बिर्तामोड — झापाको बिर्तामोड नगरपालिकाभित्रका अस्पतालहरूले लापर्बाही तरिकाले नदीमा फोहोर फाल्न थालेका छन् । वातावरणीय तथा मानवीय क्षति गराउन सक्ने अस्पतालजन्य फोहोर नदीमा फालेको पाइएको हो ।
कनकाई नगरपालिकाको वडा नम्बर ८ र ९ मा पर्ने बिरिङ नदीमा बिर्तामोडका अस्पतालसहितका फोहोर फालिएका छन् । अस्पतालबाट निस्कने फोहोर राखिएका प्लास्टिकका पोका नदीमा तैरिरहेका छन् । एक किलोमिटर क्षेत्रमा फोहोरको थुप्रो देखिन्छ ।
खोलामा फालिएका फोहोरका पोकामा बिर्तामोडस्थित मनमोहन मेमोरियल अस्पताललगायतका अस्पतालका पुर्जी भेटिएका छन् । बिर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेले अस्पतालजन्य फोहोरको व्यवस्थापन सम्बन्धित अस्पतालले नै गर्ने गरेको बताए । ‘अस्पतालको फोहोर नगरपालिकाले उठाउने गरेको छैन । उनीहरू आफैले फोहोर व्यवस्थापन गर्दै आएका छन् । अस्पतालजन्य फोहोर खोलामा फाल्नु गम्भीर गल्ती हो,’ उनले भने ।


