कोभिड, भीड र गाईजात्रा [तस्बिरहरू]

तस्बिर : अंगद ढकाल

काठमाडौँ — कोरोना संक्रमण जोखिमबीच भक्तपुरमा भीडभाडका साथ गाईजात्रा मनाइएको छ । कोभिड–१९ संक्रमणको जोखिमलाई मध्यनजर गर्दै भक्तपुर नगरपालिकाले गाईजात्रा सामान्य औपचारिकतामा मात्र सीमित गर्ने निर्णय गरेको थियो । यसैगरी सांस्कृतिकरूपमा मनाइने पर्वलाई औपचारिकता मात्र दिन गृह मन्त्रालयले आग्रह गरेको थियो । तर भक्तपुर दरबार स्क्वायरमा भने गाईजात्रा मनाउने र हेर्नेको भीड लागेको छ ।

मृतकको सम्झनामा लगिने ताहा साँ परिक्रमाको क्रममा बढीमा २० जना मात्र सहभागी हुन दाफा, भजन, सांस्कृतिक समूह, बाजा खल:लगायत सबैमा अनुरोध गर्ने निर्णय समेत गरिएको थियो । वर्षभरि दिवंगत भएका आफन्तको सम्झनामा गाईजात्रा पर्व मनाउने चलन छ ।

मृतात्माले मोक्ष प्राप्त गरून् भन्दै भदौ कृष्ण प्रतिपदाका दिनदेखि श्रीकृष्ण जन्माष्टमीसम्म गाईजात्रा मनाउने परम्परा छ । हिन्दुधर्मग्रन्थमा उल्लेख भएअनुसार यमलोकको मुख्यढोका वर्षभरि बन्द रहने र मर्त्यलोक अर्थात् पृथ्वीलोकमा गाईजात्रा निकालेपछि यमलोकको ढोका खुल्छ भन्ने मान्यतालाई अंगाल्दै गाईजात्रा मनाउने गरेको स्थानीय बताउँछन् ।

विशेषत: भक्तपुरमा गाईजात्रा निकाल्दा देशको समसामाजिक विषयमा व्यंग गर्दै ‘ख्याल:’ निकाल्ने चलन पनि छ । ‘ख्याल:’ अर्थात व्यंग । सुरुमा यो सांस्कृतिक व्यंगमा सीमित थियो, पछि यसले राजनीतिक व्यंगको रूप लियो । पछि गएर गाईजात्रा आफैमा हाँसो, ठट्टा र व्यंगको पर्व समेत बन्यो । काठमाडौं उपत्यकाका मुख्य: पेशा कृषि रहेको र यो समय रोपाई सकेर आराम गर्ने बेला समेत भएकोले यही बेला हाँसो, ठट्टा गर्ने चलन सुरु भएको पनि मानिन्छ ।


प्रकाशित : भाद्र ७, २०७८ १७:१०
प्रतिक्रिया
पठाउनुहोस्