निर्वाचनमा जानुभन्दा पहिला देशमा शान्तिसुरक्षा र लुटिएका हतियार फिर्ता गर्नु परेन ? प्रहरी अहिले पनि फिल्ड जान डराउँछन् । जेलबाट भागेका कैदीहरू अझ सम्पर्कमा आएका छैनन् । यस्तो अवस्थामा निर्वाचन भनेर रटान लगाउनु ठीक होला ?
What you should know
सरकार राजनीति दल र जेन–जी युवाहरू प्रधानमन्त्री निवास बालुवाटारमा एउटै थलोमा बसेर वार्ता गरेको भन्ने सुनियो । यसलाई सकारात्मक मान्न सकिन्छ । प्रधानमन्त्री सुशीला कार्कीको उद्देश्य निर्वाचन भन्ने सुन्दा अचम्म लाग्यो । निर्वाचन गराउनकै लागी सुशीला कार्कीलाई प्रधानमन्त्री बनाएको हो ? यदि हो भने केही छैन । नत्र किन सधैं एउटै रटान लगाइन्छ ।
सबै मिलेर देशलाई राजनीति निकास दिनुपर्छ । त्यसो भन्दैमा निर्वाचन गराउनु मात्र अन्तिम विकल्प होइन । निर्वाचनमा जानुभन्दा पहिला देशमा शान्तिसुरक्षा र लुटिएका हतियार फिर्ता गर्नु परेन ? प्रहरी अहिले पनि फिल्ड जान डराउँछन् । जेलबाट भागेका कैदीहरू अझ सम्पर्कमा आएका छैनन् । यस्तो अवस्थामा निर्वाचन भनेर रटान लगाउनु ठीक होला ?
सरकारले अहिलेसम्म मन्त्रीमण्डल विस्तार गर्न सकेको अवस्था छैन । अति आवश्यक मन्त्रालय परराष्ट्र र रक्षामन्त्री नै छैनन् । सरकार केका लागि बन्यो, पहिला सोच्न पर्यो । गोलमेच सम्मेलन गरेर मात्र देशले निकास पाउँदैन । होला, कार्कीको प्रधानमन्त्रीकाल सफल रहला । तर देशको अवस्था भने जस्ताको त्यस्तै रहने पक्का छ ।
नेताहरूले राजनीतिलाई सही दिशा दिन सकेनन्, जसका कारण जनतामा नैराश्य छायो । सत्ताकेन्द्रित राजनीतिले वाक्क र दिक्क भएका जनताले विकल्प खोज्न बाध्य भए । एमालेका अध्यक्ष केपी शर्मा ओली, कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै सेरोफेरोमा नेपालको राजनीति घुमिरह्यो ।
विगत ३५ वर्षदेखि राज गरेका दलहरूले कहिल्यै जनभावनाको कदर गर्न सकेनन् । भन्ने बेलामा प्रजातन्त्र र गणतन्त्र भन्ने तर गर्ने बेलामा सधैं आफैं अग्रपंक्तिमा रहेर शासन सत्ता चलाउनुपर्ने । जेन–जी आन्दोलनले केही हदसम्म भए पनि परिवर्तन गर्ला कि भन्ने आशा नेपाली जनतामा छ । त्यो आसलाई निराश पार्ने काम कसैबाट नहोस् ।
– पुरुषोत्तम घिमिरे, जोरपाटी, काठमाडौं
![[Letter to the Editor] Elections alone are not the solution to problems](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/politics/govtgenzallpartymeetingpmresident06-30102025014948-1000x0.jpg&w=1001&h=0)