai Dance Raunak [Photos]

पाल्पाका पूर्वी भेगका खालीवन, जव्गादी, सिलुवा, गेझा, गल्धा लगायतका स्थानमा फुलपाती दसैघरमा लागि विर्सजन गरेर सराय खेलिन्छ । अष्टमी, नवमी र दशमीको दिनमा तरवार ठोक्काउने, बली दिइएका पशुको टाउकोलाई वाख्वाई ह्वा गर्दै नचाउने, रमाइलो गरिन्छ । कोतघर, देवीको मन्दिरमा राखिएका हतियारलाई प्रदर्शन गर्दै पन्चेबाजाको तालमा नाच्दै, खेल्दै, रमाउदै परिक्रमा गर्ने चलन रहेको छ । अष्टमीको दिनमा बली दिने र देवी खुसी पार्न तरवार ठोक्काउने र नचाउने गर्दा हेर्नेले समेत रमाईलो मान्दै आनन्द लिने गरेको रामपुर नगरपालिका–९, का गोपाल काफ्लेले बताए । ‘तरबार, खुँडा, भाला, ठोक्काएर नचायो भने देवी खुसी पार्न सकिन्छ भन्ने यस जनविश्वास छ,’ उनले भने, ‘विभिन्न रंगका बस्त्र पहिरेर, टिका, ध्वजा पतका लगाई दसैमा रमाइलो गरी सराय खेल्ने पुरानो चलन भएकाले पनि निरन्तर नाच्ने चलन छ ।’

Sarai Dance Raunak [Photos]

पाल्पाकै मस्याम, बन्दीपोखरा, भारकोट, बतासे, बौघागुम्हा, ख्याहा, भुवनपोखरी, मुझुङ्ग लगायतका स्थानमा सराय नाच्ने प्रचलन छ । ‘दसैमा सराय ननाच्ने हो भने दसैं गएजस्तै लाग्दैन,’ रैनादेवी छहरा–५, मुझुङ्का नारायण कार्कीले भने, ‘त्यसैले पनि रमाइलो गर्ने प्रचलन रहेको छ ।’ बाइसे र चौबीसे राजा बस्ने समयदेखि दसैंमा सराय नाच्ने प्रचलन रहेको हो । ‘उहिलेका भुरे टाकुरे राजाहरूले रमाइलोका लागि पनि यस्ता अभिनय गराएको हुनसक्छ,’ संस्कृतिविद् मदन देउरालीले भने, ‘भुरे टाकुरे राजालाई देखाउने गरी नाच सुरु भएको किंवदन्ती पढ्न पाइन्छ ।’

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully