सर्वसाधारणलाई इम्बोस्ड नम्बर प्लेट जडानको हैरानी

तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना

काठमाडौँ — यातायात व्यवस्था विभागले इम्बोस्ड नम्बर प्लेट जडान गर्न ताकेतासहितको सूचना जारी गरेपछि वाग्मती प्रदेशको एकान्तकुना, गुर्जुधारा र गण्डकी प्रदेशको पोखरामा रहेका यातायात व्यवस्था कार्यालयमा सेवाग्राहीहरूको भीड लाग्न थालेको छ ।

इम्बोस्ड नम्बर प्लेट जडान नगर्नेलाई कारबाही गर्ने विभागको चेतावनीपछि यातायात व्यवस्था कार्यालयहरूमा सेवाग्राहीको भीड लागेको हो । इम्बोस्ड जडान गर्न दुई दिनसम्म लाग्ने गरेको सर्वसाधारणको गुनासो छ ।

वाग्मती र गण्डकी प्रदेशमा दर्ता भएका सवारीमा इम्बोस्ड नम्बर प्लेट जडान नभए साउन १ गतेदेखि ट्राफिक प्रहरीबाट सडक अनुगमन गरिने विभागको सूचनामा उल्लेख छ । तोकिएअनुसार इम्बोस्ड प्लेट जडान नगरेको पाइए सवारी तथा यातायात व्यवस्था ऐन २०४९ बमोजिम कारबाही हुने चेतावनी विभागले दिएको छ ।

विभागले सूचना निकालेर सेवाग्राहीलाई इम्बोस्ड नम्बर जडानमा ताकेता गरेपछि धेरैले इम्बोस्ड नम्बरको औचित्यमाथि नै प्रश्न उठाएका छन् । इम्बोस्ड नम्बरका लागि प्राविधिक तयारी नगरी जबर्जस्ती इम्बोस्ड नम्बर जडान गराउन नमिल्ने र स्वेच्छाले जडान गर्न पाउनुपर्ने उनीहरूको तर्क छ ।

२०७३ जेठ १७ मा भएको ठेक्का सम्झौता अनुसार ५ वर्षभित्र २५ लाख सवारीमा इम्बोस्ड नम्बर जडान गरिसक्नुपर्नेमा अहिलेसम्म करिब २५ हजार सवारीमा मात्र जडान भएको छ । २०७८ असारमा ठेक्का सम्झौता सकिए पनि २८ महिनाका लागि म्याद थप गरिएको हो ।


प्रकाशित : जेष्ठ २४, २०७९ १२:३७
प्रतिक्रिया
पठाउनुहोस्