नेपाललाई चिनाउने योग, ध्यान र आरोग्य

आधुनिक र आयुर्वेदिक उपचार पद्धतिका साथै नेपाल प्राकृतिक चिकित्साका लागि समेत भरपूर अवसर भएको मुलुक हो । यहाँका परम्परागत उपचार विधि, प्राकृतिक चिकित्सा, योग, ध्यान, स्पा, एक्युपंचर लगायत उपचार पद्धतिमध्ये धेरै नेपालको आफ्नै खोज र अभ्यासबाट विकास भएका हुन् ।

वैशाख २, २०८३

कान्तिपुर संवाददाता

Yoga, meditation and health that introduce Nepal

What you should know

काठमाडौँ — 'हिमालको चेतना विश्वको आरोग्य' भन्ने आदर्श वाक्यका साथ अप्रिल १५ (वैशाख २ ) मा संसारभर अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै छ । मानव सभ्यताको सन्तुलित विकासका लागि आरोग्य अर्थात् पूर्ण स्वस्थ हुन जरूरी छ । त्यसका लागि शारीरिक, मानसिक, भावनात्मक, सामाजिक, आध्यात्मिक र पर्यावरणीय दृष्टिमा मान्छे स्वस्थ हुन वर्तमानको टड्कारो आवश्यकता हो ।

यसै विषयलाई मनन गर्दै आध्यात्मिक संस्था जीवन विज्ञानका गुरूहरू भानु शर्मा र रमेश नेपालको अथक परिश्रम एवम् नेपाल सरकारको सक्रियतामा नेपालले राखेको आरोग्य दिवसको प्रस्तावलाई संयुक्त राष्ट्रसंघले सन् २०२६ को मार्च १० मा पारित गरेअनुरूप अप्रिल १५ लाई आरोग्य दिवस मनाउने घोषणा गरिएको हो । 

नेपालको समग्र विकासका लागि आरोग्य पर्यटन प्रवर्द्धन रूपान्तरणकारी पहल हुन सक्छ । आर्थिक विकासको मुख्य कार्यसूची नै आरोग्य पर्यटन बनाउन सकिन्छ । नेपाललाई विश्व आरोग्यको गन्तव्य बनाउन सकिन्छ । यसका लागि पर्यटक भिसा सहुलियत र सरल हुनु आवश्यक छ । किनभने नेपालसँग पर्यटनका अवसर र सम्भावना धेरै छन् । त्यसैको उपयोग गरेर समृद्धिको बाटोमा अघि बढ्न सकिन्छ । आरोग्य अर्थतन्त्रको ठूलो हिस्सा पर्यटन भएकाले नेपालले आरोग्य उद्योगका रूपमा नेपालको पर्यटन क्षेत्रलाई विकास गर्न सक्छ । यसमा अब सरकार र निजी क्षेत्र हातेमालो गरेर अघि बढ्नु बान्छनीय हुन्छ । 

पर्वतारोहण, पदयात्रा, जलयात्रा, प्राकृतिक सौन्दर्यको अवलोकन र जैविक विविधताको अनुभवलाई योग र ध्यानसँग जोड्न सकिन्छ । जीवन विज्ञानले आफ्नो एक अवधारणा पत्रमा भनेको छ- पर्वतारोहण वा पदयात्राको प्याकेजमा योग र ध्यानसमेत समावेश गर्न सकिएमा व्यक्तिले श्रमसँगै विश्रामका साथै अन्तर्मनको आनन्द प्राप्त गर्न सक्छ, जसले उसलाई आरोगी बन्न सहयोग पुर्‍याउँछ । उदाहरणका लागि पर्वतारोहण वा पदयात्राबाट फर्केपछि दुईदिन योगका सामान्य आसन पूरा गरी ध्यानमा बसाउन सकिन्छ । यसबाट इन्द्रिय र मानसिक सुखका साथै अन्तरह्रदयको सुखसमेत प्राप्त हुन्छ । 

आर्थिक उन्नतिका लागि नेपालको खाद्यशैली र स्वच्छ पानीको महत्त्व बुझाउँदै पर्यटकको उपभोगका लागि प्रस्तुत गर्न सकिन्छ । खानामा पर्यटकका आ-आफ्ना रूचि र छनोट हुन्छन् तथापि प्रत्येक मेनुमा नेपालको रैथाने र परम्परागत खानालाई समेत राख्न सकिन्छ । जसले नेपालको उत्पादन वृद्धिमा सहयोग पुर्‍याउनुका साथै पौष्टिकताले भरिपूर्ण खानाले पर्यटक लाभान्वति हुन्छन् । 

नेपालका सबै पर्यटकीय गतिविधिमा ध्यान र योगको प्रवर्द्धन गरी विश्वको आरोग्य पर्यटन हब बनाउन सकिन्छ । आगामी दिनमा नेपालको अर्थतन्त्रको मूल आधार नै आरोग्य पर्यटन हुन सक्छ । यसमा सरकारको भूमिका सबैभन्दा गहन र महत्त्वपूर्ण हुन्छ । त्यसैले सरकारले आरोग्य पर्यटनलाई आर्थिक विकासको मुख्य कार्यसूचीभित्र राख्नु पर्दछ ।

नवगठित वालेन्द्र शाह सरकारले आफ्नो सय दिनको कार्यसूचीभित्र राखेर सन् २०२७ लाई आरोग्य वर्षका रूपमा घोषणा गरेर कार्यान्वयनमा अघि सारेको छ । यो अत्यन्त सराहनीय कार्य हो । अब सरकारले आफ्ना राजदूतावासमार्फत आरोग्य पर्यटन कूटनीतिलाई सक्रिय रूपमा परिचालन गर्नु बान्छनीय देखिन्छ । 

आधुनिक र आयुर्वेदिक उपचार पद्धतिका साथै नेपाल प्राकृतिक चिकित्साका लागि समेत भरपूर अवसर भएको मुलुक हो । यहाँका परम्परागत उपचार विधि, प्राकृतिक चिकित्सा, योग, ध्यान, स्पा, एक्युपंचर लगायत उपचार पद्धतिमध्ये धेरै नेपालको आफ्नै खोज र अभ्यासबाट विकास भएका हुन् । 

नेपाल वैदिक खोज र अनुसन्धानका लागि अद्वितीय मुलुक हो । योग र ध्यानको उद्गमस्थल नेपाल नै हो । हिन्दु र बुद्ध धर्मको सम्मीश्रण, सद्भाव र एक अर्काप्रतिको सद्भाव र प्रेम मात्र पनि खोजकर्ताका लागि महत्त्वपूर्ण विषय हुन सक्छ । योग र ध्यानको महत्त्व बुझेर नै संयुक्त राष्ट्रसंघले यसअघि नै हरेक वर्षको जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवस र डिसेम्बर २१ लाई विश्व ध्यान दिवसका रूपमा मनाउने घोषणा गरेको छ । यो विषय नेपालले गौरव गर्नुपर्नु विषय हो । हाम्रा ऋषिमुनिहरूले प्रतिपादन गरेको योग र हाम्रो भूमिबाट उत्पन्न ध्यानलाई विश्वभर फैलाउने अवसर प्राप्त भएको छ । 

हरेक मान्छेभित्र भौतिक सुख, शारीरिक स्वस्थता र खुसीको लालसा हुन्छ । आधुनिक युगमा भौतिक सुख प्राप्तिका लागि मानिसले जस्तोसुकै मूल्य चुकाउन तयार हुन्छ । तर धेरै मानिसलाई दिगो र दीर्घकालीन खुसीका बारे खासै ज्ञान छैन, उसले केवल क्षणिक खुसीलाई नै सर्वोपरि ठान्छ । हामीलाई खुसी भएर मात्र हुँदैन, त्यो खुसी दिगो र शास्वत हुनुपर्छ । पर्यटकले पनि खोज्ने यत्ति नै हो । 

- कृष्ण कॅंडेल

योग प्रशिक्षक : अन्तर्राष्ट्रिय वृत सहसंयोजक, जीवन विज्ञान

कान्तिपुर

Link copied successfully