यसबाट ऊ पार्टी, देश र जनताप्रति दायित्वविहीन बन्न खोजेको छ । बैठक एक दिन स्थगित गर्नु अन्यथा नहोला तर १३/१३ दिनसम्म स्थगित गर्नु भनेको पार्टीको महाधिवेशन तोकिएको समयमै गर्न नखोज्नु हो ।
What you should know
काठमाडौँ — देशमा विषम परिस्थिति रहेको अहिलेको अवस्थामा एक–एक दिनको महत्त्व छ । तर नेपाली कांग्रेसले एक जना नेताको मृत्यु (८१ वर्षको उमेरमा ऋषिकेश गौतमको निधन) को कारण देखाई आफ्नो केन्द्रीय कार्यसमितिको बैठक १३ दिनका लागि स्थगित गरेको छ ।
यसबाट ऊ पार्टी, देश र जनताप्रति दायित्वविहीन बन्न खोजेको छ । बैठक एक दिन स्थगित गर्नु अन्यथा नहोला तर १३/१३ दिनसम्म स्थगित गर्नु भनेको पार्टीको महाधिवेशन तोकिएको समयमै गर्न नखोज्नु हो ।
शेरबहादुर देउवा, आरजु राणा र उनीहरूले नियुक्त गरेको कार्यवाहक सभापति पूर्णबहादुर खड्का कुनै हालतमा पार्टीको महाधिवेशन र विशेष महाधिवेशन दुवै आमनिर्वाचनअघि नहोस् भन्ने चाहन्छन् । किनकि आउने चुनावमा उनीहरू नै सांसदको टिकट बाँड्न चाहन्छन् ।
यदि महाधिवेशनबाट नेतृत्व गगन थापा, विश्वप्रकाश शर्मा वा शेखर कोइरालाको हातमा पुगेमा देउवा पक्षका धेरै नेताको टिकट काटिन सक्छ । त्यही भयले उनीहरू जसरी पनि पार्टी महाधिवेशनलाई निर्वाचनअघि गराउन चाहँदैनन् ।
बैठक १३ दिन स्थगित गर्ने निर्णयमा गगन थापा, विश्वप्रकाश शर्मा तथा धनराज गुरुङहरूले कसरी सहमति गरे ? त्यो खोजीको विषय बनेको छ । यसमा गगन र विश्वले प्रस्ट पार्नुपर्छ । कांग्रेसले आउने चुनाव पूर्णबहादुर खड्काको नेतृत्वमा लड्ने कि गगन, विश्वको नेतृत्वमा ? त्यो प्रस्ट गर्न सक्नुपर्छ ।
जेन–जीको आन्दोलनको भावना बुझेर महाधिवेशन प्रतिनिधिहरूले गगन, विश्वलाई साथ देलान् कि खड्कासँगै लागेर यथास्थितिवादलाई नै साथ देलान् ? हेर्न बाँकी छ । यो अवस्थामा दुई वटा मात्र विकल्प बाँकी रहन्छन् ।
एउटा, अब साँच्चिकै खड्काको अनुहारले चुनावमा जिताउन सक्दैन भन्ने अनुभूत केन्द्रीय सदस्यहरूमा भएर गगन, विश्वलाई साथ दिनु । अर्को, गगन, विश्व स्वयंले कांग्रेस छाडेर नयाँ कांग्रेस बनाउँछौं भनेर अल्टिमेटम दिने । तर पनि खड्काहरूले नमाने नयाँ कांग्रेस पार्टी बनाउने र देशभरिका कांग्रेसका कार्यकर्तालाई आफ्नो पार्टीमा आउन आह्वान गर्ने ।
यसो गरेमा मूलधारको कांग्रेस पार्टी नै गगन र विश्वको हुनेछ । यो उपायबाट अघि बढ्दा मात्र गगन, विश्व सफल होलान् नत्र फेरि पनि संख्याको बलले तिमीहरूको प्रस्ताव तुहिन्छ र ६ महिनापछिको चुनावमा कांग्रेसको पत्तासाफ हुन्छ । त्यो दृश्य टुलुटुलु हेर्ने कि विद्रोह गर्ने ? त्यो गगन र विश्वको हातमा नै छ ।
यो विद्रोह केवल कांग्रेसमा मात्र होइन, एमाले र माओवादी सबैतिर आवश्यक छ । अन्यथा बेथिति, विसंगति, कुशासनले नेपाललाई कहिल्यै छोड्ने छैन । एमालेमा पनि योगेश, गोकर्णहरू मिलेर विद्रोहको बिगुल फुक्न ढिलो गर्न हुन्न । अन्यथा त्यहाँ पनि कुनै सुधार हुने छैन । – गोपाल देवकोटा, गोकर्णेश्वर– ८, काठमाडौं
