बझाङ — साइपाल हिमाल आरोहीहरु माझ सौन्दर्य मात्रै होइन । चुनौतीको प्रतीक मानिन्छ । ७०३१ मिटर अग्लो यो हिमालको बझाङ तर्फको मोहडाबाट आरोहण गर्ने साहस र जोखिम कसैले उठाउन सकेका छैनन् । साइपालका स्थानीय भने हिमाल चढ्नु जतिकै जोखिम मानिने भीर मौरीको मह संकलन गर्न आरोहीहरु जस्तै साहस प्रदर्शन गरिरहेका भेटिन्छन् ।
जेठ महिना भीर मौरीको मह संकलनको मौसम हो । साइपाल हिमाल आसपासका छङगाछुर पहराहरुमा एउटा डोरीको सहायताले तुर्लुंग झुन्डिए महको सिकार गर्दै गरेका दृश्य प्रशस्त देखिन्छन् । स्थानीय बोलीमा भेरा पस्ने (भीर मौरीको सिकार गर्ने) भनिने यो जोखिमपूर्ण काम यहाँको संस्कृति, परम्परामात्रै नभएर सामाजिक एकताको एक नमुना पनि बन्दै आएको छ । निगालोको चोयाबाट बनेको बलियो डोरीमा सयौं मिटरका पहराहरुबाट मह संकलन गर्ने यो परम्परा अहिले पनि कायम छ । जहाँ स्थानीय सामग्रीको प्रयोग गरी मह सिकार गर्ने परम्परागत सिप र ज्ञानको प्रयोग गरिन्छ ।
हेर्दा पनि आङ सिरिङ हुने भीरमा मह झिक्दै गरेका यी तस्बीरहरुले प्राकृतिक सुन्दरता र जीवन संघर्षको अनुपम संगम मात्रै देखाउँदैनन् । साइपालको पहिचान, यहाँका स्थानीयको साहस र परिश्रमको प्रतिविम्ब हुन् । तस्बिरहरूको माध्यमबाट प्रकृतिसँगको यो अद्भुत सम्बन्ध, जहाँ पहाड, मान्छे र मौरी एकै लयमा मिसिन्छन् । सुदूरपश्चिमको मुटुमा अडिएको बझाङको साइपाल क्षेत्र, जहाँ प्रकृतिको कठोरता र सुन्दरताले हातेमालो गरेका छन् । यहींका उकालो–ओरालो, तिखा चट्टान र गहिरा खोल्साहरुको बीचमा जीवनसँग खेल्दै हाम्रा परम्परागत मौरी सिकारीहरू भीर मौरीको मह संकलन गर्न निडर यात्रा गर्छन् ।
उनीहरूको साहस, सीप र धैर्य कुनै पर्वतारोहणभन्दा कम छैन । बाँसको डोरी, परालको डुंगो र आत्मविश्वासको सहारामा उनीहरू उकालिन्छन् – सयौं मिटर अग्ला चट्टानमा झुण्डिएको मौरीको छाहारीसम्म । यस फोटो फिचरमा, हामी तपाईंलाई पुर्याउँछौं ती क्षणहरूमा–जहाँ पसिना, साहस र परम्पराको गन्ध मिसिएको हुन्छ महको सुगन्धमा । यहाँ देखिने अनुहारहरू, पहिरन र प्रकृतिको रङहरूले मात्र होइन, जीवन र जीविकाको कथाले तपाईंलाई छोनेछ । यो मह केवल मिठास होइन – यो साहसको स्वाद हो । यो परम्परा, प्रकृतिसँगको सहअस्तित्व र बझाङको पहिचान हो ।
![Honey Hunt in Akkare Bhir [Photo Feature]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/mad-honey-hunting-3-2452025013815-1000x0.jpg&w=1001&h=0)
![Honey Hunt in Akkare Bhir [Photo Feature]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/mad-honey-hunting-53-2452025013912-1000x0.jpg&w=1001&h=0)
![Honey Hunt in Akkare Bhir [Photo Feature]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/mad-honey-hunting-50-2452025013902-1000x0.jpg&w=1001&h=0)
![Honey Hunt in Akkare Bhir [Photo Feature]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/mad-honey-hunting-47-2452025013851-1000x0.jpg&w=1001&h=0)