काठमाडौँ — त्रिवि क्रिकेट मैदान कीर्तिपुर हाल पुनर्निर्माणको क्रममा रहेको छ । हालसम्मलाई देशको एकमात्र अन्तर्राष्ट्रिय क्रिकेटको भार थेग्दै आएको कीर्तिपुर मैदानमा निर्माण संरचना थपिन लागेका हुन् । माटोको ढिस्कामा बसेर हेर्नुपर्ने बाध्यतामा अब कंक्रिट प्यारापिट थपिन लागेका हुन् । साथै यसमा फ्लडलाइट पनि जडान हुनेछ । त्यसपछि रात्रिकालीन क्रिकेट पनि आयोजना गर्न सकिने छ । दुई साताअघि पुनर्निर्माणको कार्य सुरु भएको थियो । वैशाख २४ गते भित्र यसको निर्माण कार्य सकिने सहरी विकास मन्त्रालयले जनाएको छ ।
‘कीर्तिपुर क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय मापदण्डअनुरूप प्यारापिट निर्माण कार्य र फ्लडलाइट जडानको काम ०८१ फागुनमा सम्झौता भई २०८२ वैशाख २४ गतेभित्र सम्पन्न गर्ने गरी निर्माण कार्य अघि बढिरहेको छ,’ सहरी विकास मन्त्रालयका प्रवक्ता सहसचिव नारायण मैनालीले बताए । कीर्तिपुर मैदान निर्माणकै क्रममा रहेकाले अप्रिलमा हुने अफगानिस्तान यू–१९ विरुद्ध नेपाल यू–१९ ले खेल्ने तीन युथ एकदिवसीय खेल र यू–१९ को एसिया क्षेत्रको विश्वकप छनोट खेल मूलपानीको दुई मैदानमा सारिएको छ । तीन महिनाअघि भएको नेपाल प्रिमियर लिग (एनपीएल) मा ठूलो संख्यामा दर्शक हेर्न आएका कारण कीर्तिपुर मैदानको संरचना निकै सानो भएको थियो ।
त्यसअघि पनि नेपालले विशेषगरी अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दा कीर्तिपुर मैदानलाई दर्शक धान्न हम्मे हम्मे पर्दै आएको थियो । प्यारापिट निर्माणपछि यसमा १० हजार दर्शक बसेर हेर्न सक्ने छन् । कीर्तिपुर मैदानमा पुर्ननिर्माणका कार्य सम्पन्न भएपछि फेरि यसमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता सञ्चालनमा आउने छ । त्रिभुवन विश्वविधालयसँग लिजमा लिएर नेपाल क्रिकेट संघ (क्यान) ले यो मैदानमा क्रिकेट गर्दै आएको छ । हालको संरचना भारतको जी टेलिभिजन नेटवर्कले बनाइदिएपछि नेपालले सन् १९९८ मा पहिलो पटक यस मैदानमा अन्तर्राष्ट्रिय प्रतियोगिता गर्दै आएको छ । त्यसयता यस मैदानमा लगातार राष्ट्रिय प्रतियोगिता आयोजना गर्दै आएको छ ।
![This is how the Trivi Cricket Ground is being built [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/sports/tu-cricket-11-1932025105125-1000x0.jpg&w=1001&h=0)
![This is how the Trivi Cricket Ground is being built [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/sports/tu-cricket-20-1932025105326-1000x0.jpg&w=1001&h=0)
![This is how the Trivi Cricket Ground is being built [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/sports/tu-cricket-19-1932025105312-1000x0.jpg&w=1001&h=0)