कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

साउदी राजकुमार काठमाडौंमा

कान्तिपुर संवाददाता

काठमाडौँ — साउदी राजकुमार तथा विदेशमन्त्री फैसल बिन फरहान अल साउद दुईदिने औपचारिक भम्रणका लागि सोमबार साँझ ६:५० मा काठमाडौं आइपुगेका छन् ।

राजकुमार फैसल श्रीलंकाको कोलम्बोबाट निजी विमान एयरबस ए३१९ मा काठमाडौं आएका हुन । उनी आइतबार श्रीलंका आएका थिए ।

उनीसहित १७ जनाको भीभीआईपी टोलीलाई विमानस्थलमा परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलसहितको टोलीले स्वागत गरेको विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले बताए । साउदी राजकुमारको निजी विमान काठमाडौंमा अवतरण हुनेबेला १५ मिनेटका लागि नोटाम (नोटिस टु एयरमेन) जारी गरी काठमाडौंभित्र आउने र बाहिर निस्कने अरु सबै आन्तरिक र अन्तर्राष्ट्रिय व्यावसायिक उडानलाई रोक लगाइएको थियो ।

यो कूटनैतिक चार्टर उडान भएकाले नागरिक उड्डयन प्राधिकरणले काठमाडौं विमानस्थलमा लाग्ने ल्यान्डिङ, पार्किङलगायतका शुल्क मिनाह गरेको उक्त जहाजको व्यवस्थापकीय जिम्मा लिएको ट्रान्स हिमालय एभिएसन प्रालिले जनाएको छ । ट्रान्स हिमालयका प्रबन्ध निर्देशक भानुसिंह ठकुरीका अनुसार राजकुमारको जहाजलाई शुरक्षा पहरा दिई विमानस्थलको ११ नम्बरको पार्किङवेमा राखिएको छ ।

प्राधिकरणले उक्त विमानका लागि लाग्ने शुल्क मिनाह गरे पनि नेपाल वायुसेवा निगमलाई ग्राउन्ड ह्यान्डलिङबाफत लाग्ने करिब १० लाख रुपैयाँ शुल्क साउदी सरकारले बुझाउनुपर्ने छ । ठकुरीका अनुसार, उक्त भीभीआईपी उडानका चालकदलका ७ सदस्य लाजिम्पाटस्थित र्‍याडिसन होटलमा र राजकुमारसहितको टोली नक्सालस्थित मेरियट होटलमा बस्ने छन् ।

राजकुमारको टोली मंगलबार दिउँसो ३ बजे काठमाडौंबाट बंगलादेशको ढाकास्थित शाह जलाल अन्तर्राष्ट्रिय विमानस्थल जाने छन् । राजकुमारको फिर्ती उडानका बेला पनि काठमाडौं विमानस्थल १५ मिनेट अन्य व्यावसायिक उडानहरुका लागि रोक्न नोटाम जारी गरिसकेको छ ।तस्बिरहरू : रासस


प्रकाशित : फाल्गुन ३०, २०७८ २१:२३
प्रतिक्रिया
पठाउनुहोस्