रामारोशनबाट बडिमालिका र बुढीनन्दा हुँदै साइपाल हिमालको पूर्वी आधार शिविर रानीसैनसम्मको यात्राका प्रकृति, संस्कृति र जनजीवनको अनुपम संयोजनसँग साक्षात्कार
What you should know
बझाङ — हिमाली काखमा अढाई सय किलोमिटरभन्दा बढी हिँडेपछि रामारोशन, बडिमालिका, बुढीनन्दा हुँदै रानीसैनको एकैसाथ दर्शन मिल्छ । गुमनाम पर्यटकीय गन्तव्य संसारसामु उजागर गर्ने अभियान चलाइरहेको 'वाइल्ड बाजुरा'को एक टोलीले भर्खरै यो अद्भुत यात्रा सम्पन्न गरेको छ ।
रामारोशनबाट बडिमालिका र बुढीनन्दा हुँदै साइपाल हिमालको पूर्वी आधार शिविर रानीसैनसम्मको १८ दिने यो पैदल यात्राका क्रममा यहाँको प्रकृति, संस्कृति र जनजीवनको अनुपम संयोजनसँग साक्षात्कार गर्ने अवसर पाएको टोलीका सदस्यहरुले बताएका छन् । बाजुराको सदरमुकाम मार्तडीबाट सुरु भएको यात्राको पहिलो गन्तव्य ‘बाह्र बन्ड, अठार खण्ड’ का नामले चिनिने अछामको रामारोशन थियो । रामारोसन क्षेत्रमा १२ वटा ताल र १८ पाटन (हिमाली मैदान) छन् । जैविक विविधताको सजीव संग्रहालयको रुपमा रहेको रामारोशन पुग्दा असीम आनन्दको अनुभूति भएको टोली सदस्य मनोज रेग्मीले बताए ।
सुदूरपश्चिमका गन्तव्यलाई एउटै पदयात्रामा समेट्ने उद्देश्यका साथ हिँडेको टोली त्यहाँबाट समुद्र सतहदेखि ४ हजार मिटर अग्लो गहतेगढी पार गर्दै दोस्रो दिन बडिमालिका पुगेको थियो । हिमाली क्षेत्र भए पनि बर्सातको मौसममा बडिमालिका आफ्नो विराट स्वरुपमा प्रकट हुन्छ । हरियालीयुक्त विशाल पाटन र थुम्कामा घाम र कुहिरोको लुकामारीका अलौकिक दृश्यले यात्रामा ऊर्जाको काम गरेका रेग्मीले सुनाए । ‘बिहानको हिमाली घामले शरीरभन्दा पहिला मन तताउँथ्यो,' उनले यात्राको वर्णन गर्दै भने, ‘छिनछिनमा परिवर्तन भइरहने घामपानी र कुहिरोको चर्चिकला साँच्चै अलौकिक थियो ।'
१८ दिनको पदयात्रामा प्रत्येक दिन रोमाञ्चक भएको टोली सदस्यहरुको अनुभव छ । ‘कहिले हिमाली कन्दरा, कहिलै मैदानी पाटन, निथ्रुक्क भिज्दै, लुगलुग काँप्दै पुगेका बेला भेडीगोठमा पाएको न्यानो स्वागत,' टोलीका अर्का सदस्य डडेल्धुराका रोहित रोकाले सुनाए, ‘यात्रामा कहिले बादलभित्र हराएका ताल भेट्यौं, कहिले हिमनदीको चिसो पानी घटघट पिउँदै थकाइ मेटायौं ।' समुद्र सहतबाट ४ हजार २ सय मिटर उचाइमा रहेको बडिमालिकाबाट ४ हजार ७२३ मिटर उचाइको बुढीनन्दा क्षेत्र पुग्दाको क्षण बिर्सन नसक्ने भएको उनले बताए ।
पदयात्रा मार्ग पहिल्याउँदै यो टोली बुढीनन्दाबाट पाँच दिनको पैदल यात्रापछि यो टोली साइपाल हिमालका चारमध्ये सबैभन्दा सुन्दर मानिने पूर्वी बेसक्याम्प रानीसैन पुगेको थियो । साइपालको आँगनमा लमतन्न सुतेको विशाल हिमताल, भेडा र चौरींगोठ समेत भेटिने यो क्षेत्र हिउँदमा भन्दा बर्सातमा सुन्दर देखिने यहाँ पुगेकाहरु बताउँछन् । यही बाटो भएर साइपालको पश्चिम आधार शिविर राइढुङी र दक्षिणी बेसक्याम्प औंलागाड पनि पुग्न सकिन्छ ।
सुदूरपश्चिमको यस यात्राका दौरान सुदूरपश्चिमको पर्यटकीय सम्भावना खोज्ने कोसिस गरिएको वाइल्ड बाजुराले जनाएको छ । छोटो अवधिमा धेरै गन्तव्य पुग्न चाहने र साहसिक पदमार्ग गर्न चाहनेका लागि यो पदमार्ग उपयुक्त रहेको भ्रमण टोलीको निष्कर्ष छ । ‘यो यात्रा केवल पदयात्रा मात्रै थिएन,' वाइल्ड बाजुराका सञ्चालक मनोज रेग्मी भन्छन्, ‘हराएको स्वर्गभित्र सुदूरपश्चिमको पर्यटकीय भविष्य खोज्ने अभियान थियो । त्यो सफल भएको छ ।'
![18 Days of Amazing Travel [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/ramaroshanbadimalikabudhinanda-14-2072025050804-1000x0.jpg&w=1001&h=0)
![18 Days of Amazing Travel [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/ramaroshanbadimalikabudhinanda-18-2072025050826-1000x0.jpg&w=1001&h=0)
![18 Days of Amazing Travel [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/ramaroshanbadimalikabudhinanda-17-2072025050821-1000x0.jpg&w=1001&h=0)
![18 Days of Amazing Travel [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/ramaroshanbadimalikabudhinanda-15-2072025050808-1000x0.jpg&w=1001&h=0)
![18 Days of Amazing Travel [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/ramaroshanbadimalikabudhinanda-13-2072025050736-1000x0.jpg&w=1001&h=0)
![18 Days of Amazing Travel [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/ramaroshanbadimalikabudhinanda-10-2072025050517-1000x0.jpg&w=1001&h=0)