चिटिक्क गिरानचौर [फोटोफिचर ]

अनिश तिवारी

गिरानचौर,सिन्धुपाल्चोक — निलो जस्ता,सेतो रंगले घरको लस्कर । चिटिक्क आँगनसँगै फुलबारीछेउको बौद्ध परम्पराको ध्वजा झन्डा फरफराइरहेको छ । वरिपरि डाँडाकाडाबीचको मेलम्ची नगरपालिका वडा १२ गिरानचौरस्थित धुर्मुस सुन्तली एकीकृत बस्तीको नजारा कुनै समृद्ध नगरीभन्दा कम छैन ।

०४३ साल चैत ६ गते रक्सी पार्न कोदो पकाएको आगो घरमा सल्किएपछि पुरै गाउँ जलेको सम्झँदा सिंंगेमान तामाङ अझै झस्कन्छन् । ‘डरलाग्दो गरी मडारिएर आएको हावासँगै बढेको आगोले बस्ती खरानी तुल्यायो, फेरि यस्तो सामूहिक घर पाइएला भनेर चिताइएको थिएन्,’ ७५ वर्षे उनले भने । जस्तोसुकै आपत् परेपनि सँगै बस्दा मिलेर समस्यासँग जुध्ने एकताको सद्भाव पलाएको उनले सुनाए ।

गिरानचौरमा पुग्ने जोकोहीलाई बौद्ध परम्पराको ध्वजा अगाडी तामाङ संस्कृति अनुसार स्वागत गर्ने गरिएको छ । दुई वर्षअघि धुर्मुस सुन्तली फाउण्डेशनको अगुवाइमा गिरानचौरमा ६५ परिवारले सुविधा सम्पन्न घर र एउटा सामुदायिक भवन सहित ६६ वटा भवन राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा पाए । पुरा तामाङ समुदायलाई एकीकृत बस्तीका सबै आवास बाल मैत्री,वातावरण मैत्री, भुकम्पप्रतिरोधक ,पहिरो निरोधक, अपांगमैत्री छन् । हरेक घरमा चार वटा कोठा छन् , भने सिलिङमा सामान भण्डारण गर्ने गरिएको छ ।

सबै घरभित्र शौचालय, बाथरुम र घर अगाडी बगैँचा फैलाउँदै लगिएको एकीकृत बस्तीका व्यवस्थापन समितिका सचिव लालबहादुर वाइबा सुनाउँछन् । ‘बस्तीभित्र बाख्रा ,कुखुरा,पशुपालन गर्न निषेध छ । ‘त्यसैले अधिकांशले वरिपरिको जग्गामा गोठ बनाएका छन् , जग्गा नहुनेलाई केही समस्या भएको छ,’ धुर्मुस सुन्तली फाउण्डेशन व्यवस्थापन समितिका सचिव लालबहादुर वाइबाले भने ।

पुरै बस्तीलाई ‘ए’ ‘बी’ ,‘सी’ गरी तीन ब्लकमा विभाजित गरेर बसोबास गरिरहेको उनको भनाइ छ । खानेपानी र घरपिच्छे धाराको व्यवस्थापन भएपछि सहज बनेको छ । फाउण्डेशनले जनस्तरबाट ६ करोड १७ लाख एकहजार एकसय ३९ रुपैयाँ सङ्कलन गरेको थियो ।

सबै घर निर्माण गर्न ५ करोड १३ लाख ८५ हजार एकसय ८७ रुपैयाँ खर्च भएको परियोजनाले जनाएको छ । सामुदायिक भवन,पाहुना घर ,फुलबारीसहित फिल्म सुटिङ गर्न मिल्ने गरी बगैँचामा अनेक फुल लगाइएको छ । तीन वटा सार्वजनिक शौचालय र पार्किङ स्थलदेखि बालबालिकाको मनोरञ्जनको लागि चिल्र्डेन पार्कले सजिएको देखिन्छ ।

प्रकाशित : फाल्गुन १, २०७५ १३:१५
प्रतिक्रिया
पठाउनुहोस्