काठमाडौँ — मगर समुदायको मुख्य चाड भूमे पर्वका अवसरमा काठमाडौंमा भूमे नाच आयोजना गरिएको छ । टुँडिखेलमा भएको भूमे नाचमा पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेलगायतका अतिथि उपस्थित थिए ।
असार संक्रान्तिका दिन भूमिलाई देउताका रूपमा पूजाआजा गर्दै भूमे पर्व मनाउने प्रचलन छ । भूमिबाट आपत विपत आई नलागोस् भनेर पूजाआजा गरिने धार्मिक विश्वास छ । मन्त्री पाण्डेले भूमे पर्व केवल सांस्कृतिक परम्परा नभई वैज्ञानिक आधार भएको पर्व भएको बताएका छन् । आयोजक भूमे पर्व संरक्षण नेपालका उपाध्यक्ष हर्कबहादुर घर्तीले प्रकृति (भूमि)लाई सम्मान गर्न यो पर्व मनाउँदै आएको बताए ।
भूमे पर्व पहिले मुख्य रूपमा रुकुम, रोल्पा र बागलुङमा मनाइए पनि अहिले बसाइँसराइ र रोजगारीका कारण देश–विदेशमा छरिएका मगर समुदायले पनि मनाउन थालेका छन् । यो पर्व उपत्यकामा बसोबास गरिरहेका मगर समुदायका लागि टुँडिखेलमा तीन दिनसम्म आयोजना भइरहेको छ । यसै अवसरमा लुम्बिनी प्रदेश सरकारले दाङ, रोल्पा, रुकुमपूर्व र प्यूठान जिल्लाका मगर समुदायलाई सार्वजनिक बिदा दिएको छ ।


