काठमाडौँ — सर्लाहीको वाग्मतीस्थित मानवनिर्मित ताल नयाँ पर्यटकीय गन्तव्य बनेको छ । चुरेको फेद वाग्मती नदीको किनारमा १ सय २१ बिघामा ताल फैलिएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको कर्मैयास्थित वाग्मती पुलबाट करिब ३ किलोमिटर दक्षिण लागेपछि ताल पुगिन्छ । यहाँ घुम्न दिनहुँ सयौं मानिस आइरहेका हुन्छन् ।
वाग्मती नगरपालिकाले आम्दानीको स्रोत बढाउन माछा पाल्ने लक्ष्य राखेर २०७६ सालमा पोखरी खन्न थालेको थियो । बाँझो जमिन खन्दै जाँदा ठूलो ताल बनेको हो । त्यसपछि ताल घुमफिरका लागि आकर्षणको केन्द्र बन्यो । यहाँको प्राकृतिक हराभरा चुरे पहाडले पनि मधेसका मानिसलाई लोभ्याउने गरेको छ ।
वाग्मती नगरपालिका ४ र १२ नम्बर वडाको बीचमा रहेको ताललाई पर्यटकीय गन्तव्य बनाउन संघ सरकार, प्रदेश सरकार र स्थानीय सरकारले लगानी गरिरहेका छन् । ताल वरिपरि पार्क निर्माण भइरहेको छ । तालमा बोटिङको व्यवस्था मिलाइएको छ । यहाँ २६ वटा इलेक्ट्रोनिक बोट चलाइएको छ । बोटिङका लागि मधेस प्रदेशका विभिन्न ठाउँका साथै भारतीय सीमा क्षेत्रबाट समेत मानिस आउने गरेका छन् ।


