राधाकृष्ण घाँसे मैदानमा माउ–केटो (तस्बिरहरू)

चितवन राष्ट्रिय निकुञ्जको आडैमा रहेको यो सामुदायिक वनमा निकुञ्जमा पाइने जे जति दुर्लभ र अन्य जीव जनावरहरू छन्, ती सबै यहाँ पनि बस्छन्।

भाद्र १३, २०८२

रमेशकुमार पौडेल

Maui-Keto in Radhakrishna Grassland (Photos)

चितवन — सदरमुकाम भरतपुरदेखि २५ किलोमिटर पश्चिममा छ मेघौली। पुरानो तर हाल प्रयोगमा नरहेको मेघौली हवाई मैदानको दक्षिणमा छ राधाकृष्ण मध्यवर्ती सामुदायिक वन। चितवन राष्ट्रिय निकुञ्जको आडैमा रहेको यो सामुदायिक वनमा निकुञ्जमा पाइने जे जति दुर्लभ र अन्य जीव जनावरहरू छन्, ती सबै यहाँ पनि बस्छन्। वन र निकुञ्ज बीचबाट बग्दै राप्ती नदी पश्चिम गोला घाटतिर लाग्दछ र नारायणीमा मिसिन्छ।

Maui-Keto in Radhakrishna Grassland (Photos)

एकै ठाउँमा चार–पाँच वटा र त्योभन्दा धेरै दुर्लभ गैँडा देख्न पाइने, मृग प्रजातिका चित्तल, लगुना र जरायोको हुल चर्दै गरेको भेटिने र उस्तै परे पाटे बाघ पनि आँखा अगाडि आउन सक्ने ठाउँ हो राधाकृष्ण मध्यवर्ती सामुदायिक वन। सयभन्दा कम ७६ दशमलव ५० हेक्टर क्षेत्रफलको यो वनमा जीव जनावरहरू धेरै नै छन्। त्यसैले यो पर्यटक डुल्न आउने उपयुक्त ठाउँ भएको छ। जिप सफारीका लागि यो वन प्रख्यात छ।

Maui-Keto in Radhakrishna Grassland (Photos)

बिहीबार दिउँसो सफारीको जिप वनभित्र जाँदै गर्दा नेचर गाइड हरि अधिकारीले गैँडा आहाल बस्ने ठाउँमा जाऔँ है भने। चर्नका लागि आँगन जत्रो ठाउँको आडमा थियो पिँढी जत्रो हिले घोल। कुनै बेला पाँच–सात वटा गैँडा मजाले आहाल खेल्ने यो ठाउँमा पुग्दा गैँडा थिएनन्। बादल लागेको, सिमसिम पानी परेको भएकाले गैँडालाई आहालमा रुचि नजागेको हुन सक्छ। अब गैँडा कता तिर होलान्? जिप दक्षिण सोझियो।

Maui-Keto in Radhakrishna Grassland (Photos)

बुट्यान भएको अलि अग्लो ठाउँ सकेर जिप झर्‍यो राप्तीको समथर बगरतिर। घाँस बढेर हर्लक्क भएको थियो। काँस फुलेर बगर सेताम्मे थियो। काँसको सेतो हो कि गैँडाको ढाड, घाँसभित्र केही चलमलाएझैँ गर्दा खुट्याउन गाह्रो भयो। अलि बेर नजर गाडेपछि पक्का भयो, त्यो त गैँडा नै रहेछ। एक हैन, दुई गैँडा चर्दै गरेका थिए। तर घाँसभित्र सर्लक्क देख्न गाह्रो भएकाले सफारीको जिप अलि अगाडि लाग्यो।

Maui-Keto in Radhakrishna Grassland (Photos)

तर गैँडा बेतोडले राप्ती तिर दौडियो। ‘यसरी तर्सनु नपर्ने’ नेचर गाइड हरिले लख काटे, ‘सायद बाघ पो थियो वरिपरि।’ हामी बिस्तारै खोला तिर बढ्यौँ। तर केही देखिएन। खोला र हुर्केको घाँस मात्रै आँखा अगाडि थिए। अनि कानमा ठोकिन्थ्यो हुट्टिट्याँउको ‘चिटिचिटिचिट’ गरेको एकोहोरो चिच्याहट। जिप फेरि माथि तिरै मोडियो। बगर छाड्दा बित्तिकै वनतिर मजाले आफ्नै धुनमा चर्दै गरेको मृग प्रजातिको एक्लो लगुना भेटियो।

Maui-Keto in Radhakrishna Grassland (Photos)

मस्त भएर चर्न व्यस्त लगुनाले एक–दुई पटक टाउको उठाएर हेर्नु बाहेक अरू गतिविधि केही देखाएन। लगुनालाई छाडेर जिप राप्ती ताकेर पूर्व लाग्यो। केही पर पुगेर राप्ती किनारमा जिप रोकियो। बगरमा चित्तलका खुरका निशानीहरू प्रशस्त थिए। तर त्यहाँ पनि चरा–मुसो केही भेटिएन। राप्तीको पल्लो किनारमा निकुञ्जतिर माछा मार्न बल्छी थापेर बसेका दुई जना युवा देखिए। उनीहरू निर्धक्क बसेको ठाउँमा अरू जनावर के हुनु।

Maui-Keto in Radhakrishna Grassland (Photos)

‘नत्र यहाँ बाघ देख्ने सम्भावना हुन्थ्यो’ नेचर गाइड हरिले भने। केही महिनाअघि त्यहीँबाट उनले दुई वटा बाघ लड्दै गरेको देखेका रहेछन्। आफ्नो दाबी पक्का गर्न उनले मोबाइले त्यो बेला खिचेको बाघको फोटो र भिडियो पनि देखाए। जिप खोला छाडेर पश्चिम लाग्यो। आज तर्सेको त्यही गैँडा र बेपरवाह एउटा लगुनाबाटै चित्त बुझाउनु पर्ने हो त? जवाफमा हरि भन्थे, ‘धैर्य गर्नु।’

Maui-Keto in Radhakrishna Grassland (Photos)

नभन्दै अलि अगाडि एउटा चर्दै गरेको गैँडा देखियो। त्यो घाँसभित्र थियो। त्योभन्दा अझै पर सफारीमा आएको अर्को जिप रोकिएको थियो। जिपमा बसेका पर्यटक क्यामेरा सोझाइ रहेका भेटिए। हामी पनि बिस्तारै त्यतै लाग्यौँ। त्यहाँ त गैँडाको माउ र केटो (गैँडाको बच्चा) रहेछन्। माउ गैँडाको खाग पुरानो भएर चिरिएको थियो। एउटा पात पनि त्यही खागमा अड्केको थियो। अलि उता पनि अर्को गैँडा रहेछ।

Maui-Keto in Radhakrishna Grassland (Photos)

झन् पर राप्ती नजिक नजिक अर्को माउ र केटो चर्दै गरेको देखियो। वनभित्र आहालमा नभेटिएका गैँडाहरू यता राप्ती बगरको घाँसे मैदानमा आहार लिनमा व्यस्त रहेछन्। तृप्त हुने गरेर गैँडा भेटियो। गाइडहरूको संस्था घटगाई मेघौली नेचर गाइड एसोसिएसनका अध्यक्ष मनेशकुमार लिम्बुले राधाकृष्ण वनमा मेघौली क्षेत्रका मात्रै नभएर पटिहानी, जगतपुर क्षेत्रका होटलहरूले पनि पर्यटकलाई जिप सफारी गर्न ल्याउने बताए।

Maui-Keto in Radhakrishna Grassland (Photos)

‘गैँडा प्रशस्त छ। बाघ नै पाँच वटा जति यही बस्ने गरेको पाइएको थियो। सिजनमा जंगली हात्ती ‘ध्रुवे’ पनि यतै हुन्छ। एकदेखि ढाई घण्टाको सफारीमा मैले २१ वटासम्म गैँडा भेटेको छु’ लिम्बुले भने। राप्तीमा दुर्लभ जलचर घडियालदेखि वनमा अनेकौँ चराहरू रहेको हुँदा पर्यटक सफारीका लागि आउने गरेको उनले बताए।

Maui-Keto in Radhakrishna Grassland (Photos)

राधाकृष्ण मध्यवर्ती सामुदायिक वनका अध्यक्ष वेदनिधि सुवेदीले २०४२ सालमा वृक्षारोपण गरेर वन हुर्काउँदै ल्याएको बताए। हाल भरतपुर महानगरपालिका वडा नम्बर २७ मा पर्ने सो ठाउँ पहिला खुला चौर थियो। ‘अहिलेको २७ नम्बर वडाका पुरै घरधुरी, वडा नम्बर २५, २६ र २८ का घरधुरीका गाई–वस्तु चराउने ठाउँ नै यही थियो’ अध्यक्ष सुवेदीले भने। हाल वनका वडा नम्बर २७ का ९०० घरधुरी उपभोक्ता रहेका छन्।

Maui-Keto in Radhakrishna Grassland (Photos)

वन हुर्कँदै गएपछि २०५४ सालमा मध्यवर्ती सामुदायिक वनका रूपमा दर्ता भएको थियो। मेघौली आदिवासी थारु बहुल ठाउँ हो। वनका आधा उपभोक्ता आदिवासी समुदायका रहेको अध्यक्ष सुवेदीले बताए। वन हुर्कँदै र जनावरहरू बढ्न थालेपछि १५ वर्षअघि जिप सफारी सुरु भएको उनको भनाइ छ। कुनै बेला गाई भैँसी चर्ने चौरमा पर्यटक डुल्दा वर्षमा १५ लाख रुपैयाँको हाराहारीमा आम्दानी हुने गरेको सुवेदी बताउँछन्।

Maui-Keto in Radhakrishna Grassland (Photos)

वन हुर्कँदा वन्यजन्तुको डर पनि नबढेको हैन। बिहीबार दिउँसो मात्रै पनि मेघौली अन्द्रौलीको अर्को सामुदायिक वन राप्ती नियन्त्रणमा गैँडाले आक्रमण गर्दा एक जनाको निधन भएको थियो। तर यही वनले मेघौलीलाई राष्ट्रिय–अन्तर्राष्ट्रिय रूपमा चिनाएको पनि छ। पर्यटक डुल्न आउँदा भएको आम्दानी उपभोक्ताको हित र संरक्षणमा खर्च हुने गरेको अध्यक्ष सुवेदीले बताए।‘जनावर बस्तीमा नआओस् भनेर छेकबार पर्खाल लगाउन पनि हामीले रकम सहयोग गरेका छौँ। जनावर रोक्न हामीले विभिन्न रोकथामका काम गरेका छौँ। कुनै काम त साँच्चिकै कै नमुना पनि छन्। विद्यालयमा न्यानो कपडा वितरण गरेका छौँ। सचेतना कार्यक्रम पनि गर्दछौँ’ सुवेदीले भने। वनभित्र जनावरले आक्रमण गर्दा घाइते वा मृत्यु भएमा उपभोक्ताहरूलाई सामान्य भए पनि राहतको व्यवस्था गरेको उनले बताए।

रमेशकुमार पौडेल पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully