डन्डी, स्कटल्यान्ड — नेपाल र स्कटल्यान्डबीच विश्वकप क्रिकेट लिग–२ को खेल हेर्न डन्डीमा बेलायतका विभिन्न स्थानबाट दर्शक ओइरिएका छन् । फोर्थहिलमा इंग्ल्यान्डको लन्डन, लिभरपुलसहित स्कटल्यान्डको ग्लास्गो, एडेनब्रोबाट नेपालको खेल हेर्न दर्शक डन्डी आइपुगेका हुन् । आयरल्यान्डबाट दर्शकहरू नेपालको खेल हेर्न आएका छन् ।
स्कटल्यान्ड क्रिकेटले डिभिजन-२ का यस खेलको टिकट मूल्य २० पाउन्ड तोकेको छ । तर स्कटल्यान्ड क्रिकेटको आधिकारिक वेबसाइटमा आइतबार राति समस्या देखिएपछि टिकट सकिएको जनाइएको थियो, जसको कारण लामो यात्रा तय गरेर आउने दर्शकले टिकट अभावमा डन्डी आउने तालिका रद्द गरेका थिए ।

