ताप्लेजुङ — यस वर्षको १५ औं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता लिम्बू जातिको सांस्कृतिक पहिचानको रूपमा रहेको सिलाम साक्माको प्रतिमाको फेदमा आयोजना गरिएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजना र मैवाखोला गाउँपालिका ताप्लेजुङको व्यवस्थापनमा वर्गाकार अर्थात् उचाई र चौडाई ५४ फिट भएको विशाल आकारसहितको बनाइएको हो ।
जिल्लाका नौ स्थानीय तहका करिब सात सय विद्यार्थी सहभागी कार्यक्रममा गाउँपालिकाले मौलिक संस्कृति झल्कने सिलाम साक्माको प्रतिमा निर्माण गरेको हो । लिम्बू भाषामा 'सि' को अर्थ मृत्यु, लामको अर्थ बाटो र साक्माको अर्थ छेक्नु हो, अर्थात् सिलाम साक्माको अर्थ मृत्युको बाटो छेक्नु हुन्छ । लिम्बू जातिको सांस्कृतिक पहिचान झल्काउने यसको प्रयोग पछिल्ला वर्ष बढ्दो छ ।
सिलाम साक्माले सांस्कृतिक पहिचानको प्रवर्द्धनमा टेवा पुर्याएको गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले बताए । उनका अनुसार बाँसको भाटा प्रयोग गरेर करिब एक हजार ५ सय किलोग्राम तौलको प्रवेशद्वार (गेट) निर्माण गरियो । उद्घाटनका अतिथिलाई लोगो (व्याच) का रूपमा सिलाम साक्मा नै लगाइएको थियो भने पाँचसयभन्दा बढी विद्यार्थी सहभागी नृत्यमा यसको प्रयोग गरिएको थियो ।
सिलाम साक्मा लिम्बू समुदायले आफ्नो पहिचान झल्काउन लोगो (प्रतीक) का रूपमा प्रयोग गर्छन् । लिम्बू जातिको मौलिक तथा सांस्कृतिक कर्मकाण्डमा पुजारीका रूपमा रहेका फेदाङ्मा, येबा, साम्बा, बिजुवाहरूले बाँसको सिन्का र उनीको धागोबाट सिलाम साक्मा बनाएर प्रयोग गर्छन । सिलाम साक्माको लोगो कोट, साडीलगायत पुरुष तथा महिलाले लगाउने पहिरनमा छातीको बाहिरपट्टि टाँसेर लगाउने गरिन्छ ।
![Presidential Running Shield at the base of the Silam Sakma statue [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/sports/img0262-1122025030641-1000x0.jpg&w=1001&h=0)
![Presidential Running Shield at the base of the Silam Sakma statue [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/sports/silam-sakma3-1122025030713-1000x0.jpg&w=1001&h=0)
![Presidential Running Shield at the base of the Silam Sakma statue [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/sports/silam-sakma-1122025030704-1000x0.jpg&w=1001&h=0)
![Presidential Running Shield at the base of the Silam Sakma statue [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/sports/img0297-1122025030655-1000x0.jpg&w=1001&h=0)