भूकम्प थेगेर उठेको बारपाक [तस्बिरहरू]

वैशाख १२, २०८२

हरिराम उप्रेती

Earthquake-stricken Barpak [Photos]

गोरखा — २०७२ वैशाख १२ मध्याह्न ११.५६ बजे गएको भूकम्पको १० वर्ष पुगेको छ । गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको भूकम्पमा परी बारपाकमा मात्र ७२ जनाले ज्यान गुमाए । भूकम्पले भत्काएको १४ सयमध्ये अधिकांश घर पुननिर्माण भइसकेको छ ।

Earthquake-stricken Barpak [Photos]

भूकम्पअघि ढुंगाको छाना, ढुंगाको गाह्रो भएको एकनासका घरधुरीको बस्ती बारपाकले पुननिर्माणको क्रममा मौलिकता भने गुमाएको छ । भूकम्पअघि जस्तै ढुंगाका छाना भएको एकनासका घरधुरीको बस्ती अहिले देख्न सकिदैन । क्रंक्रिटका घरले बारपाकमा ढाकेको छ ।

Earthquake-stricken Barpak [Photos]

भूकम्पपछि विभिन्न संरचना बन्ने र थपिने क्रम पनि जारी छ । बारपाकमा १० करोडको लागतमा खानेपानी आयोजना निर्माणको काम अघि बढेको छ । ३२ करोडको लागतमा ढल निकासको कामसमेत भइरहेको बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष विष्णु भट्ट बताउँछन् । ‘भित्री बाटोमा स्टोन पिच गर्ने योजना अघि सारेका छौं,’ उनले भने, ‘बारपाकलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्छौं, भूकम्पको अध्ययन गर्न आउनेहरुको एउटा गन्तव्य बनाउने तवरले पर्यटक लक्षित गतिविधि अघि सारेका छौ ।’

Earthquake-stricken Barpak [Photos]

भ्यु टावर, भूकम्प स्मृति स्तम्भ लगायतका पर्यटकीय संरचना पनि निर्माणाधीन छन् । भूकम्पमा परी ज्यान गुमाएकाहरुको सम्झनामा निर्माणाधीन भूकम्प स्मृति स्तम्भको काम २०७४ बाटै सुरु भएको थियो । पार्कमा भूकम्प अति प्रभावित १४ जिल्लाको छुट्टाछुट्टै स्तम्भ तयार गरिएको छ । तर १४ वटै जिल्लाको मृतकको नाम पाउन नसक्दा पूर्णता पाउन सकेको छैन । पछिल्लो समय गोरखा जिल्लाका मृतकको मात्र नाम राख्ने तयारी गरिएको छ ।

Earthquake-stricken Barpak [Photos]

शुक्रबार बारपाकमा भएको कार्यक्रममा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, माओवादी नेता नारायणकाजी श्रेष्ठ, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको उपस्थितिमा १० औं भूकम्प स्मृति दिवस मनाइएको छ । बारपाक सुलिकोट गाउँपालिकाले भूकम्पमा ज्यान गुमाएकाहरुको सम्झना र सम्मानमा शुक्रबार पालिकाभर सार्वजनिक बिदासमेत दिएको थियो ।

Earthquake-stricken Barpak [Photos]

७.६ म्याग्निच्युडको भूकम्पले गोरखासहित १४ जिल्ला प्रभावित बनेको थियो । जसमा परेर गोरखामा मात्र ४ सय ७२ जनाले ज्यान गुमाए । १ हजार जना घाइते भए । जिल्लाका अधिकांश सरकारी र निजी संरचनामा पूर्ण वा आंशिक क्षति पुगेको थियो । जिल्लामा भूकम्पले भत्काएका झन्डै ७० हजार निजी आवास पुननिर्माण भएको छ ।

Earthquake-stricken Barpak [Photos]

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully