खप्तड : मनमोहक भूस्वर्ग [तस्बिरहरू]

वैशाख २०, २०८२

वसन्तप्रताप सिंह

Khaptad: An Enchanting Paradise [Photos]

बझाङ — हरिया फराकिला पाटन र सँगै जोडिएजस्ता देखिने सुन्दर हिमशृंखला । चराहरुको चिरबिर । जिस्क्याएझैं गरी झाडी र पाटनमा लुकामारी खेल्दै गरेका मृगहरु । कञ्चन अनि कलकल बग्ने खोला । कतै थुम्का, कतै खोँच, पाटन र सिमसार । यतिले मात्रै खप्तडको बयान छैन ।

Khaptad: An Enchanting Paradise [Photos]

सुदुरपश्चिमका चार जिल्ला बझाङ, बाजुरा, डोटी र अछामको थाप्लोमा पर्ने भूस्वर्ग खप्तडले अनेक विविधता बोकेको छ । वास्तवमा खप्तड अलौकिक छ । सुन्दर छ । अनुपम छ । धार्मिक, सांस्कृतिक र आध्यात्मिक हिसाबले अद्वितीय । जाडो खप्न नसक्नेका लागि चैतदेखि साउनसम्म खप्तड घुम्ने समय मानिन्छ । खप्तडमा अहिले रुखमा ढकमक्क लालीगुराँस र फुल्दै गरेका भुइँफूल एक साथ देख्न सकिन्छ । दुर्लभ जीवजन्तु, वनस्पति र अनुपम प्राकृतिक छटा भएको खप्तडले भूस्वर्गको उपमा पाएको छ । खप्तड काव्ययात्रा पुस्तकमा राष्ट्रिय गानका रचनाकार तथा गीतकार व्याकुल माइलाले खप्तड घुमफिरपछि लेखेका छन्, ‘नेपाल कति पवित्र, सुन्दर र धनी छ भन्ने कुराको एक ज्वलन्त उदाहरण हो, खप्तड ।'

Khaptad: An Enchanting Paradise [Photos]

चैतदेखि कात्तिकसम्म फूलैफूलले ढाकिने खप्तड हिउँ याममा सेतो आँचलमा छोपिन्छ । चिसो भए पनि परिवेश रोमाञ्चक भइदिन्छ । पर्यटकहरु खप्तडमा जुनै बेला पनि रमाउन सक्छन् । खप्तडबाट प्राकृतिक प्रेम सिक्न सक्छन् । २०४३ असार ९ मा स्थापना भएको खप्तड राष्ट्रिय निकुञ्जको क्षेत्रफल २२५ वर्ग किमि छ । १२ वटा गुफा रहेको खप्तडमा २८७ प्रजातिका पन्छी, स्तनधारी २३, सरिसृप १७, उभयचर ६ प्रजातिका वन्यजन्तु पाइन्छन् । हरियो छेपारो, खस्रे भ्यागुता, बझाङे पाहा आदि दुर्लभ जीवदेखि भालु, बँदेल, कस्तुरी, चितुवा पाइन्छन् । संरक्षित जीव कस्तुरीमृग, चरीबाघ र ब्वाँसो पनि पाइन्छ ।

Khaptad: An Enchanting Paradise [Photos]

खप्तडको धार्मिक र पौराणिक महत्व छ । स्कन्द पुराणमा खप्तडलाई ‘खेचराद्री' पर्वत भनिएको छ । खेचर शब्द अपभ्रंश हुँदा खप्तड भएको स्थानीय बासिन्दा बताउँछन् । पौराणिक कालमा मायावी शक्ति भएका देवीदेवताले गगनचरीको भेष धारण गरी खप्तडको आकाशमा रमाउने गरेका आर्षपुराणलगायत विभिन्न धार्मिक ग्रन्थमा उल्लेख छ । देवदेवता र सिद्धहरुको क्रीडास्थलको रुपमा रहेको खप्तड ऋषिमुनिको पनि तपस्थल भनिन्छ । खप्तडको त्रिवेणी धाममा गंगा दशहरामा मेला भरे मोक्ष प्राप्त हुने जनविश्वास छ ।

Khaptad: An Enchanting Paradise [Photos]

काठमाडौं–धनगढी ६८० किलोमिटर दुरी पार गर्न बसमा १६ घण्टा लाग्छ । हवाई यात्रामा एक घण्टा १० मिनेट । धनगढीबाट चारवटै जिल्ला भएर खप्तड पुग्न सकिन्छ । चारै जिल्लामा काठमाडौंदेखि सिधा बससेवा पनि छ । दुई दिन सिधा बसयात्रा गरेपछि सदरमुकाम हुदै खप्तड जान सकिन्छ । डोटीको बाटो भएर जानेले सिलगढी–झिग्राना डेढ घण्टा जिप यात्रा गर्नुपर्छ । झिग्रानाबाट १० घण्टा पदयात्रा गरेपछि निकुञ्ज हेडक्वाटर पुगिन्छ । बझाङ हुँदै जानेले सदरमुकाम पुग्नु अगावै तमैलबजारबाट दारुगाउँसम्म २.५ घण्टा जिप यात्रा गर्नुपर्छ । त्यहाँबाट करिब चार घण्टा पदयात्रा गरेपछि निकुञ्ज हेडक्वाटर पुगिन्छ । चार जिल्लामध्ये बझाङको बाटो सबैभन्दा छोटो दुरीमा पर्छ ।

Khaptad: An Enchanting Paradise [Photos]
Khaptad: An Enchanting Paradise [Photos]
Khaptad: An Enchanting Paradise [Photos]
Khaptad: An Enchanting Paradise [Photos]
Khaptad: An Enchanting Paradise [Photos]
Khaptad: An Enchanting Paradise [Photos]

वसन्तप्रताप सिंह कान्तिपुरका बझाङ संवाददाता हुन् ।

Link copied successfully