धानको ब्याड राख्दा पनि पानीको चरम अभाव झेलेका किसान जसोतसो हुर्काएको बिउ पनि काट्ने अवस्थामा पुगेका छन् ।
ताप्लेजुङ — फुङलिङ नगरपालिका-१ नाङगेकी कविता लिम्बूले पहिलोपटक पानीको अभावमा धान खेती लगाउन सकिनन् । अरुसँग झगडा नगरी आफ्नो पालामा धान रोप्ने प्रतीक्षामा रहेकी उनका लागि पानीको पालो नै आएन । उनले अरुलाई रोपाहार, बाउसेमा सहयोग गरिन् ।
आफ्ना खेतमा आली अचिला गरेर चिटिक्क बनाइन् । तर बिउको गाभो नै गाड्न नपाएकाले २५ मुरी धान फल्ने खेत बाँझिएको छ । ‘भदौ दोस्रो सातासम्म पनि प्रतीक्षा गरेँ । बाँझो राख्नुभन्दा बिउ राम्रै छ रोप्छु भन्ने ठानेँ,’ कविताले थपिन्, ‘१५ गतेसम्म पनि पानी नपरेपछि अब बिउ काटेर तोरी, मकै लगाउने मनस्थितिमा छु ।’ धानको ब्याड राख्दा पनि पानीको चरम अभाव झेलेकी उनले २० एमएमको पाइपमा सेगुम्बादेखि ल्याएर बिउ उमारेकी थिइन् । ‘यो वर्षचाहिँ बिउ पनि सलक्क परेको छ । किरा फट्याङग्रा केहीले खाएको छैन, कविताले भनिन्, ‘अर्को वर्षलाई बिउ हुनेगरी मात्रैमा लगाउन पाए पनि हुने थियो । त्यति पनि नहुँदा साह्रै चित्त कुँडिएको छ ।’ कविताले तीन खला खेतमा धान खेती लगाउने गरेकी थिइन् ।
यहाँका आसबहादुर राईको अवस्था पनि यस्तै छ । २२ मुरी धान फल्ने खेत बाँझिएको छ । अघिल्ला वर्ष यो खलाबाट उत्पादन हुने १२ मुरीसम्म धान बिक्री गरेका गरेका थिए । अर्को वर्षका लागि बिउसम्म हुने गरीको धान रोपेका उनी अहिले पुगेसम्म लगाउने उद्देश्यले कोदो रोपिरहेका छन् । ‘यसरी खेत बाँझो हुन्छ भन्ने नै भएन, कोदोको बिउ पनि थोरै बारीलाई मात्रै हुनेगरी राखियो,’ राईले थपे, ‘गहुँ लगाउन खोजेको बिउ पाउन सकिएन । अब मकैसकै लगाउने कि खै के लगाउने अन्योल छ ।’ यहाँका सरु मादेनले १८ दिन लगाएर पाँच हलको मेलो रोपिन् । पाँच दिनमा सकिने काम १८ दिनसम्म लाग्दा धानले नपुग्ने गरीको खर्च भएको उनले सुनाइन् ।
मेखे तामाङले पनि धानको गाभो गाड्न पाएनन् । एउटै टोलमा पूरै खेत बाँझिनेको सूचीमा परेका छन् । यो फुङलिङ नगरपालिकाका निवर्तमान प्रमुख छत्रपति प्याकुरेलको जन्मस्थल हो । यहँ उनको पनि खेती छ । ‘नरोपिउन्जेल खेत रोपिँदैन कि क्या हो भनेर फोन गर्नुहुन्थ्यो,’ निवर्तमान वडासदस्य हरिमाया गिरीले भनिन्, ‘उहाँको चाहिँ रोपियो त्यसपछि सोध्न छाड्नुभयो ।’ अहिलेका जनप्रतिनिधिले आएर किसानलाई अब कस्तो के बाली लगाउन सकिन्छ भनेर सहजीकरणसम्म नगरेको गुनासो रहेको हरिमाया बताउँछिन् ।
सिँचाइ कुलो नभएको यहाँ सदरमुकाम फुङलिङको भल बगेर जाँदा पनि धान खेती लगाउन सकिन्थ्यो । तर यसवर्ष सदरमुकामको वीरेन्द्र चोकदेखिको पानी लगातार ३ नम्बर क्षेत्रमा लगेकाले आफूहरुका तिर पानी थोपा झर्न नपाएको बुझाइ यहाँका बासिन्दाको छ । मिक्वाखोलाको खोक्लिङ, मेरिङदेन, आठराईत्रिवेणी लगायतका गाउँपालिकामा पनि जमिन बाँझो रहेका छन् ।
कृषि ज्ञान केन्द्र ताप्लेजुङका अनुसार १६ प्रतिशत जमिनमा धान खेती लागेन । गतवर्ष ९८.५ प्रतिशतमा रोपाइँ भएको थियो । यसवर्ष भने ८४.६ प्रतिशतमा मात्रै रोपाइँ भएको कृषि प्रसार अधिकृत विजय श्रेष्ठ बताउँछन् । ताप्लेजुङमा ५ हजार ६ सय ६६ हेक्टर धानखेती हुने गरेको छ । यस वर्ष ४ हजार ७ सय ९७ हेक्टरमा मात्रै रोपाइँ भयो । योमध्ये पनि ६ प्रतिशत पूरै बाँझो भएको छ । १० प्रतिशतमा भने कोदो, मकै मास, मस्याम लगायतका बाली लाग्ने श्रेष्ठले जानकारी दिए ।
![Farmers reaping rice seeds after no rain [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/img8352-1-0592025105412-1000x0.jpg&w=1001&h=0)
![Farmers reaping rice seeds after no rain [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/7-0592025110045-1000x0.jpg&w=1001&h=0)
![Farmers reaping rice seeds after no rain [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/6-0592025110041-1000x0.jpg&w=1001&h=0)
![Farmers reaping rice seeds after no rain [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/4-0592025110010-1000x0.jpg&w=1001&h=0)
![Farmers reaping rice seeds after no rain [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/3-0592025110005-1000x0.jpg&w=1001&h=0)
![Farmers reaping rice seeds after no rain [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/1-0592025110001-1000x0.jpg&w=1001&h=0)