काठमाडौँ — प्रथम खो–खो विश्वकप प्रतियोगितामा नेपालको महिला र पुरुष दुवै टोली ऐतिहासिक उपलब्धि बोकेर स्वदेश फर्किएका छन् । कुनै पनि टिम गेममा नेपाल विश्वकपको फाइनल खेलेर फर्केको यो पहिलो पटक हो ।
दुवै टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङलगायतका पदाधिकारी पुगेका थिए । आइतबार साँझ नयाँदिल्लीस्थित इन्दिरा गान्धी स्पोर्ट्स कम्प्लेक्समा सम्पन्न प्रतियोगिताको फाइनलमा दुवै टोली आयोजक भारतसँग पराजित भएपछि उपविजेतामा सीमित भएको थियो । नेपालले रजत पदकको लक्ष्य बनाएर दिल्ली यात्रा गरेको हो । त्यो पूरा गर्न सक्नु नै नेपालका लागि ऐतिहासिक उपलब्धि बनेको छ ।

