१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

गोरखामा मनाइयो पृथ्वीजयन्ती [फोटोफिचर]

पृथ्वीजयन्तीको अवसरमा ५ स्थानीय तहले सार्वजनिक बिदा दिए
हरिराम उप्रेती

गोरखा — गोरखा नगरपालिका–१२ रानीटारका इन्द्र बहादुर कुमाल प्रत्येक वर्षको पुस २७ गते गोरखा संग्राहालयस्थित पृथ्वीनारायण शाहको सालिक परिसरमा भेटिन्छन् । मंगलबार पनि उनी कुमाल पहिरनमा सजिएर संग्राहालय आइपुगे । मौलिक पाउँदुरे नाचसहित आएको कुमालसहितको टोलीले शाहको सालिक परिक्रमा गरे ।

‘पृथ्वीनारायण शाह यही थलोमा जन्मनुभयो, गोरखा र गोरखालीलाई चिनाउनुभयो,’ उनले भने, ‘प्रत्येक वर्ष पृथ्वीजयन्तीको कार्यक्रम छुटाएको छैन,पृथ्वीनारायण शाहको सम्झना र सम्मान गर्न नेपालीलले बिर्सन हुँदैन, अझै गोरखा भनेर चिनिएकै पृथ्वीनारायण शाहकै पालादेखि हो ।’ ३०० औं पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउन मंगलबार स्वत: स्फुर्त रुपमा भेला भएकाहरूको संग्राहालय परिसरमा भीड थियो । गोरखा नगरपालिकाको आयोजनामा भएको र्‍यालीमा विभिन्न समुदाय तथा टोल-टोलबाट झाँकीसहितको र्‍याली सदरमुकामका विभिन्न भाग परिक्रममा गर्दै संग्राहालय परिसरमा पुगेर टुंगियो ।

कालो दौरा सुलुवार, कम्मरमा खुकुरी र ढाल, टाउकोमा श्रीपेच, कम्मरमा खुकुरी । दुरुस्त पृथ्वीनारायण शाह । र्‍यालीमा सहभागीमध्ये पृथ्वीनारायण शाहकै पहिरनमा सजिएका गोरखा नगरपालिका–६ रानीपोखरीका ओम बहादुर श्रेष्ठ आकर्षणको केन्द्र बनेका थिए । यस्तै ठूलो आगनका तोप प्रसाद श्रेष्ठ कालुपाण्डेको वेषमा थिए । यी दुइसँग मंगलबार दिनभर ‘सेल्फी’ लिनेको भीड नै लाग्यो । पृथ्वीजयन्तीका दिन यसरी पृथ्वीनारायण शाहको पहिरनमा सजिएका श्रेष्ठको पहिलो पटक भने होइन ।

विगतका वर्षमा पनि उनले पृथ्वीनारायण शाहको झल्को दिँदै पृथ्वीजयन्तीका दिन एक हात उठाउँदै नगर परिक्रमा गर्दैआएका छन् । पृथ्वीनारायाण शाहको सम्मान र सम्झनामा स्वतस्फुर्त रुपमा शाहको वेषमा सजिएको ओम बहादुरले बताए । जिल्ला समन्वय समितिका प्रमुख अशोक गुरुङ र गोरखा नगरपालिकाका प्रमुख राजन राज पन्तले सालिकमा माल्यार्पण गरे । ३०० औं पृथ्वीजयन्ती पृथ्वीनारायण शाहको जन्मस्थल गोरखामा भव्य कार्यक्रम गरी मनाइँदै छ । पृथ्वीजयन्तीको अवसरमा यहाँका पाँच स्थानीय तहले सार्वजनिक बिदा दिएका छन् ।

प्रकाशित : पुस २७, २०७८ १६:२९
प्रतिक्रिया
पठाउनुहोस्