काठमाडौँ — महाशिवरात्रि पर्व सकिएसँगै पशुपति क्षेत्रमा सरसफाइ गरिएको छ । बुधबार मनाइएको शिवरात्रिका कारण पशुपति क्षेत्र फोहरैफोर भएपछि बिहीबार सफाइ गरिएको हो । पर्वका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री केपी ओली लगायतले पनि पशुपतिमा पूजा, आराधना एवं दर्शन गरेका थिए ।
प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजाआराधना गरी मनाइन्छ । पर ब्रह्मले फागुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरुप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजा, आराधना, दर्शन गरे यस लोकमा सुख, शान्ति र परलोकमा सद्गति प्राप्त हुने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले बताए । वैदिक सनातन हिन्दू धर्मावलम्बीहरु पर्वका बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजाआराधना गर्दछन् । शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायतका ग्रन्थमा उल्लेखित छ ।
![Cleaning in Pashupati area [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/pashupatiareabeingcleanedaftershivaratri202502271975-2722025010209-1000x0.jpg&w=1001&h=0)
![Cleaning in Pashupati area [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/pashupatiareacoveredwithrubishduringshivaratri202502271976-2722025010220-1000x0.jpg&w=1001&h=0)