कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

२०७२ को भुईंचालोको सम्झना [तस्बिरमा]

कान्तिपुर संवाददाता

काठमाडौँ — विनाशकारी भूकम्प गएको शनिबार ५ वर्ष पूरा भएको छ । २०७२ साल वैशाख १२ गते शनिबार ११ बजेर ५६ मिनेट जाँदा गोरखाको बारपाक केन्द्रबिन्दु बनाएर ७.६ म्याग्निच्युडको भूकम्प गएको थियो । २०७२ सालको भूकम्पबाट ८ हजार ८ सय ९६ नेपाली तथा विदेशी नागरिकको मृत्यु भएको थियो ।

२०७२ वैशाख १२ गते शनिबार ११: ५६ मा भूकम्पले धरहरा भत्किएपछि त्यहाँ पुरिएकालाई उद्धार गरिँदै

बारपाक केन्द्रबिन्दुबाट जमिनमुनि करिब १०–१५ किलोमिटरभित्र भूकम्प सिर्जना हुुँदा हिरोसिमामा गरिएको ३३५ वटा एटोमिक बम बराबरको शक्ति जमिनभित्र तरङ्गको रुपमा चारैतिर फैलिन पुगेको विज्ञहरु बताउँछन् । १९९० सालपछि २०७२ सालको भूकम्पले नेपालमा ठूलो जनधनको क्षति गऱ्यो ।

भूकम्पले क्षतिग्रस्त सिंहदरबार

०७२ सालको भूकम्पबाट ८ हजार ८ सय ९६ नेपाली तथा विदेशी नागरिकको मृत्यु भएको थियो । त्यस्तै २३ हजार ३ सय ३ जना घाइते भएका थिए । त्यस्तै करोडौंको भौतिक संरचनामा क्षति पुगेको थियो । त्यस्तै ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्विक देवालय पनि भुईंचालोले ध्यवस्त बनाएको थियो । भुईंचालोले त्यति ठूलो क्षति पुऱ्याउँदासमेत अझै पनि भौतिक संरचना निर्माणमा सावधानी अपनाएको पाइँदैन ।

भूकम्पले क्षतिग्रस्त भएको बाह्रबिसे बजारको हवाई दृश्य

गो‌ंगबुमा उद्धारमा स‌ंलग्‍न विदेशी उद्धारकर्मी

भूकम्पमा ज्यान गुमाएकाहरुको पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिँदै

भूकम्पपछि चिराचिरा परेको काठमाडौंको नाङ्लेभारेस्थित सडक

भूकम्पपछि राहत तथा उद्धारका लागि आएका विभिन्‍न देशका कार्गो विमानहरु

भूकम्पले तीनकुनेस्थित कार्यालयमा क्षति पुगेपछि सडकमै बसेर समाचार प्रसारण तथा सम्पादन गर्दै कान्तिपुर टेलिभिजनका पत्रकारहरु

भूकम्पले तीनकुनेस्थित कार्यालयमा क्षति पुगेपछि सडकमै बसेर अपडेट गर्दै कान्तिपुर अनलाइनका पत्रकारहरु

जोरपाटीमा भूकम्पले भत्काएको घर

भूकम्पले क्षति पुर्‍याएको बसुन्धरास्थित होराइजन अपार्टमेन्ट

धुलिखेलमा खानाको लाइनमा बस्दै भूकम्पपीडित

सबै तस्बिर : कान्तिपुर फोटो विभागको अर्काइभबाट


प्रकाशित : वैशाख १२, २०७७ १३:१९
प्रतिक्रिया
पठाउनुहोस्

लकडाउन कसरी खुकुलो पार्ने ?

डा. दिनेश न्यौपाने

कोभिड–१९ बारेका धेरै प्रश्न अझै अनुत्तरित छन् । यो रोगले यति ठूलो रूप लेला र मानव–जगत्ले यस्तो क्षति बेहोर्ला भनेर सायदै कसैले सोचेको थियो । विज्ञानले चमत्कार गरेको आधुनिक युगमा ३–४ महिनामै करिब दुई लाखले ज्यान गुमाइसके । हाम्रो आधुनिक चिकित्सा यो रोगका सामु निरीह देखिएको छ । यो सिंगो मानव जातिकै लागि गम्भीर चुनौती हो ।

कोभिड–१९ लाई उल्लेख्य रूपमा रोक्न सकेका हङकङ, ताइवान र दक्षिण कोरियाको सफलता क्षणिक हो कि दीर्घकालीन, हेर्न बाँकी नै छ । सिंगापुर अर्को उदाहरण हो, जसले यो रोगको रोकथाममा धेरै समय प्रशंसा पाइराख्यो । केही दिनयता त्यहाँ पनि बिरामीको संख्या अचानक बढेको छ । संक्रमण फैलन नदिन अहिले सयभन्दा बढी देशले लकडाउन गरी आफ्ना करोडौं नागरिकलाई घरमै ‘बन्दी’ बनाएर राखेका छन् ।

लकडाउनले कोभिड–१९ को क्षति कम गरे पनि आर्थिक र सामाजिक क्षेत्रमा व्यापक असर गरेको छ । अन्तर्राष्ट्रिय उडान प्रायः ठप्प छन् । लगभग सबै पानीजहाज समुद्री किनारमा थन्किएका छन् । कम खपत भएका कारण कच्चा तेलको मूल्य इतिहासकै ऋणात्मक भएको छ । लाखौं मानिसले रोजगारी गुमाइरहेका छन् । धनी देशले अर्थतन्त्र कायमै राख्न सकिन्छ कि भनेर अर्बौं रुपैयाँ खन्याइरहेका छन् । एक हिसाबले स्थिति अस्तव्यस्त छ । तर, लकडाउन कहिलेसम्म लागू गर्ने, कसरी र कहिले खोल्ने भन्नेमा व्यापक अन्योल छ । अधिकांश देश अहिले पनि पर्ख र हेरको स्थितिमा छन् भने केहीले यसलाई खुकुलो पार्न सुरु गरेका छन् । केहीले खुकुलो पार्ने योजना अगाडि सारेका छन् ।

यो रोगले महामारीको रूप लिएको चीनको वुहानमा ७६ दिनपछि मात्र लकडाउन खुकुलो पारियो । युरोपमा अहिलेसम्म सबैभन्दा धेरै क्षति बेहोरेको इटालीमा भर्खरै किताबका पसल र कपडा धुने पसल खुला गरिएको छ । डेनमार्कले शिशु स्याहार केन्द्रहरू खुला गरेको छ । अस्ट्रियाले ससाना स्टोर खोल्न अनुमति दिएको छ । जर्मनीले पनि अस्ट्रियाकै जसरी विस्तारै लकडाउन खुकुलो पार्दै लैजाने बताएको छ ।

आफ्नो देशमा कोरोना उन्मूलन नै गर्ने दिशामा आशावादी देखिएकी न्युजिल्यान्डकी प्रधानमन्त्रीले अर्को सातादेखि अत्यावश्यकीय सेवाहरूबाट लकडाउन खुकुलो पार्दै लैजाने बताएकी छन् । अस्ट्रेलियाले पनि छिट्टै अरू स्वास्थ्यसेवा र विद्यालय खुला गर्ने भएको छ । परीक्षणको मात्रा बढाएका यी देशले संक्रमितको संख्या क्रमशः घटाउँदै लगेका छन् । यिनले अर्थतन्त्रभन्दा बढी जनस्वास्थ्यलाई महत्त्व दिएर आफ्ना रणनीति अगाडि ल्याएको देखिन्छ ।

सरकारी तथ्यांकअनुसार नेपालमा अहिलेसम्म ५० भन्दा कम बिरामी भेटिएका छन् । पहिलो र दोस्रो बिरामी भेटिनुबीच लामो समयको अन्तर छ । पछिल्लोपटक उदयपुरमा भेटिएका बिरामी लामो समयदेखि नेपालमै रहेका भनिएकाले समुदायमा संक्रमण छँदै छैन भन्न सकिने अवस्था छैन । हाम्रा प्रयोगशालाको क्षमता र सम्भावित बिरामी खोज्न गरेका प्रयासका आधारमा हामीले रोगलाई जितिसकेको अथवा जितको नजिक पुगेको अनुमान बिल्कुल गलत देखिन्छ । अहिलेसम्म भएका वैज्ञानिक खोज र अनुसन्धानमा नेपालीमा यो रोग कम लाग्नुपर्ने खास कारण देखिँदैन । अहिले हामी जुन नतिजा देखिरहेका छौं, यो सबै लकडाउनको प्रतिफल हो । लकडाउन एकैचोटि खोल्दा हाम्रो आजसम्मको सफलता एकै क्षणमा स्वाहा हुन सक्छ । यो विशेष परिस्थिति भएकाले आर्थिक नोक्सानी त अवश्य हुन्छ । तर हाम्रो देश कृषिप्रधान भएकाले अन्यत्रभन्दा कम नोक्सानी हुने स्पष्ट छ । जुनसुकै निर्णय गर्दा पनि जनस्वास्थ्यलाई प्राथमिकतामा राख्नुपर्छ ।

हाम्रो जस्तो जीविकोपार्जनमा आधारित कृषि–प्रणाली भएको, बर्सेनि अर्बौं व्यापार घाटा हुने र विश्वबजारबाट अलिकति टाढा भएको देशमा लकडाउन, सीमा सिलबन्दी र अन्तर्राष्ट्रिय हवाई उडानमा कडाइले अरू विकसित देशलाई भन्दा कम असर गर्छ । रोग देशैभरि फैलियो भने हामीले भोग्नुपर्ने क्षति कल्पनाभन्दा पनि पर कयौं गुणा बढी हुन सक्छ । नेपालजस्ता कमजोर स्वास्थ्यप्रणाली भएका देशले जतिसक्दो संक्रमणदर कम गर्नुको विकल्प छैन ।

अबको चरण भनेको सम्भव भएसम्म लकडाउनलाई केही समय कायम नै राख्न जोड दिनुपर्छ । यो सम्भव नभए सहरमा लकडाउन यथावत् राखी गाउँहरूलाई निकै निगरानीपूर्वक सानो–सानो समूह बनाएर खोल्नुपर्छ । यसरी खोल्दा संक्रमणको सम्भावना अन्त्यतै न्यून रहेका ठाउँबाट सुरु गर्नुपर्छ । तिनमा कस्तो परिणाम देखिन्छ, त्यसैका आधारमा बिस्तारै अन्यत्र बढाउँदै लैजानुपर्छ । यसका लागि नयाँ बनेका गाउँपालिका वा नगरपालिकाभन्दा पुराना गाविस वा वडा बढी व्यावहारिक हुन सक्छन् । यसबीचमा परीक्षण क्षमता बढाउने, जोखिम क्षेत्रहरूमा रोकथामका रणनीति अगाडि बढाउनेमा जोड दिनुपर्छ । यसका लागि प्रत्येक गाउँपालिकामा जनस्वास्थ्य विज्ञको टोली बनाएर परिचालन गर्न सकिन्छ । अलिकति शंका लाग्नेबित्तिकै उक्त क्षेत्रलाई पूरै लकडाउन गर्ने गरी तयारी गर्नु आवश्यक छ ।

लकडाउनपछि पहिलेकै जस्तो सामान्य अवस्थामा फर्कन सकिने आमबुझाइ छ । तर, बिर्सन हुँदैन कि जबसम्म खोप–औषधि पत्ता लाग्दैन वा यो रोग आफैं हराएर जाँदैन, तबसम्म हामी हिजोकै जस्ता दिनमा फर्कन सक्दैनौं । विश्वमा एउटा मात्रै संक्रमित रहुन्जेल हामी सधैं जोखिममा रहिरहन्छौं । यसैअनुसार सावधानी अपनाउन जरुरी छ । हिजो हामी जसरी धेरै जना सँगै यात्रा गर्थ्यौं, स्कुलमा पठनपाठन गर्थ्यौं, जसरी बिरामीको हेरचाह गर्थ्यौं, आमसभा आयोजना गर्थ्यौं, चलचित्र भवनमा जान्थ्यौं, सांगीतिक कार्यक्रमहरू गर्थ्यौं, जसरी जात्रा र सांस्कृतिक कार्यक्रम गर्थ्यौं, यी सबैको स्वरूप परिवर्तन गरिनुपर्दछ ।

(जनस्वास्थ्यविद् न्यौपाने अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयको इपिडिमियोलोजी विभागमा कार्यरत छन्)

प्रकाशित : वैशाख १२, २०७७ १३:१२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×